८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

१७ प्रतिशतले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै

चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ। बिहीबार अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको समीक्षामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशतमा सीमित भएको देखिएको छ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा पुँजीगत करिब १० प्रतिशत भएको थियो।चालु आर्थिक वर्षमा पनि पुँजीगत खर्च बढ्न सकेको देखिएन। त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा सार्वजनिक खर्चतर्फ पनि चालु खर्च २६ प्रतिशत,पुँजीगत खर्च १० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २४ प्रतिशत गरी समग्र खर्च हेर्दा २२ प्रतिशत पुगेको अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले जानकारी दिए।

उनले गत वर्ष सोही अवधिमा समग्र खर्च २० प्रतिशत खर्च मात्रै रहेकोमा यस वर्ष थोरै भए पनि वृद्धि भएकाले यसलाई सरकारले मार्जिनल रिफर्मको रुपमा लिएको उल्लेख गरे।उनले  सरकारको चालु आर्थिक वर्षको पहिलो चार महिनामा १७ प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि गरेको बताए। उनले गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजश्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए।

अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड संकलन गर्ने लक्ष राखेको भन्दै अहिलेकै अनुपातमा राजश्व संकलन हुँदा १४ खर्ब १९ अर्बको राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न चुनौती रहेको बताए। उनले पछिल्लो समय अर्थतन्त्रमा सुधारका संकेतहरु देखा परे पनि सरकारले अपेक्षा गरेको भन्दा राम्रो हुन हुन नसकेको बताए। उनले मुलुकको अर्थतन्त्र लयमा नै रहेको भए पनि गति भने सुस्त रहेको उल्लेख गरे। 

उनले सरकारले चालु आर्थिक वर्षमा ३२ प्रतिशत राजश्व वृद्धि गर्ने लक्ष्य राखे पनि चार महिनाको राजश्व संकलन वृद्धिले लक्ष्यमा पुग्न चुनौती रहेको बताए।राजश्व सङ्कलनको गतिलाई तीव्रता दिन कानुनको पूर्ण पालना गर्ने र राजश्व चुहावटमा शून्य सहनशीलता,दबाब प्रभावबाट मुक्त रहेर कानुनले तोके बमोजिमको राजश्व असुली गर्ने अर्थमन्त्री पौडेलको स्पष्ट निर्देशन रहेको बताए।

अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजश्व सङ्कलन वृद्धि भए पनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए।उनले राजश्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न सरकार लाग्ने बताए। 

प्रकाशित: ७ मंसिर २०८१ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App