२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाल्पा दरबारको अँध्यारो हट्यो

पाल्पाको प्रमुख पर्यटकीय थलोका रूपमा रहेको पाल्पा दरबार सङ्ग्रहालय नेतृत्वले लामो समय देखि गुनासो सुन्दै आयो ‘ सङ्ग्रहालयमा जति बेलै उज्यालो व्यवस्था किन भएन ?’ सङ्ग्रहालय नेतृत्व नाजवाफ जस्तै बन्थ्यो । 

संग्राहलय नेतृत्व पर्यटकहरूबाट आउने यो गुनासोले लामो समय देखि आजित बनिरहेको थियो । दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन । लुम्बिनी प्रदेश सरकार मातहतको सङ्ग्रहालयमा देखिएको यो समस्या समाधान गरिदिन सङ्ग्रहालयले हारगुहार गरिरहँदा पनि समस्या टरेको थिएन । 

प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री भित्रिएपछि दरबार संग्राहलय अब जति बेलै उज्यालो बनेको छ । मन्त्री प्रचण्ड विक्रम न्यौपानेले दरबार सङ्ग्रहालयमा तत्काल वैकल्पिक उज्यालोको व्यवस्था गर्न निर्देशन दिए लगत्तै त्यहाँ अहिले इन्भर्टर जडान भएको छ । ‘दरबार सङ्ग्रहालयमा वैकल्पिक ऊर्जाको कुनै पनि व्यवस्था थिएन, विद्युत् नभएको समयमा संग्राहलय अँध्यारो रहने अवस्था थियो,’ सङ्ग्रहालयका कार्यकारी निर्देशक श्याम कुमार पौडेलले भने ‘संग्राहलय अँध्यारो हुँदा अनुगमनका लागि आउने पर्यटकहरूबाट लामो समय देखि गुनासो सुन्दै आएका थियौँ, वर्तमान पर्यटन मन्त्रीज्यू समक्ष हामीले समस्याका बारेमा जानकारी गरायौँ, र तत्कालै उहाँबाट हाम्रो समस्या सम्बोधन भएको छ ।’ इन्भर्टर जडान भएपछि अहिले सङ्ग्रहालयमा अँध्यारोको समस्या दीर्घकालीन रूपमा टरेको छ । 

केही समय अघि मन्त्री न्यौपाने दरबार सङ्ग्रहालयको अनुगमनमा पुगेका थिए । त्यस क्रममा सङ्ग्रहालयमा वैकल्पिक ऊर्जाको व्यवस्था नभएका कारण समस्या रहेको गुनासो सङ्ग्रहालयले मन्त्री न्यौपाने समक्ष राखेको थियो । मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय थलो मध्यको दरबार सङ्ग्रहालयमा तत्काल वैकल्पिक ऊर्जाको व्यवस्था गर्न मन्त्रालय मातहतको पर्यटक परिषद्लाई निर्देशन दिएका थिए । परिषद्ले तत्कालै इन्भर्टर खरिदका लागि सङ्ग्रहालयलाई बजेटको व्यवस्थापन गरिदिएको थियो । लगत्तै मन्त्रालय अन्तर्गतको पर्यटन परिषद्ले सङ्ग्रहालयमा वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको  थियो । 

‘पाल्पा दरबारको अनुगमनका क्रममा एक महिना अघि म त्यहाँ पुगेको बेला संग्राहलय जस्तो ठाउँमा विद्युत् गएको समयमा अँध्यारो हुने समस्या रहेछ,’ मन्त्री न्यौपानेले भने ‘मैले तत्कालै इन्भर्टरको व्यवस्थापन गर्न निर्देशन दिएँ र अहिले दरबार सङ्ग्रहालयमा यो समस्या टरेको छ ।’ 

वैकल्पिक ऊर्जाको व्यवस्थापन भएपछि मन्त्री न्यौपाने केही दिन अघि मात्रै पुनः अनुगमनका लागि दरबार संग्राहलय पुगेका थिए । त्यस क्रममा संग्राहलय प्रशासनले संग्राहलय भित्र अँध्यारोको समस्या टरेको जानकारी गराएको थियो । ‘पर्यटकहरूको कसरी बढी भन्दा बढी भन्दा आगमन प्रदेशमा बढाउने र प्रदेशको आर्थिक समृद्धि गर्ने भन्ने मुख्य लक्ष्य सरकारको छ,’ मन्त्री न्यौपानेले भने ‘तर पर्यटकहरूलाई आकर्षित गर्ने यस्ता महत्त्वपूर्ण पर्यटकीय थलोहरूमा समस्या छन्, यी सबै समस्या समाधान गरेर पर्यटकहरूलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने योजनाका साथ हामी लागेका छौँ ।’

उनले अन्य पर्यटकीय स्थलहरूमा समेत देखिएका साना तथा ठुला समस्या समाधानका लागि सक्रिय रूपमा लागेको समेत बताए । 

प्रकाशित: २५ कार्तिक २०८१ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App