२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
अर्थ

विदेशी पाहुना आगमनः भारतीय हाराहारीमा अमेरिकी

<br>

यो अक्टोवरमा नेपालमा हवाई माध्यमबाट मात्र झन्डै सवा एकलाख विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएपनि यो आगमनबाट पर्यटन क्षेत्र उत्तिसारो खुसी भने छैन। किनकी यो सिजनसँग पर्यटन क्षेत्रले निकै नै ठूलो अपेक्षा गरेको थियो। तर, अघिल्लो पिक सिजनमा भन्दा यो सिजनमा पाहुना आगमन घटेको छ।  

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नेपालमा यो वर्षको १० महिनाको अवधिमा सबैगरि ९ लाख ४१ हजार ३२ जना विदेशी पाहुना भित्रिएका छन्। अघिल्लो पिक सिजन मानिने गत मार्चमा मात्र नेपालमा  १ लाख २८ हजार १ सय ६७ जना पाहुना आएका थिए। मार्चको त्यो आगमन नै नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको महिना हो।  

‘अघिल्लो मार्चको त्यो आगमनको रेकर्ड यो वर्षकै बढी थियो। यो सिजनमा पनि अपेक्षा त थियो। तर, त्यो आगमन अहिलेको सिजनमा केही घटेकै हो,’ उनले भने, ‘नेपालमा घटेका केही प्राकृतिक विपद्का कारण यो सिजनमा आगमनमा केही गिरावट आएकै हो।’ नेपालमा पछिल्लो समय बाढी पहिरो सहित सडक दुर्घटना भएका थिए। त्यस्तै केही महिना अघि भएको हवाई दुर्घटनाले पनि नेपालमा पर्यटक आउन हच्किन थालेका थिए।  यो वर्षकै सर्वाधिक आगमन मार्च महिनाकै हुने पनि उनको अनुमान छ। किनकी नोभेम्बरमा अहिलेको आगमन अझै ओरालो लाग्ने सम्भावना रहेको उनले बताए।

 ‘अक्टोवरको आगमन सर्वाधिक बढी हुने अपेक्षा हो। तर, त्यो हुन सकेन। मार्चको आगमन उछिन्ने हैसियत हुन सकेन। नोभेम्बरको आगमन अहिले भन्दा पनि अझै कमजोर हुनसक्छ। हवाई उडानका केही समस्याले आगमन प्रभावित हुने पक्का जस्तै छ,’ उनले भने।  

बोर्डका अनुसार नेपालमा यो अक्टोवरमा मात्र १ लाख २४ हजार ३ सय ९३ जना विदेशी पाहुना आएका छन्। यो आगमन गत अक्टोवरको भन्दा ६ प्रतिशत बढी हो। नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएका वर्ष २०१९ को अक्टोवरमा भने १ लाख ३४ हजार ९६ जना विदेशी पाहुना भित्रिएका थिए। सन् २०१९ को अक्टोवरको तुलनामा भने यो महिना झन्डै ९३ प्रतिशत मात्र पाहुना आएका छन्।  

त्यसपछि सुरु भएको कोरोना भाइरस संक्रमणले गर्दा आगमन खस्कन थालेको थियो। त्यो आगमन खस्केर २०२० को अक्टोवरमा नेपालमा जम्मा २ हजार २५ जना विदेशी आएका थिए। सन् २०२१ को अक्टोवरमा भने २३ हजार ३ सय ३८ जना पाहुना आएका थिए। सन् २०२२ को अक्टोवरको आगमन ८८ हजार ५ सय ८२ थियो। सन् २०२३ को अक्टोवरमा भने १ लाख १७ हजार ३ सय ६जना विदेशी पाहुना नेपाल आएका थिए।  

नेपालमा यो वर्ष अहिलेसम्म (जनवरी–अक्टोवर) मा ९ लाख ४१ हजार ३२ जना विदेशी पर्यटक भित्रिएका छन्। दशमहिना अवधिमा नेपालमा ९ लाख ४१ हजार ३२ जना विदेशी भित्रिएका छन्। नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो।  

अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो । जुलाईको आगमन ६४ हजार ५ सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार ७ सय १९ रहेको थियो। सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशी नेपाल भित्रिए। अक्टोवरमा भने १ लाख २४ हजार ३ सय ९३ जना। सरकारले यो आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

पर्यटन व्यावसायीहरु भने योसिजनमा विदेशीको आगमन सन्तोषजनक रहेपनि आन्तरिक पाहुना चलायमान हुन नसकेको बताउँछन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘विदेशीको आगमन पनि उत्साहजनक होईन, तरपनि सन्तोष मान्नुपर्ने अवस्था छ। तर, आन्तरिक पाहुनाको आगमन भने बढ्न सकेन। यो पटक आन्तरिक पाहुना सोचेजति आउन सकेनन।’

भारतीयको हाराहारीमा अमेरिकन पाहुनाको आगमन

पछिल्लो तीनमहिनाको तथ्यांक अनुसार भारतीय पाहुनाको आगमन महिनैपिच्छे ओरालो लाग्दै आएको छ। तर, अमेरिकी पाहुनाको आगमनमा भने हरेकमहिना वृद्धि भईरहेको छ। बोर्डको तथ्यांक अनुसार गत अगष्टमा नेपालमा २५ हजार ८ सय ३२ जना भारतीय पाहुना भित्रिएका थिए। त्यो आगमन सेप्टेम्बरमा केही घटेर २२ हजार ९ सय ८४ मा झरेको थियो। अक्टोवरमा त  झनै घटेर १६ हजार ३ सय १३ जना भारतीय पाुहना नेपाल भित्रिएका थिए।

तर अमेरिकी पाहुनाको आगमन भने पछिल्लो तीनमहिना लगातार बढिरहेको छ। गत अगष्टमा नेपालमा ६ हजार ३ सय ६७ जना अमेरिकी पाहुना भित्रिएका थिए। त्यो आगमन सेप्टेम्बरमा बढेर ११ हजार ५ सय ४९ मा उक्लेको थियो। यो अक्टोवरमा भारतीयकै हाराहारीमा पुग्दै १६ हजार २३ जना अमेरिकी पाहुना नेपाल भित्रिएको बोर्डको भनाई छ।

‘भारतीय पाहुनाको आगमन पछिल्लो प्राकृतिक विपद्ले बढी प्रभावित भएको छ। भारतीय बस नेपालमा दुर्घटना हुनुका साथै स्थलमार्गमा भएका अरु घटनाले पनि प्रभावित भएको हो,’ लामिछानेले भने, ‘भारतीय पाहुना सानातिना घटनाबाट पनि छिटो प्रभावित हुन्छन।’ अमेरिकी आगमन बढ्नु सुखद् पक्ष रहेको भएपनि भारतीय आगमन घट्दा भने पर्यटन क्षेत्र थप प्रभावित हुने उनले बताए। ‘अमेरिकीको आगमन बढेको हो। तर, भारतीय पाहुना बढी प्रभावित भए। भारतीय पाहुना केही चाँडबाँडले पनि प्रभावित हुन्छन,’ उनले भने।

भारतीय र अमेरिकन पनि अक्टोवरमा नेपाल भित्रिने विदेशीमा बेलायतका पाहुनाको आकार तेश्रो नम्बरमा छ। अक्टोवरमा बेलायतबाट ८ हजार १९ जना पाहुना नेपाल भित्रिएका छन्। चिनियाँ पाहुनाको आगमन खस्किँदै जाँदा चौथो नम्बरमा परेको छ। अक्टोवरमा नेपाल भित्रिने चिनियाँको संख्या ७ हजार ७ सय ५० मात्र रहेको छ। अस्टे«लियाबाट ६ हजार ९ सय २९, जर्मनबाट ६ हजार १८ जना पाहुना भित्रिएका छन्।  

संघका अध्यक्ष सुवेदी पनि भारतीय पाहुना नेपालमा पछिल्ला घटनाक्रमबाट बढी प्रभावित भएको बताउँछन्। ‘नेपालमा भारतीय पाहुनाको आगमन यो सिजनमा सोचेजति भएन। त्यसको पछाडिका कारण भने प्राकृतिक विपद् नै मूख्य हो। भारतीयको आगमन कमजोर बन्दै गएको छ,’ सुवेदीले भने, ‘बरु अमेरिकी मुलका पाहुनाको आगमनमा वृद्धि छ। यो राम्रो हो।’

प्रकाशित: २० कार्तिक २०८१ १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App