७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छ: अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।

अध्यक्ष कार्कीले विकास निर्माणका काम र पुनर्निर्माणको काममा सरकार नीतिगत रुपमा स्पष्ट नभएको बताएका हुन। उनले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि के कति बजेट लाग्छ र के कस्ता कामहरू गर्नुपर्छ भन्ने कुरामा सरकार प्रस्ट हुनुपर्ने बताए। उनले विकास निर्माणको काम र पुनर्निर्माणको कामका लागि स्पष्ट नीति र दीर्घकालीन सोच हुनुपर्ने उल्लेख गरे। उनले विकास निर्माणको काममा पनि कुन क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने हो भन्नेमा सरकार स्पष्ट हुनुपर्ने बताए।

उनले सरकारसँग बजेटको सिमितताका कारण पुनर्निर्माणको काम प्रभावित हुने अवस्था देखिएको बताए। उनले विपद्का कारण सडक सञ्जालहरू टुटेका कारण काम भइरहेका ठाउँमा पनि काम अवरुद्ध भएको बताए। यसले गर्दा विकास निर्माणको काम पछि धकेलिने अवस्था रहेको भन्दै सरकारले आफ्नो आन्तरिक स्रोत, साधन परिचालन गरेर बनाउँदै जानुपर्ने बताए। निजी क्षेत्र विपद्बाट धेरै नै प्रभावित भएको भन्दै राहत वितरणका लागि पनि नीतिगत सुधार आवश्यक रहेको उनले उल्लेख गरे।

सरकारले सडक, पुल लगायतका संरचना बनाउँदा दिगो रुपमा सोच्नुपर्ने उनले उल्लेख गरे। अध्यक्ष कार्कीले खोला किनारामा बस्ती बसाउन दिनु नहुने र पुल पनि हजारौँ वर्षको बाढीलाई थेग्न सक्ने गरी बनाउनुपर्नेमा जोड दिए। हरेक संरचनाहरू बनाउँदा विशेष अध्ययन गर्नुपर्ने उनको भनाई छ। उनले भवन निर्माणको मापदण्ड राज्यले कडाइपूर्वक लागू गर्नुपर्ने बताए।

प्रकाशित: १६ कार्तिक २०८१ १८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App