७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारः नोभेम्बर–डिसेम्बरको बुकिङ प्रभावित, धमाधम रद्द

<br>

लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टको आगामि नोभेम्बर महिनाको अग्रिम बुकिङ ८० प्रतिशत हाराहारीमा पुगिसकेको थियो। पर्यटकीय सिजन भएकोले पनि रिसोर्टले राम्रै बुकिङ पाइसकेको थियो। तर, पछिल्लो केहीदिनदेखि अग्रिम बुकिङ धमाधम रद्द भईरहेको छ। अहिलेसम्म करिब २० प्रतिशत बुकिङ रद्द भईसकेको छ।

रिसोर्टको अग्रिम बुकिङ रद्द हुने क्रम अहिले पनि जारी छ। नोभेम्बर सुरु हुँदाका दिनसम्म बुकिङ कुन आकारमा गिरावट हुन्छ भन्ने संचालकलाई नै अन्योल छ। संचालक नरेश भट्टराई भन्छन्, ‘नोभेम्बरको बुकिङ ८० प्रतिशत हाराहारीमा पुगिसकेको थियो। तर, २० प्रतिशत घटिसकेको छ। विदेशी पाहुनाले एकाएक बुकिङ रद्द गरिरहेका छन्।’ नोभेम्बर लाग्न अझै केहीदिन बाँकी रहँदै गर्दा अहिलेको बुकिङ अझै तल झर्ने उनको अनुमान छ।  

पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्मको समय पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, यही समय पारेर नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म सिधा हवाई माध्यमले जोडिरहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउने सरकारी तयारी छ। पूर्वाधार बिस्तारका क्रममा विमानस्थल संचालन समय घटाउने सरकारी तयारी भईरहँदा त्यसले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित पार्ने र त्यसको असर पर्यटक आगमनमा पर्ने निश्चित भएको व्यावसायीको भनाई छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सम्म करिब पाँचमहिना दिनमा १० घण्टा बन्द हुँदैछ। राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरेर त्यो समयमा पूर्वाधार थप गरिँदैछ। जसले गर्दा रातीको त्यो समयमा उडान भर्ने वायुसेवा कम्पनीहरुले निर्धारित उडानको समय परिमार्जन गर्नुपर्नेछ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे खुल्छ भने राती २ बजेसम्म चल्दै आएको छ। रातीको समयमा विमानस्थल बन्द हुने भएपछि त्यो बेलाका उडान प्रभावित हुने हुँदा त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पारेको व्यावसायीले बताए।  

‘नेपालसम्मको हवाई उडान प्रभावित भएपछि होटल बुकिङ गरेका पाहुना पनि आउन सकेनन्। किनकी विदेशी पाहुनाले महिनौ अगाडि बुकिङ गरेका हुन्छन्,’ भट्टराईले भने, ‘विमानस्थलको संचालन तालिका फेरबदल हुँदै गर्दा पर्यटकको तालिका पनि प्रभावित हुने भएपछि उनीहरुले अहिलेका लागि नेपालको यात्रा रद्द गरेको जनाउ दिएका छन्।’

नेपालको भ्रमण तालिका अनुसार यात्रा समय नमिलेको भन्दै धमाधम रद्द गरिरहेको उनले बताए। ‘जसोतसो नेपाल आइसकेपनि आन्तरिक उडान पनि प्रभावित हुन जाँदा त्यसले पर्यटकलाई झनै असर परेको हो। नेपालको यात्रामा सकस रहेको बुझेका पाहुना थप सकस खेप्न आउन चाहेनन,’ उनले भने, ‘आफ्नो योजना अनुसार यात्रा तालिका मिलाउन नसकेको भन्दै अहिले धमाधम बुकिङ रद्द गरिरहेका छन।’  

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदै गर्दा पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनिलाई अनुरोध गरेपनि पोखरामा अहिलेसम्म कुनैपनि हवाई कम्पनिले उडान तयारी नथाल्दा पर्यटन क्षेत्रलाई मार परेको उनले बताए।  

‘बरु गौतम बुद्धमा तीनवटा एयरलाईन्सले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेगरि तयारी थालेका छन। तर, पोखराबारे अहिलेसम्म कुनैपनि तयारी देखिन्न। कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनिले पोखरामा उडान तयारी गरेका छैनन,’ उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले आन्तरिक उडान पनि प्रभावित हुँदै गर्दा हवाई सेवा अस्तव्यस्त हुने देखेरै पर्यटकले नेपाल यात्रा रद्द गरेका हुन।’

लेकसाइडकै टेम्पल ट्रि रिसोर्टको पनि अवस्था उस्तै छ। नोभेम्बर–डिसेम्बरका लागि आएको बुकिङ धमाधम रद्द हुन थालेको संचालक बसन्त गौतम बताउँछन्। ‘नोभेम्बरका लागि यूरोपियन पाहुनाको तीनवटा समूहले अग्रिम बुकिङ रद्द गरिसकेका छन्। अरु पनि रद्द आउने सम्भावना देखेका छौं,’ गौतमले भने, ‘विदेशी पर्यटक भित्रिने मुख्य सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार थप्न थाल्दा त्यसको असर हवाई उडानमा परेको छ।’  

व्यावसायीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका प्रभावित हुँदा त्यसको असर ३० देखि ३५ प्रतिशत उडान तालिका प्रभावित हुनेछन्। त्यसको असर पर्यटक आगमनमा पर्नेछ। ‘पाँचवटा उडान गर्ने कम्पनिले दैनिक उडान तीनवटामा झारिसकेको छ। तीनवटा उडान गर्नेले एउटामा झारेका छन्। त्यसै अवस्थामा पाहुना आउन सक्ने कुरै रहेन,’ उनले भने। उनका अनुसार उडान संख्या कटौती हुनासाथ आउन चाहेका पाहुनाले पनि हवाई टिकट पाउँदैनन्। त्यसबाहेक माग उच्च र सिट अभाव भईरहँदा हवाई भाडा पनि बढ्न थालेको उनले सुनाए।  

‘नेपालसम्मको हवाई भाडा नै बढिसकेको छ। एकहजार यूरोको भाडा अहिले बढेर १५ सय यूरो पुगिसकेको छ। हवाई टिकट पाउनै मुस्किल हुने अवस्था भएपछि पाहुना आउने कुरै रहेन,’ उनले भने, ‘हवाई उडान संख्या नै कटौती भएपछि पाहुना प्रभावित भईहाल्छन्। असर आन्तरिक उडानमा पनि पर्ने पक्का छ।’  

६८ कोठाको टेम्पल ट्रि रिसोर्ट नोभेम्बरका लागि ९० प्रतिशतजति बुकिङ भईसकेकोमा अब धमाधम रद्द हुन थालेको उनले बताए। ‘नोभेम्बर मात्र नभई यसको प्रभाव आगामि अर्काे सिजन (मार्च–अप्रिल) मा पनि असर पर्ने अवस्था छ,’ उनले भने। व्यावसायीले अक्टोवर–नोभेम्बरलाई विदेशी पाहुनाका लागि पिक सिजन भन्दै आएपनि यो वर्ष मुख्य सिजन प्रभावित हुने पक्का भएको बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसीका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ पनि नेपाल आउने तयारीमा रहेका विदेशी पाहुना उडान तालिका प्रभावित हुँदा दोधारमा परेको बताउँछन्। ‘महिनौं अघि हवाईटिकट बुकिङ गरेका पाहुना तोकिएको समयमा आउजाउ गर्न नपाउने अवस्था आएपछि अप्ठेरोमा छन। के र कसो गरौं भन्ने दोधार उनीहरुमा छ,’ उनले भने, ‘कतिपय पाहुनाले त बुकिङ नै रद्द पनि गरिसकेका छन्। पर्यटक भित्रिने मुख्य सिजनमै हवाई उडान प्रभावित भएपछि पाहुना आउने कुरै रहेन।’

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही अन्तर्राष्ट्रिय हवाई कम्पनिले उडान तयारी गरिसक्दा पोखरामा भने अहिलेसम्म एउटै एयरलाइन्स पनि आउने टुंगो छैन। ‘जबसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार पोखरा र भैरहवामा सर्दैन। तबसम्म पर्यटन क्षेत्र अस्तव्यस्त रहन्छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने कम्पनिलाई पोखरा र भैरहवाका लागि अनिवार्य गर्नैपर्छ,’ श्रेष्ठले भने, ‘ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भईरहेको उडानमध्ये २० प्रतिशत मात्र पोखरा र भैरहवामा सार्न सक्ने हो भने पर्यटन क्षेत्र जोगिनेछ, नत्र सबैतिर असर पर्छ।’ उडान तालिका व्यवस्थापन गर्न सकिएन पर्यटन क्षेत्र ध्वस्त हुने उनले सुनाए।  

प्रकाशित: ७ कार्तिक २०८१ १८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App