७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सर्लाहीको उखु किसानका २५ करोड रकम भुक्तानी बाँकी

फाइल तस्बिर

सर्लाहीका उखु किसानहरूले एक वर्षदेखिको रकम भुक्तानी नपाएको गुनासो गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल्सले करिब १५ हजार उखु किसानका झन्डै २५ करोड रकम भुक्तानी नगरेको बुझिएको छ।

गोडैता नगरपालिकाका उखु किसान हरिश्याम रायले महालग्मी सुगर मिल्सले आफ्नो ५÷६ लाख रुपैयाँ नदिएको नागरिक न्यूजलाई बताए।

उनले भने, ‘मिलका प्रमुख विरेन्द्र कनौडियाले नयाँ उखु क्रसर गरेपछि मात्रै पैसा भुक्तानी गर्ने भन्छन्। पहिला कै पैसा नदिएको बेला नयाँ उखु कसरी दिनु। चाडवाडको बेलामा पनि पैसा नहुँदा सँधै पीडा मात्रै हुन्छ।’

सर्लाही रामनगर गाउँपालिकाका उखु किसान राजेश यादवको पनि गत सिजनको ८ लाख रकम पाउनै बाँकी छ।

उनले भने, ‘किसानले मिहिनेत गरेर उखु उत्पादन गर्छन्। तर, उखु मिलका मालिकले कहिल्यै समयमा किसानको रकम दिँदैन। न सम्बन्धित निकायले त्यसका लागि कुनै पहल गर्छ। सँधै किसान मात्रै पीडामा परिरहेका छन्।’

उनले एक महिना पछि यो सिजनको उखु काट्ने बेला हुने तर, गत वर्षकै रकम नपाउँदा उखु किसान बिचल्लीमा पर्ने गरेको बताए।

१० बिघामा उखु खेती गर्दै आएका उनले अब उखु खेतीबाट पलायन हुनुबाहेक अर्को विकल्प नरहेको पनि बताए।

प्रकाशित: ६ कार्तिक २०८१ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App