२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराका होटलः अग्रिम बुकिङ धमाधम रद्द

४० प्रतिशतजति बुकिङ रद्द भईसकेको छः व्यावसायी

पर्यटकीय सहर पोखरा। फाइल तस्बिरः सन्तोष/नागरिक

५० कोठाको अतिथि रिसोर्टमा विदेशी पाहुनाले अग्रिम बुकिङ गरेका कोठा अहिले धमाधम रद्द भईरहेका छन्। विदेशी पाहुनाले यो सिजनका लागि रिसोर्टका कोठा अग्रिम बुकिङ गरिरहेका थिए।  अक्टोवर–नोभेम्बरका लागि ती कोठा बुकिङ थिए। बुकिङ आउने क्रम चलिरहेको पनि थियो।  

तर, केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका ती कोठा धमाधम रद्द गरिरहेका छन्। करिब ४० प्रतिशत कोठाको बुकिङ रद्द भईसकेको संचालक भरतराज शर्माले जानकारी दिए।

‘पर्यटकीय सिजन चलिरहँदा अहिले बुकिङ भएका कोठा पनि धमाधम रद्द भईरहेका छन। डिसेम्बरसम्मको बुकिङ प्रभावित भएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा ठूलो क्षति भएको छ। पर्यटकले आउजाउ गर्ने अवस्था नभएको भन्दै होटलको बुकिङ रद्द गरिरहेका छन्।’

उनका अनुसार दिनमा २० कोठाको दरले बुकिङ रद्द भईरहेको छ। ‘राम्रो बुकिङ थियो। तर, पाहुना आउने बेलामा एकाएक रद्द हुन पुगेको छ। पछिल्लो विपद्ले नेपालको पर्यटन क्षेत्रमा नराम्रो असर पारेको छ,’ उनले भने, ‘अहिले पाहुना आउन नसकेपछि अर्काे सिजन कुर्नुको विकल्प छैन।’

उनका अनुसार समग्रमा रिसोर्टको बुकिङ ४० प्रतिशत रद्द हुँदा अब बाँकी ४५ प्रतिशत हाराहारीको अकुपेन्सीमा व्यावसाय संचालन गर्नुपरेको छ। उनका अनुसार रद्द हुनुअघि रिसोर्टको बुकिङ ८५ प्रतिशतजति पुगेको थियो।  

‘विपद्को घटना हुनासाथ नेपालको क्षतिबारे अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि समाचार प्रशारण भयो। त्यसपछि धमाधम बुकिङ रद्द हुन थालेको हो,’ उनले भने, ‘नेपालबारेको खबर अन्तर्राष्ट्रियस्तरमा फैलिएपछि पर्यटक नेपाल आउनै डराएका हुन।’ 

उनका अनुसार यो सिजनमा विदेशी मात्र नभई आन्तरिक पाहुना पनि पोखरा आएका छैनन। खासमा यो बेला विदेशीसँगै नेपालीको पनि घुमघाममा निस्कने सिजन हा। तर, आन्तरिक पाहुना पनि आएका छैनन। उनका अनुसार २–३ दिनको बिदा पारेर आन्तरिक पाहुना पोखरा घुम्न आउने गरेकोमा पछिल्ला घटनाक्रमपछि आन्तरिकको आगमनमा पनि पूर्णबिराम लागेजस्तै भएको छ।

‘एउटै कोठामा आन्तरिक पाहुना छैनन। खासमा यो बेला आन्तरिक पाहुनाको पनि पोखरा आउने सिजन हो। तर, आन्तरिक पाहुना पनि घुमघाममा निस्कन डराएका छन्,’ शर्माले भने, ‘आन्तरिक पाहुना पनि घुम्न निस्कन डराउने अवस्था आयो। पोखरालाई मुख्य सहरसँग जोड्ने राजमार्गको दुरावस्थाका कारण पर्यटन क्षेत्र मारमा परेको छ।’

अहिले नेपाल आउन चाहेर पनि आउन नसकेका विदेशी पाहुना अन्यत्र डाईभर्ट भएको उनले बताए। ‘विदेशी पर्यटकले निकै नै चाँसोका साथ हेरिरहेका छन। नेपालको घुमघाम कत्तिको सुरक्षित छ भन्नेमा उनीहरुको चाँसो रहेको छ,’ शर्माले भने, ‘नेपालको घुमघाम कत्तिको सुरक्षित छ भनेर सोध्ने पाहुना पर्याप्त छन।’  

होटल ग्लेसियरका संचालक राजेन्द्र ढकाल पनि यो सिजनमा भएका विपद्का घटनाक्रमका कारण होटलको अग्रिम बुकिङ धमाधम रद्द भईरहेको बताउँछन। ‘बुकिङ मध्ये करिब ३० प्रतिशत रद्द भइसकेको छ। विपद्का पछिल्ला घटनाक्रमले पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ,’ उनले भने, ‘पर्यटक आउने आशमा रहेको पर्यटन क्षेत्र विपद्का कारण मारमा परेको छ।’ अहिले बुकिङ रद्द गरेका पर्यटक भविश्यमा नेपाल आउँछन नै भन्ने निश्चित छैन। ‘विदेशी पाहुना अन्यत्र डाईभर्ट भएका छन। नेपालको घुमघाम असुरक्षित र अनिश्चित भन्ने सन्देश प्रवाह भएको छ,’ ढकालले भने।  

ढकालले पनि पोखरामा अहिले आन्तरिक पाहुना नआएको बताए। ‘यो बेलामा आन्तरिक पाहुनाको खुबै भीडभाड हुन्थ्यो। तर, पर्यटकीय सहर जोड्ने मुख्य राजमार्ग नै ध्वस्त भएको छ। यात्रा अनिश्चित र असुरक्षित बनेको छ। हिडडुल नै जोखिमपूर्ण रहेको भन्ने सन्देशले गर्दा पनि अहिले पर्यटक घरबाट बाहिर निस्कन सकेका छैनन,’ उनले भने, ‘अत्यावश्यक बाहेकका कामले निस्कन सक्ने अवस्था छैन।’

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि अग्रिम बुकिङ रद्द हुँदा व्यावसाय चलायमान बनाउन सकस थपिएको बताउँछन्। व्यावसायीका अनुसार होटलमा ५० प्रतिशत अकुपेन्सी भएमा मात्र संचालन खर्च धान्न सकिन्छ। तर, अहिले पोखराका होटलको अकुपेन्सी ४० प्रतिशत भन्दा कम रहेको उनले बताए।

‘गण्डकी प्रदेश घुमघामका लागि सुरक्षित छ भनेर मात्र भएन। प्रदेश भित्रिने मुख्य सडकको बिचल्ली छ। यस्तो अवस्थामा पर्यटक आउने अवस्था नै रहेन, जसोतसो आएको बुकिङ पनि पाहुना आउने बेलामा एकाएक रद्द भईरहेको छ,’ शर्माले भने।  

खासमा पर्यटन क्षेत्रमा सेप्टेम्बर–नोभेम्बर मुख्य सिजन मानिन्छ। विदेशी पर्यटक आउने र पदयात्राका लागि समय उपयुक्त हुने भएकोले पनि यो बेला पाहुना बढि आउँछन। तर, अहिले सिजन चलिरहँदा विपद् निम्तिएपछि पाहुना आउने अवस्था नरहेको व्यावसायीको भनाई छ। व्यावसायीका अनुसार पोखराका चल्तीका केही होटलको अकुपेन्सी यो सिजनमा राम्रो थियो। त्यस्तै बुकिङ पनि राम्रो आएको थियो। तर, विपद्का घटनापछि एकाएक रद्द हुने क्रम बढेको हो।

‘आन्तरिक पाहुनाको आगमन पनि यो बेला कमजोर छ। दसैंको टीका पछि केही आन्तरिक पाहुना आउनेछन। तर, अहिले भने आगमन कमजोर रहेको छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘यो बेलामा हामीले पाहुना बढी भएर आफ्नो होटलमा कोठा नपुगेर अरु साथीभाइको होटलमा पाहुना लगेर राखेको पनि अनुभव छ। तर, अहिले आफ्नै होटलका कोठा रित्तै छन।’  

चाँडबाँडको बेला आउने आउने आन्तरिक पाहुना पनि नआउने हो भने आगामि दिनमा पर्यटन क्षेत्र अहिले भन्दा पनि नाजुक अवस्थामा पुग्ने उनले बताए। मुख्य सिजनका बेलामा पनि पाहुना अभाव भएको भन्दै होटल संघले संघमा आवद्ध होटलको आवासमा ३० प्रतिशत छुट दिने घोषणा यसअघि मंगलबार नै गरिसकेका छन्।  

प्रकाशित: २३ आश्विन २०८१ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App