१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अब चरिकोटबाटै सरर कालिञ्चोक

के तपाईं कालिञ्चोक भगवतीको दर्शन गर्न आउँदै हुनुहुन्छ ? तपाईलाई राजधानी काठमाडौंबाट दोलखा जिल्लाको सदरमुकाम चरिकोट हुँदै पुगिने यो मन्दिर जाँदा चरिकोट बजारको छेवैबाट चालकहरूले पहाडको सुन्दर नगर चरिकोट नै नदेखाइ कालोपत्र बाइपास सडकबाट सिधै कालिञ्चोक पुर्‍याउँथे।

मुख्य बजारबाट जाने सडक कच्ची रहेको भन्दै बाइपासबाट कालिञ्चोक जानेहरूका लागी अब भने अलकत्रे सडकबाटै चरिकोट हुँदै प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरसम्म सरर जान पाइने भएको छ। सदरमुकाम चरिकोट देखि देउराली बजारसम्मको सडकमा बागमती प्रदेश सरकारले हालै कालोपत्र गरेको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत चरिकोटदेखि देउराली बजार सम्म पाँच किलेमिटर सडक कालोपत्र गरिएको हो। यस्तै देउराली बजारदेखि माथिल्लो भागका विभिन्न स्थानमा समेत ढलान र कालोपत्रको काम चलिरहेको छ। 

यो आर्थिक वर्षमा पाँच किलोमिटर ढलान र कालोपत्र गरिने कार्यालयले बताएको छ। कालिञ्चोकको कुरी बजारसम्म पुग्ने बाँकी सडक भने कच्ची छ। त्यसलाई समेत कालोपत्र र ढलान गर्नका निम्ति टेन्डर अगाडि बढाउने तयारी कार्यालयको छ। स्थानीयका अनुसार यो सडक बनेपछि चरिकोट बजारको पर्यटनलाई सहयोग पुग्ने छ।

यसअघि राजधानी काठमाडौंबाट कालिञ्चोक भगवतीको दर्शन गर्न आउनेहरू सदरमुकाम चरिकोट नै नआइ चार किलोमिटर वरै रहेको मकैबारीबाट कालिञ्चोकतर्फ उकालो लाग्थे। मकैबारीबाट एक दशकअघि नै कालिञ्चोक पुग्न देउराली बजार जोड्ने छोटो बाइपास सडक कालोपत्र गरिएको थियो। 

उक्त सडक बनेपछि पर्यटक चरिकोट बजार नै नपुगी सिधै मन्दिर जाने र फर्किने गर्थे। मन्दिर आउँदा राजधानीबाट ल्याउने सवारी साधनका चालकहरूले चरिकोट निस्किएर देउराली जाने बाटो कच्ची रहेकाले यही बाइपास सडकबाट यात्रा गराएका कारण आफूहरूले पहाडको सुन्दर सदरमुकाम चरिकोट देख्न नपाएको गुनासो पर्यटकहरू गर्थे।

कालिञ्चोक भगवती मन्दिर सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको दूरीमा पर्छ। ‘यसअघि कच्ची रहेको सडक प्रदेश सरकारले कालोपत्र गरिदिएको छ’ चरिकोट बजारका होटल व्यवसायी विवेक बुढाथोकीले भने, ‘अब चरिकोटलाई केन्द्र बनाएर पर्यटकलाई यहीं बाट कालिञ्चोक जाने बानी बसालौं।’ चरिकोट हुँदै जाँदा प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर दर्शन गर्न पाइने बुढाथोकीले बताए।

दोलखा सदरमुकाम चरिकोटबाट भीमेश्वर मन्दिर चार किलोमिटर दूरीमा पर्छ । मन्दिरको मूर्तिमा पसिना आउने भएका कारण भीमेश्वर मन्दिर बेलाबेलामा चर्चामा आइरहन्छ । भीमेश्वर मन्दिरको शिलामा पसिना आउनुलाई मुलुकमा अनिष्टको सूचकका रूपमा लिने गरिन्छ। पसिना आउँदा राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन समेत छ।

यस्तै सदरमुकाम चरिकोट जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य रहेको र प्रायः स्थानहरू यहाँ हुँदै जानुपर्ने कारण चरिकोटको पर्यटन विकास र पर्यटकहरूको सुविधाका लागि स्थानीय सरकारले विशेष कार्ययोजना बनाउनुपर्ने चरिकोट बजारका अगुवा रामजीप्रसाद चौलागाईंले बताए। 

चरिकोट हुँदै शैलुङ, च्छोरोल्पा, जिरी, विगु गुम्बा, लामाबगर, लप्ची, रोल्वालिङ उपत्यका, महांकाल, सिँगटीलगायत दर्जनौं प्रख्यात पर्यटकीय स्थल पुग्न सकिन्छ। ‘दोलखा जिल्लाका केन्द्र विन्दुका रूपमा रहेको चरिकोट बजार मुख्य गन्तव्य रहेकाले यसको विकास र पर्यटनको एउटा चेन बनाउनका निम्ति सरकारी निकाय क्रियाशील हुनुपर्दछ’ चौलागाईले भने। चरिकोट बजारमा दुई तारेदेखि सुविधासम्पन्न खालका एक सय बढी होटल छन्।

कालिञ्चोक जाने कालोपत्र सडक चरिकोट बजारको सात दोबाटो चोकबाट मध्य बजार, भालुखोला, पशुपतिडाँडा हुँदै टुँडिखेल निस्किएर त्यहाँबाट जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नेपाली सेनाको ब्यारेक हुँदै जोडिएको छ।

भीमेश्वर नगरपालिका ६ का वडाअध्यक्ष नवीनकुमार लामाले सबैतिर जाने पर्यटकको केन्द्र चरिकोट बजार हुने भएका कारण यहाँको विकासका लागि नगरपालिका क्रियाशील रहेको बताए। 

प्रकाशित: १६ श्रावण २०८१ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App