महाराजगन्जस्थित घर घरमा रोपिएका नानाथरी गमलाहरू ओइलाएजस्तै देखिन्थे। घरमा शून्यता छाएको देखिन्थ्यो। माली हराएपछि बास्नादार फूलहरूलाई माया कसले दिन्छ र? घरभित्र विभिन्न संघसंस्था र सरकारले बेलाबेला अभिनन्दन गर्दै उपहार स्वरूपका अनमोल अभिनन्दनपत्र एवं सयौं सम्मानपत्र भित्तामा झुन्ड्याइएका देखिन्थे। भित्तामा नअटाएका प्रमाणपत्र भुइँमा यत्रतत्र छरिएका देखिन्थे। ती प्रमाणपत्रहरू आफ्नी जीवनसँगिनी तथा नेपालको पहिलो सिनेअभिनेतृ भुवन चन्द र आफ्ना गरी दर्जनौं थिए। तिनीहरूमा पनि धमिरो लागेको, माकुराको जालो लागेको देखिन्थ्यो।
आफ्नो जमानाका फरासिला, ठट्याउला र बोलीमा विनोदप्रिय आवाजका प्यारा व्यक्ति हरिश चन्द अब हामी बिच रहेनन्। अंग्रेजीका विद्वान्, जसले रेडियो नेपालमा ३३ वर्ष अंग्रेजीमा समाचार पढेर सेवा गरे। वरिष्ठ पत्रकार चन्द समाचारको सम्पादन आफैं गर्थे। अंग्रेजी समाचार पढ्दा लाखौं फ्यान रेडियो सुनेर बस्थे। स्पष्ट उच्चारण, अंग्रेजीका अक्षरहरू केलाएर पढ्ने बानीले अर्का अंग्रेजी समाचारवाचक रविन शर्मा पनि चन्दको खुलेर प्रशंसा गर्छन्। अहिले रविन शर्मा अमेरिकाको क्यालिफोर्नियामा बस्छन्।
त्यसबेला रेडियो नेपालबाहेक एफएमहरू थिएनन्। समाचार र मनोरञ्जनको भरपर्दो साधन रेडियो नेपाल मात्र थियो। जुन नेपाली संस्कृतिजन्य थियो, लोकप्रिय थियो। रेडियो नेपाललाई लोकप्रियताको उचाइमा पुर्याउने त्यसबेलाका सञ्चारकर्मीहरू हरिश चन्द, कमल प्रधान, प्रचण्ड प्रधान, ध्रुव थापा, धन लामा, दामोदर अधिकारी, गीतसंगीततर्फ बच्चु कैलाश, स्वरसम्राट नारायणगोपाल, जनकविकेशरी धर्मराज थापा, नातीकाजी, शिवशंकर, नरराज ढकाल, तारादेवी, अरुणा लामा, दीपक जंगम, कुमार बस्नेत, प्रेमदत्त गिरी, सुन्दर श्रेष्ठ, पाण्डव सुनुवार, वासुदेव मुनाल चन्द्रकला शाह, मधुबाबु थापालगायत थिए। रेडियो नेपाल राष्ट्रको सुन्दर फूलबारीजस्तै थियो।
जापान सरकारको सहयोगमा निर्मित रेडियो नेपालको आधुनिक स्टुडियोमा हरिश चन्दले कानमा माइक्रोफोन पनि लगाएर अंग्रेजीमा समाचार पढेको मैले धेरै पटक प्रत्यक्ष देखेको थिएँ। देउडा लोकगायनको सहधर्मीका नाताले धेरै गीत रेडियोमा पंक्तिकारले रेकर्ड गराउँदा अग्रज व्यक्तित्व हरिश चन्दबाट रेडियोको आगनीमा स्याबास र बधाई पाएको पनि हिजोजस्तै लाग्छ। अझ २०४३ सालमा अधिराज्यव्यापी लोकगीत सम्मेलनमा देउडागीत गाएर प्रथम पुरस्कार पाउँदा खुसी हुँदै बैतडी भाषामा बधाई दिएको भुलेको छैन।
हरिश चन्दको जन्म ओदाली मेलतडा पाटन, बैतडीमा पिता धनी चन्द र आमा गोमादेवी चन्दबाट २००४ सालमा भएको थियो। त्रिभुवन आदर्श विद्यालय फर्पिङ, काठमाडौंबाट चन्दले एसएलसी उत्तीर्ण गरी त्रिचन्द्र कलेजमा अंग्रेजीमा स्नातक गरे। कक्षाका मेधावी विद्यार्थीका रूपमा परिचित उनलाई अध्ययनको स्तर हेरेर तत्कालीन रेडियो नेपालबाट एक टोली आएर अंग्रेजी समाचार सम्पादन र वाचनका लागि बोलाएको याद गर्नुहुन्छ सहोदर भाइ पवित्र चन्द।
२५ वर्षसम्म गणबहाल काठमाडौंमा गोथे इन्स्टिच्युटमा जर्मन भाषा सिकाएका हरिश चन्दले भुवन चन्दसँग २०३३ सालमा बिहे गरे। फिल्मी जगत्मा नारीपात्रका रूपमा सर्वप्रथम देखा परेकी भुवन चन्दले दर्जनौं फिल्महरूमा सफल नायिकाको भूमिका निर्वाह गरेकी हरिश चन्द र भुवन चन्दलाई सुदूरपश्चिमको भूमिले मात्र नभएर समग्र राष्ट्रले सम्मानका नजरले हेर्दै आएको छ। फिल्महरू ‘आमा’, ‘हिजो, आज र भोलि’, ‘मनको बाँध’, ‘सिन्दूर’, ‘जीवनरेखा’, ‘के घर के डेरा’, ‘पच्चीस वसन्त’, ‘शान्तिदीप’लगायत लोकप्रिय फिल्ममा सफल अभिनय गरेबापत भुवन चन्दलाई कलाकारिताको चम्किलो ताराका रूपमा जनमानसले श्रद्धापूर्वक हेर्ने गर्छन्।
यसैगरी हरिश चन्दलाई पनि जर्मन सरकारले आफ्नै देशमा बोलाएर देशको सर्वोत्कृष्ट पुरस्कार जर्मन चान्सलरले प्रदान गरेबाट भन्न सकिन्छ– हरिश चन्द, भुवन चन्द सरस्वतीका वरद सन्तान हुन्। त्यसबेला राष्ट्रिय नाचघरमा सेवा गर्ने प्रथम नायिका भुवन चन्द दिवंगत भएका आफ्ना श्रीमान्बारे गम्भीर भएर विगतमा सहधर्मिणी भएर काम गर्दाका अनौठा अनुभव बताउनुहुन्छ। २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंशनास भएको खबर रेडियो नेपालमा आफैंले समाचार बनाएर पढ्दाको दुःखद क्षण जिन्दगीभर भुल्न नसकिने खालको थियो रे हरिश चन्दको।
नेपाल फिल्मी सोसाइटीको आयोजनामा गत वर्ष अमेरिकाको न्युयोर्कको भव्य स्टुडियोमा काली–कर्णालीको मौलिक भाका मञ्चमा पंक्तिकारले प्रस्तुत गर्ने मौका पाएको थियो। ‘झम्क्यो डालीमा’ गीत पस्कँदा संगीतको मिठो ध्वनि र देउडागीतका बान्कीसँगै हरिश चन्द, भुवन चन्द, वसुन्धरा भुसाल, कृष्ण मल्ल, शम्भुजित बाँस्कोटा लगायत विशिष्ट साधकहरू मञ्चमा देउडा नाचेको त्यो दृश्य भुल्न सकिन्न। देउडागीतसंगीत अन्तराष्ट्रिय मञ्चमा सफलतापूर्वक पस्केको देखेर ती महामनाहरूले पंक्तिकारलाई सम्मानपूर्वक धन्यवाद दिएको मेरो मानसपटलमा ताजा छ। रेडियो नेपालको स्टुडियोदेखि न्युयोर्कसम्मको हरिश चन्द र पंक्तिकारको यात्रा सँगसँगै रह्यो। बझाङ र बैतडीको भाषा, कला, साहित्य एक भएका कारण पनि हामीमा मित्रता गाढा थियो।
प्रकाशित: १७ माघ २०८२ ०६:२० शनिबार


-600x400.jpg)


