१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

अति संवेदशील मतदान केन्द्र विशेष निगरानीमा

गृह मन्त्रालयले देशभरका अति संवेदनशील मतदान केन्द्रमा निर्वाचन हुनु एक महिनाअघिबाटै निगरानी बढाएको छ। देशभर निर्धारण गरिएका १० हजार नौ सय ६७ मतदानस्थलअन्तर्गतका तीन हजार ६ सय ८० मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ। अतिसंवेदनशील ती केन्द्रलाई अहिलेदेखि नै अतिरिक्त निगरानीमा राखिएको हो।

अतिरिक्त निगरानीमा रहेका अधिकांश मतदान केन्द्र्र तराईका छन्। त्यस्तै चार हजार चार सय ४२ मतदान केन्द्रलाई सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएको छ । ‘केही निर्वाचन क्षेत्र र मतदान केन्द्र एक महिनाअघिबाटै सुरक्षाका हिसाबले निगरानीमा छन्’, गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।

सुरक्षा चुनौतीका आधारमा मतदान केन्दलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको छ। अतिसंवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको वस्तुस्थितिबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीले जानकारी लिइरहेका छन्।

अतिसंवेदनशील मतदान स्थलहरू मुख्यतः भौगोलिक विकटता, विगतका हिंसात्मक घटना र अन्य सुरक्षा जोखिमका आधारमा छनोट गरिएको हो। काठमाडौं, दोलखा, सिन्धुली, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, रुपन्देही, बाँके बर्दिया, चितवन, मोरङ, सुनसरी, कास्की, रुपन्देहीलगायतका जिल्लामा सुरक्षा अवस्था कडा पारिएको छ।

मधेस प्रदेशमा सबैभन्दा बढी एक हजार दुई सय ४६ अतिसंवेदनशील मतदान केन्द्र छन्। सुदूरपश्चिम प्रदेशमा चार सय ८१, लुम्बिनी प्रदेशमा चार सय ६२, कोसी प्रदेशमा चार सय ३९, कर्णाली प्रदेशमा तीन सय ५८, बागमती प्रदेशमा ४४ र गण्डकी प्रदेशमा तीन सय २८ मतदानस्थल अतिसंवेदनशील सूचीमा छन्। काठमाडौं उपत्यकामा १२ वटा अतिसंवेदनशील मतदानस्थल छन्, जुन मुख्यतः ललितपुरका विकट क्षेत्रमा रहेको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले अतिसंवेदनशील मतदानस्थलमा एउटा केन्द्र भएमा तीन जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटाउने भएको छ। थप केन्द्र भएमा प्रतिकेन्द्र दुई जना नेपाल प्रहरी र चार जना निर्वाचन प्रहरी खटाइने भएको छ। संवेदनशील स्थलमा आधारभूत रूपमा ३ जना नेपाल प्रहरी र ६ जना निर्वाचन प्रहरी खटाउने र थप केन्द्रमा समान दरले सुरक्षाकर्मी खटाउने योजना छ। सामान्य स्थलमा दुई केन्द्रसम्म ४ जना नेपाल प्रहरी र ९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ। यसमा सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिनेछन्।

अन्य क्षेत्र र जिल्लाका मतदातालाई पनि सुरक्षित ढंगले मतदान केन्द्रसम्म पुर्‍याउन मन्त्रालयले वडा तहमा क्रियाशील रहेका दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा मन्त्रालयले तयार गरेको छ।

निर्वाचनका सबै प्रक्रियामा दल, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई ध्यानमा राखेर गृह मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ तयार गरी जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको छ।

वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचन व्यवस्थापनलगायत कार्यमा सहभागी गराएर अपनत्व अभिवृद्धि गरी स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा तयार पारिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।

अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई जिम्मेवार बनाइएको छ। यसको कार्यान्वयन पक्षको अनुगमन र निगरानी मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयले गर्ने छन्।

समन्वय एवं सहकार्यलाई अभिवृद्धि गर्ने सम्बन्धमा अवधारणापत्रले वडा तहमा रहेका त्यस्ता व्यक्तिहरूको पहिचान गरी सूची तयार गर्ने, मतदानस्थलहरूको स्थलगत निरीक्षणका क्रममा उनीहरूसहितको बैठक आयोजना गर्ने, समयसमयमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका पदाधिकारीहरूबाट सहजता एवं प्रभावकारिताअनुसार टेलिफोनबाट सम्पर्क गर्ने, समूह एसएमएसबाट सूचना प्रवाह गर्ने, भर्चुअल माध्यमबाट सम्पर्क, संवाद, छलफल, अन्तरक्रियालगायतका काम गरिने छ।

सशस्त्र प्रहरीको चुनावकेन्द्रित सम्मेलन

सशस्त्र प्रहरी बल नेपालले वरिष्ठ अधिकृतहरुलाई काठमाडौंमा बोलाएर निर्वाचन सुरक्षालक्षित बिफ्रिङ लिएको छ। वरिष्ठ अधिकृत सम्मेलन नाम दिएर सशस्त्र प्रहरी बल नेतृत्वले बाहिनीपतिहरूलाई निर्वाचन सुरक्षामा संवेदनशील भएर लाग्न र जस्तोसुकै परिस्थितिमा पनि खटिन आग्रह गरेको छ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले फागुन २१ गते हुने निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीलाई कुनै पनि दलको पक्ष नलिई उम्मेदवारहरुसँग सम्पर्कमा रहिरहन र निर्वाचन शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्।

उनले फिल्डमा खटिने कमाण्डरहरूलाई मानवीय क्षति हुन नदिन, अन्य सुरक्षा निकाय र सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गर्न निर्देशन दिएका छन्। सशस्त्र प्रहरी निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहने छ।

प्रकाशित: १७ माघ २०८२ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App