८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

माछाका परिकारले बढाए पर्यटक

पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ। यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन्। तर लेखनाथ क्षेत्रमा तालका कारण नभइ यहाँ पाइने माछाका परिकारले चर्चित छ।

माछाका स्वादिला परिकारकै कारण पर्यटकीय गतिविधि बढेको यहाँका  पर्यटन व्यवसायीहरुको तर्क छ।  आउने अधिकांश पर्यटक तालका कारणभन्दा पनि माछाका परिकार खान आउने गरेको उनीहरुको बुझाइ छ।

तालमा पर्याप्त माछा पाइने भएकाले पर्यटकको रोजाइको गन्तव्य बनेको व्यवसायीहरुले सुनाए। यहाँका बेगनास, रुपालगायतका ताल र आसपासका क्षेत्रका स्थानीयहरु प्नि व्यावसायिक माछापालनमा पनि सक्रिय छन्।

बेगनास ताल किनाराका माझीकुना, पिप्ले होस् वा ड्याम साइडलगायतका क्षेत्रमा हरेक दिन ठूलो सङ्ख्यामा पर्यटकहरू माछाका परिकार खानकै लागि आउने गरेका छन्।

बेगनास तालको उत्तरी किनारास्थित पिप्ले गाउँका ४२ परिवारमध्ये अधिकांश माछामै निर्भर छन्। यहाँका ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य समुदायका छन्।

बस्ती बस्नुअघि कहिलेकाँही चलचित्र छायाँङ्कन र पर्यटकको ‘क्याम्पिङ’ स्थलका रूपमा मात्र रहे पनि यो स्थान अहिले माछाका पारखीको गन्तव्य बनेको स्थानीय दी फिसरम्यान रेष्टुराँका सञ्चालक टेकबहादुर जलारीले बताए।

स्थानीय समुदाय झण्डै साढे पाँच दशकयता माछामै निर्भर छन्। माछा बिक्री गरेरै यहाँका अधिकांश परिवारले मासिक २० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेका छन्। पिप्लेमा माछा मारेर बेच्ने मात्र नभै माछाका परिकार खुवाउने होटेल तथा रेष्टुरेन्टका कारण यो पर्यटकहरूको माछा खान जाने गन्तव्यका रुपमा स्थापित भएको हो।

पिप्ले जस्तै माछाकै कारण पर्यटकलाई आकर्षित गरेको अर्को गन्तव्य हो। बेगनास तालको पूर्वी किनारछेउको माझीकुना। झण्डै एक दशक अघिसम्म खुल्ला चौर वनजङ्गलले भरिएको यो ठाउँ यतिखेर भने पर्यटकीय गन्तव्य जस्तै बनेको छ।

केही वर्ष यता मात्रै यस स्थानको महिमा र गरिमा बढेको बताउँदै व्यवसाय जलारीले यहाँ पाइने पोलेको माछा धेरै चर्चामा रहेको बताए। पछिल्लो समयमा सामाजिक सञ्जालका युट्युव, फेसबुक, टिकटक आदिले पनि माझीकुनाको आकर्षणलाई थप उचाईमा पुर्‍याएको उनको बुझाइ छ।

विगत १० वर्ष यता माझीकुनामा पर्यटकीय आकर्षण बढिरहेको उल्लेख गर्दै प्रकाश गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक प्रकाश लामिछानेले यस क्षेत्रमा हाल २८ वटा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आइसकेको बताए। 

पछिल्लो समयमा यस क्षेत्रका व्यवसायीले पूर्वाधार निर्माणलगायतमा जोड दिएको उनले बताए। पर्यटन व्यवसायलाई व्यवस्थित गर्न यहाँका व्यवसायीहरू एकजुट बनेको उनको भनाइ छ।

बेगनाससँगै यहाँका रूपा, दिपाङ, खास्टे, न्युरेनी, मैदी तालहरूमा माछापालनलाई स्थानीयले जोड दिँदै आएका छन्। रुपातालमा माछाको संरक्षण र उपयोगमा जोड दिँदै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था क्रियाशील रहेको सो संस्थाका अध्यक्ष शिवराज अधिकारीले बताए।

विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले बताए।

यसबाट पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ। हाल उक्त सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेका छन्। उनले सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी समेत दिन सकिएको बताए।

रुपातालमा पाइने माछाकै कारण सहकारीले वार्षिक करिब दुई करोड बराबरको माछा उत्पादन गरिरहेको छ। तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत करिब २५ जातका माछा पाइने उनको भनाई छ। 

प्रकाशित: १२ श्रावण २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App