१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

खुल्यो अवरुद्ध हेटौंडा-काठमाडौं-दक्षिणकाली सडक

अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ।

वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। पहिरो खस्दा गएरातीदेखि सो सडक अवरुद्ध भएको थियो।

शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौंडा–काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन्। अविरल वर्षाकै कारण पहिरो खस्दा अवरुद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– ८ प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए।

त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ५ महालक्ष्मी खोलानजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

अविरल वर्षाकै कारण अवरुद्ध रहेको भीमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–४ रातोमाटेस्थित सडकमा पनि पहिलो हटाउने काम भइरहेको छ। इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ।

कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ८ महादेवटार, प्रतापडाडा, बकैया गाउँपालिका– १२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्णरूपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए।

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका– ६ मौरीओडारमा आज बिहान पहिरा खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडक खण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो।

पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। मुग्लिन पोखरा सडक खण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ।

वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ। केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ। जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्णरूपमा खुला रहेको प्रहरीले जनाएको छ। –रासस

प्रकाशित: २२ असार २०८१ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App