२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कोसीका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत

कोसी प्रदेशका पुरस्कृत महिला उद्यमीहरू सामूहिक तस्बिर खिचाउँदै । तस्बिर: चुमन बस्नेत /नागरिक

कोसी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत भएका छन्। शुक्रबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा कोसी प्रदेशका १४ जिल्लाका एक–एक जना महिला उद्यमीलाई पुरस्कृत गरेको हो। 

पुरस्कृत हुनेहरूमा सोलुखुम्बुकी पासाङह्लामु तामाङ, मोरङकी सरस्वती  सुब्बा, सुनसरीकी निर्मला खतिवडा, उदयपुरकी हेमकुमारी सार्की, संखुवासभाकी मनकला राई छिन् ।

यस्तै तेह्थुमकी विमला केरुङ, ओखलढुङ्गाकी रामकुमारी बस्नेत,भोजपुरकी निर्मला श्रेष्ठ, पाँचथरकी लक्की सुजी, ताप्लेजुङकी सानुमाया लिम्बु, धनकुटाकी डोरस्वरी राई, खोटाङकी उषा खत्री, इलामकी रामिता राई र  झापाकी भूमिकादेवी दाहाल पुरस्कृत  भएकी छिन् ।

पुरस्कृत उद्यमीहरूलाई  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला मन्त्री राम रानालगायतले ५० हजार रुपैयाँ नगद र सम्मान पत्रले सम्मानित गरेका थिए । 

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल र कोसेली घर बनाउने प्रतिबद्धता  जनाए।  ‘स्वदेशी उत्पादन त्यसमाथि पनि घरेलु तथा लघु उद्यमीका उत्पादनको बजार व्यवस्थापन र  प्रवर्द्धन गर्न राजधानी विराटनगरमा कोसेली घर तथा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न सरकार प्रतिबद्ध  छ’ कार्कीले भने।कार्कीले प्रदेश सरकारलाई जग्गा प्राप्तिको अधिकार नभएका कारण आवश्यक जग्गाको व्यवस्था गर्न निजी क्षेत्रलाई आग्रह गरे।

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको भए पनि जग्गा नभएका कारण निर्माणको काम अघि बढ्न नसकेको कार्कीले बताए।उनले औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि निजी क्षेत्रले जग्गा उपलब्ध गराए प्रदेश सरकार आवश्यक संरचना बनाउन तयार रहेको स्पष्ट पारे। उनले औद्योगिक प्रदर्शनी स्थल र प्रदेश कोसेली घरका लागि आवश्यक जग्गा उपलब्ध गराउन निजी क्षेत्रलाई आग्रह समेत गरे। उनले भने‘जग्गा प्राप्तिको अधिकार प्रदेशसँग छैन।

त्यहि भएकाले निजी क्षेत्रले कोसेली घरका लागि विराटनगर स्थित एयरपोर्ट रोड आसपास २ कठ्ठा र औद्योगिक प्रदर्शनी स्थलका लागि आवश्यक जग्गा उपलब्ध गराए प्रदेश सरकार संरचना निर्माणका लागि लगानी गर्न तयार छ।’ मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकारले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे।कार्कीले आगामी वर्ष पनि सम्मानका कार्यक्रमलाई निरन्तरता दिने बताए। 

प्रकाशित: २१ असार २०८१ १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App