१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

रुपन्देहीका १४ पालिकाले ल्याए बजेट, दुई गाउँपालिकाको अझै बाँकी

१४ पालिकाको बजेट १६ अर्ब ५ करोड

रुपन्देहीका १४ वटा पालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५ करोडको बजेट ल्याएका छन्। जिल्लाका १६ मध्ये १४  वटा पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका हुन्। रुपन्देहीमा एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका  छन्। ती मध्ये दुई वटा पालिकाले बजेट सार्वजनिक गरेका छैनन्।

जिल्लाका अधिकांश पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। बुटवल उपमहानगरपालिकाले शिक्षा,स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। बुटवलले आगामी आर्थिक बर्ष २०८१/२०८२ कालागि २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको हो। आइतबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रीदेवी अर्यालले चालु तर्फ ४८.६५ प्रतिशत र पुँजीगततर्फ ५१.३५ प्रतिशत रहने अनुमान सहितको बजेट पेश गरेकी हुन्।

बुटवलले आगामी वर्ष आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ। नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि र मानव संसाधनको विकासकालागि बजेट छुटाइएको बताए। बुटवलले वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको छ। वडा नं. ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड,सिद्धार्थ बाल तथा महिला अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि १ करोड, अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नतिका लागि  १ करोड विनियोजन गरिएको छ।

नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरी विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम ल्याएको उपप्रमुख सावित्रीदेवी अर्यालले बताइन्। बुटवलले शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड छुट्टाएको छ। छोरी पढाऔँ, समाज बनाऔँ कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउन बजेट विनियोजन गरेको उपप्रमुख अर्यालले बताइन।

मुख्य राजमार्ग, भित्री सडकहरू सौन्दर्यीकरण, ट्राफिक लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन्। बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रुपमा विकास गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याइएको छ।  बुटवल–नुवाकोट  पैदल मार्ग निर्माणका लागि १ करोड, शिव मूर्ति निर्माणका लागि १ करोड र  हिलपार्कमा बुद्ध मूर्ति निर्माणका लागि १ करोड विनियोजन गरिएको छ।

रोजगार तर्फ नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख छुटाइएको छ।  खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले २ करोड छुट्टाएको छ।

बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने भनिएको छ । वडा नं. १६ डहर गाउँमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र १३ को जवई खेलमैदान जाने सडकका लागि १ करोड छुट्टाएको छ। करको दायरा बढाउने र राजस्व संकलन स्पेसल टास्क फोर्स गठनको विधि अपनाउने भनिएको छ।

सिद्धार्थनगर नगरपालिकाले आगामी  वर्षका लागि १ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याएको छ। आइतबार नगर सभाको १६ औं बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा अधिकारीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास संंगै लक्षित वर्गको उत्थानमा विशेष जोड दिइएको बताइन।

नगर प्रमुख इश्तियाक अहमद खाँले खानले ‘कृषि पर्यटन, उद्योग व्यापार, शिक्षा र हराभरा बुद्ध भूमि सिद्धार्थनगरको इच्छा’ भन्ने नगरपालिकाको दीर्घकालीन सोचलाई साकार पार्ने गरी बजेट ल्याइएको बताए। आगम आर्थिक वर्षलाई कर सहभागिता वर्षको रुपमा मनाउने बजेटमा उल्लेख छ।

तिलोत्तमा नगरपालिकाले २ अर्ब ७६ करोड ६२ लाख बराबरको बजेट ल्याएको छ। सोमबार बसेको दोश्रो नगर भामा बजेट प्रस्तुत गर्दै उपप्रमुख जगेश्वरीदेवी चौधरीले चालु खर्चतर्फ  ४५.१ प्रतिशत र पुँजीगत तर्प ५४.९९ प्रतिशत छुट्टाएको जानकारी दिइन। अगामी बर्ष आन्तरिक श्रोतबाट ३२ करोड ६६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ। बजेटमा शिक्षा,स्वास्थ्य,कृषि र पूर्वधार विकासलाई प्राथमिकता दिइएको नगरप्रमुख रामकृष्ण खाँणले बताए।

देवदह नगरपालिकाले १ अर्ब ५० करोड १० लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार नगर सभाको दोश्रो बैठकमा उपप्रमुख बिद्यालक्ष्मी गुरुङले बजेट प्रस्तुत गरेकी हुन। देवदहले पनि कृषि,शिक्षा,स्वास्थ्य,पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। आगामी बर्ष २५ करोड ८६ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिइएको नगरप्रमुख ध्रुव खरेलले बताए। सैनामैना नगरपालिकाले १ अर्ब १० करोड १२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। सैनामैनाले कृषि,शिक्षा,स्वास्थ्य र पूर्वाधार  विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ९० करोड बराबरको बजेट ल्याएको छ। तियारी गाउँपालिकाले ९० करोड बराबरको बजेट ल्याएको छ। सम्मरीमाइ गाउँपालिकाले  ५० करोड ४ लाख र ओमसतिया गाउँपालिकाले ४९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ।

कोटहीमाइ गाउँपालिकाले  ४७करोड ६९ लाख र  कञ्चनले  ५७ करोड २१ लाख बराबरको बजेट ल्याएको छ। त्यस्तै मर्चवारी गाउँपालिकाले ४८ करोड रुपैयाँ,गैडहवा गाउँपालिकाले ६३ करोड र शुद्धोदन गाउँपालिकाले ७० करोड २७ लाख  बराबरको बजेट ल्याएका छन्।

यी गाँउपालिकाहरुले कृषि,सिचाइ,पशुपालन, सडक, नाला निर्माण,विद्यालय तथा मठ मन्दिर निर्माणलाई प्राथमिकता दिएका छन्।

जिल्लाका दुई गाउँपालिका रोहिणी र मायादेवीले भने बजेटको सिलिङका बिषयमा आन्तरिक विवाद हुँदा बुधबार सम्म नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन्। 

प्रकाशित: १३ असार २०८१ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App