६ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

बागमतीको बजेट ६४ अर्ब ५४ करोड

बागमती प्रदेशसभामा बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री,मुख्यमन्त्री लगायत ।

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कुल बजेट मध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

चालुतर्फ ४० दशमलव ४४, पुँजीगततर्फ ५७ दशमलव २३ र वित्तीयतर्फ २ दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको हो । कर राजश्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजश्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख तथा संचितकोष र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार व्यहोर्ने अनुमान गरिएको मन्त्री थपलियाले उल्लेख गरे।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री थपलियाले प्रदेश राजधानी हेटौँडालाई बृहत् बनाउन बजेटको व्यवस्था गरिएको बताए । यस्तै बागमती प्रदेशको जोखिमयुक्त बस्ती स्थानान्तरण गरी सामूहिक बस्ती बनाउने, प्रदेशसभाको निर्माणाधीन भवनलाई प्रविधिमैत्री बनाउने र यसै वर्ष सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको छ।

बागमती प्रदेशलाई पूर्ण उज्यालो बनाइने भएको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयका लागि ६ अर्ब ९३ करोड, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशमा शहीदहरूको नाममा शान्ति पार्क स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने मन्त्री थपलियाले बताए । प्रदेशमा थप रोजगारी सृजना गर्ने उद्देश्यसहित सहुलियत ऋण कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशलाई प्लास्टिकरहित बनाउन १ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशलाई वातावरणमैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्नका लागि उक्त रकम विनियोजन गरेको हो। वातावरण सम्मेलन, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षारोपण लगायतका योजना अघि सारिएको छ । बागमती प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ। 

प्रकाशित: १ असार २०८१ २०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App