६ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

डेढ अर्ब घटेर आयो लुम्बिनीको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड  रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। लुम्बिनीमा चालु आर्थिक वर्षको भन्दा डेढ अर्ब रुपैयाँ घटाएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा ४० अर्ब ४७ करोड बजेट ल्याएको थियो।

शनिबार प्रस्तुत गरिएको बजेट अन्तर्गत चालु तर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत तथा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत रहेकोप्रदेश सरकारले प्रदेश सरकारका निकायबाट सञ्चालन गरिने आयोजना तथा कार्यक्रम कार्यान्वयन र अनिवार्य दायित्व भुक्तानीका लागि प्रदेश सञ्चित कोषबाट विनियोजन हुने रकम तर्फ ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश सञ्चित कोष माथि व्ययभार हुने रकम तर्फ १करोड ४ लाख ६४ हजार विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व बाट ७ अर्ब ५१ करोड २१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख, संघबाट प्राप्त हुने रोयल्टी  ५० करोड १७ लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको छ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब २८ करोड ६४ लाख, सशर्त अनुदान बाट ४ अर्ब १९ करोड ३३ लाख, समपूरक अनुदानबाट  ७९ करोड ५० लाख, विशेष अनुदान बाट ७४ करोड ४६ लाख, चालु आर्थिक वर्षको नगद मौज्दात बाट २ अर्ब परिचालन हुने अनुमान गरिएको छ।

प्रदेश सरकारले बजेटमा सुशासन, सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र मानव विकास, गुणस्तरीय र दिगो भौतिक पूर्वाधारको सन्तुलित विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ।

यसै गरी अनुसन्धान मूलक उच्च शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा, कृषिको व्यवसायीकरण, सीप विकास तथा रोजगारी सिर्जना, नवप्रवर्तन,उद्यमशीलता र औद्योगिक उत्पादकत्वमा वृद्धिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ।

प्रदेश भित्रका सबै जिल्लाहरूमा बाली एवं वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रमका लागि बाली र पशुपन्छी तर्फ गरी१०करोड ७२लाख रुपैयाँ विनियोजन गरेको छ।

नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न “मेरो स्वास्थ्यःमेरोजिम्मेवारी”अभियानका साथ स्वस्थकर जीवन शैली प्रवर्द्धन तथा भान्सा सुधार कार्यक्रम समेत सञ्चालन गर्दै नागरिक आरोग्य कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका साथै ४० वर्ष माथिका नागरिकको निःशुल्क मधुमेह, रक्तचाप र मृगौलाको परीक्षण, किशोर तथा किशोरीको रक्त अल्पता पहिचान कार्यक्रम सञ्चालनका लागि ४ करोड ४५ लाख,  प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि १५ करोड बजेट विनियोजन गरिएको छ।

यसै गरी सामुदायिक विद्यालय तथा क्याम्पसको भौतिक तथा प्राविधिक पूर्वाधार विकासका लागि १ अर्ब १० करोड विनियोजन गरिएको छ।

यसै गरेर शिक्षा, युवा तथा खेलकुद क्षेत्रका कार्यक्रम सञ्चालन गर्न १ अर्ब ९६ करोड ५३ लाख, लुम्बिनी प्रदेशमा ‘एक घर: एक धारा’ को संकल्प पूरा गर्न स्थानीय तहसँग सह लगानी/सहकार्यको माध्यमबाट ‘जनतासँग प्रदेश सरकार खानेपानी विकास कार्यक्रम’ सञ्चालन गर्न एवम् सघन खानेपानी विकास कार्यक्रमलाई निरन्तरता दिन र ८० प्रतिशत कार्य सम्पन्न भैसकेका १६८ आयोजना सम्पन्न गर्न १ अर्ब ३० करोड रकम विनियोजन गरिएको छ।

परम्परागत तथा आधुनिक सिँचाइ प्रविधिको प्रयोग गरी थप १ हजार ४ सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य पुरा गर्न७३ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ।

समग्र ऊर्जा क्षेत्रको विकासको लागि १३ करोड ३० लाख, निर्माणाधीन १०० वटा र नयाँ ६ वटा सडक पुलको निर्माण कार्य तथा अन्य सडक पुलको सम्भाव्यता अध्ययन एवम् विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि १ अर्ब ३४ करोड ७५ लाख विनियोजन गरिएको छ।

प्रकाशित: १ असार २०८१ १९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App