गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन पहिलेकै आकारमा रोजगारी सिर्जना भईसकेको अध्ययनकर्ताको भनाई छ।
पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार सबैभन्दा बढी रोजगारी होटल र रेस्टुरेन्टले सिर्जना गरेका छन। प्रत्यक्ष रोजगारीको करिब ७० प्रतिशत हिस्सा होटल र रेस्टुरेन्ट क्षेत्रले लिएको सापकोटाको भनाई छ। उनका अनुसार प्रदेशमा सरकारी निकायमा दर्ता भएका टुरिस्ट स्ट्याण्डर्ड होटलको संख्या सातसय छन। ती बाहेक सरकारी निकायमा दर्ता नगरि संचालन भएका होटल पनि धेरै छन।
पोखरा भित्रै र आसपासका पर्यटकीय गन्तव्यमा सरकारी निकायमा दर्ता नभई संचालित होटल रहेको उनले बताए। त्यस्तै रेस्टुरेन्ट पनि दर्ता नभई संचालनमा छन। ‘दर्ता नभई संचालनमा रहेका होटल र रेस्टुरेन्टमा कार्यरत कामदारको संख्या यकिन छैन। तर, त्यो संख्या पनि ठूलै छ,’ सापकोटाले भने। सापकोटा कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रको अध्ययन गर्न गण्डकी प्रदेश सरकारले बनाएको कार्यदलका एक सदस्य हुन्। सापकोटा सहितको टोलीले प्रदेशको पर्यटन क्षेत्रको अवस्थाबारे अध्ययन गरेको थियो।
‘हामीले पर्यटन क्षेत्रको रोजगारीबारि सम्बन्धित निकायसँग सोधेरै तथ्यांक निकालेका हौ,’ उनले भने। उनका अनुसार होटल र रेस्टुरेन्ट पछि पदयात्रा क्षेत्रमा कार्यरत मजदूरको संख्या बढी छ। रोजगारीको करिब १५ प्रतिशत हिस्सा पदयात्रा क्षेत्रले समेट्ने उनले बताए। किनकी त्यस क्षेत्रमा पदयात्रामा जाने पर्यटकका लागि गाइड र पोर्टरको रुपमा ठूलो संख्यामा रोजगारी गर्ने कामदार रहन्छन। पदयात्रा पछि टुर एण्ड ट्राभल क्षेत्रमा पनि कामदारको हिस्सा धेरै नै रहेको उनले बताए।
‘७५ हजार प्रत्यक्ष रोजगारी पाउनेको संख्या हो। अप्रत्यक्ष रोजगारी पाउनेको संख्या पनि बढी नै छ। तर, त्यो बाहिर आउँदैन, अनुमान गर्दा पनि ठूलै संख्या हुन्छ,’ उनले भने, ‘होटल क्षेत्रमा सबैभन्दा बढी कामदार छन। किनकी एउटै होटलमा एकसय हाराहारीमा कोठा हुन्छन। त्यहाँ पाहुनाको आउजाउ पनि उत्तिकै बढी हुँदा कामदार पनि बढी हुन्छन।’
गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्र करिब १० हजार ६ सय व्यावसाय संलग्न छन्। करिब सातसय पर्यटकीयस्तरका होटल गण्डकी प्रदेशमा छन्। ती होटलमा झन्डै ४० हजार बेडसंख्या रहेको पनि उनले बताए। त्यस्तै पर्यटकस्तरीय रेस्टुरेन्टको संख्या १ सय ५० छ। ४ सय ७१ वटा ट्राभल एजेन्सी, २ सय २८ वटा ट्रेकिङ एजेन्सी, ६५ वटा प्याराग्लाइडिङ कम्पनि, ३ वटा अल्ट्रालाइट कम्पनि रहेका छन्। हट एयर बेलुन ३ वटा छन। त्यसैगरि टे«किङ इक्यूपमेन्टका पसल १ सय १५ वटा छन्। ८७ वटा पर्यटकस्तरीय बस पनि संचालनमा छन।
प्रदेशमा ३ सय ४१ होमस्टे, मनि चेन्जर ४२, र्याफ्टिङ एजेन्सी १२, डुंगा ५ सय २, गार्मेन्टका पसल ७५ वटा पनि संचालनमा छन्। ६३ वटा स्पा, टुरिष्ट बुक सपको संख्या १५ छ। त्यसैगरि ट्याक्सी, केवलकार, जीपलाइन, बञ्जीजम्प लगायतका पर्यटकीय पूर्वाधार पनि पोखरामा छन्। पर्यटनसँँग आवद्ध करिब ८ हजार साना तथा मझौला व्यावसाय पनि प्रदेशमा छन्।
गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्र करिब सात खर्ब रुपैयाँ लगानी रहेको पनि उनले बताए। त्यसमा पनि सबैभन्दा ठूलो लगानी होटल क्षेत्रमा रहेको छ। किनकी होटलमा ठूला आकारका पूर्वाधार बनाउँदा व्यावसायीले लगानी गरेका छन। त्यसपछि यातायात क्षेत्रमा पनि उत्तिकै लगानी रहेको पनि उनले बताए।
‘पर्यटन क्षेत्रले झन्डै ७५ हजार जनालाई गण्डकी प्रदेशभित्र रोजगारी दिलाएको छ। पर्यटन हुँदैनथ्यो भने यो आकारको रोजगारी सिर्जना हुने थिएन,’ सापकोटाले भने, ‘कोरोनाले गर्दा केही व्यावसायी र मजदुर बिस्थापित भएपनि धेरैलाई पर्यटन क्षेत्रले जोगाएको छ।’
सापकोटाका अनुसार कोरोनाले गर्दा पर्यटन क्षेत्रका करिब ३० प्रतिशत कामदार बिस्थापित भएका थिए। तर ,ती मध्ये अहिलेसम्म केही पर्यटन क्षेत्रमै फर्किसकेका छन। बिस्तापित भएको ठाउँमा नयाँ कामदारको पनि प्रवेश भएको छ। ‘पर्यटन क्षेत्रले करिब पुरानो आकार लिएको छ। त्यो अनुसार रोजगारीको अवस्था पनि पहिलेकै अवस्थामा फर्केको छ,’ उनले भने।
सापकोटाका अनुसार गण्डकी प्रदेशको आम्दानीमा पर्यटन क्षेत्रको हिस्सा करिब ७ प्रतिशत रहेको अनुमान छ। ‘पर्यटन क्षेत्र सुस्ताउँदो हो त यो सबै अवस्था आउने थिएन। सिंगो प्रदेशको आम्दानी देखि रोजगारी सिर्जनासम्म पर्यटन क्षेत्रले सघाएको छ,’ उनले भने, ‘प्रत्यक्ष रोजगारी त रह्यो नै यसमा निर्भर हुनेको संख्या पनि पनि निकै नै ठूलो हुनेछ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष गोपि भट्टराई पर्यटन क्षेत्रले पर्याप्त रोजगारी सिर्जना गरेपनि अझै पनि अपुग रहेको बताउँछन। ‘पर्यटन क्षेत्रले प्रत्यक्ष भन्दा अझ बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। पर्यटन क्षेत्रमा अझै पनि जनशक्ति अपुग छ,’ उनले भने, ‘भएको जनशक्तिलाई जोगाउने हैसियत पर्यटन क्षेत्रले राख्न सकेन । लामो समय काम सिकाएर रिटर्न लिने बेलामा कामदार काम छाडेर बिदेश जाने गरेका छन।’
पर्यटनको जनशक्ति उत्पादनमा केही निकाय सत्रिय पनि छन। तर, ती निकायले उत्पादन गरेको जनशक्ति स्वदेशमा अडिन नचाहँदा समस्या परेको उनले बताए। ‘हामीले विदेशीन चाहने कामदारलाई स्वदेशमा रोक्न सक्ने अवस्था छैन। लामो समय काम गर्ने सोचाई नै अहिलेको जनशक्तिमा छैन। जसोतसो काम चलेको मात्र छ,’ उनले भने, ‘दक्ष जनशक्ति अभावमा एकअर्कामा तानातानको अवस्था देखिएको छ। नयाँ र दक्ष जनशक्ति भित्रिनै सकेन। विदेशमा काम सिकेर फर्केर पर्यटनमा लागेका युवापुस्ता नयाँ जनशक्ति नपाउँदा खिन्न छन।’
परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि पर्यटन क्षेत्रले ठूलो संख्यामा रोजगार सिर्जना गरेको बताउँछन। ‘पर्यटन क्षेत्रले धेरैलाई काम त दिएको छ नै उनीहरुको परिवारलाई माम पनि दिएको छ,’उनले भने, ‘खेतबारिमा काम गर्नेदेखि पशुपालन गर्नेसम्मका किसानले पनि पर्यटनबाट आम्दानी गरेका छन। पर्यटन क्षेत्र नहुँदो हो त अझै धेरै युवा विदेश पलायन भईसक्थे । केही हदसम्म युवालाई स्वदेशमै रोक्न पर्यटन क्षेत्रले सघाएको छ।’
प्रकाशित: ३१ जेष्ठ २०८१ १५:४५ बिहीबार