७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ढाका–पोखरा नियमित उडानको पहल

बंगलादेशको एयर अस्ट्रालाई पोखरा भित्र्याउने प्रयास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे धेरै नै आलोचना हुने गरेको छ। संचालनमा आएको झन्डै डेढवर्ष हुँदा पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। विमानस्थल अहिलेसम्म आन्तरिक उडानमै सीमित छ।  

गण्डकी प्रदेशका पर्यटन व्यावसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै अन्तर्राष्ट्रिय उडान संचालन भएमा त्यसले पोखरामा विदेशी पाहुनाको आगमन बढ्ने बताउँदै आएका छन। त्यसका लागि व्यावसायीले पहल पनि गर्दै आएका छन। व्यावसायीले अन्तर्राष्ट्रिय उडान सुचारुका लागि पहल गर्न भन्दै बारम्बार सरकारलाई झक्झकाउँदै पनि आएका छन । तरपनि अहिलेसम्म अन्तर्राष्ट्रिय उडानको टुंगो भने छैन। अघिल्लो वर्ष पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर सहित जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए।

तर, पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको छ। नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यावसायिक क्षेत्रबाट एयर अस्ट्रालाई ढाका–पोखरा उडान गर्नका लागि अनुरोध गर्ने तयारी भएको छ। एयर अस्ट्रासँग एटिआर–७२ जहाज रहेको र ती जहाजमार्फत पोखरामा उडान गर्न सकिने भएकोले पहल थालिएको सरोकारवालाको भनाई छ।  

‘दुइमहिनाभित्र ढाका–पोखरा उडान थालेर ‘आइसब्रेक’ गर्न चाहेका हौ। सुरुवाती चरणमा सातामा कम्तिमा एउटा मात्र उडान गर्न सके त्यसले रुट स्थापित गर्नेछ,’ प्राधिकरणका एकजना उच्च अधिकारीले भने, ‘यताउता नलागी लक्ष्य तोकेर अघि बढौ भन्ने लागेको छ। त्यसो भयो भने बल्ल पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत जोड्न सकिन्छ।’ उनका अनुसार बंगलादेशको एयर अस्ट्रा मात्र नभई बिमान बंगलादेश पनि पोखरासम्म उडान गर्न इच्छुक छ। त्यसका लागि अहिले पोखरासम्मको सम्भावित व्यावसायबारे अध्ययन भईरहेको छ।  

‘उडान संचालन हुनुमात्र ठूलो कुरा होईन, टिकाउ हुनुपनि पर्छ। त्यसका लागि अहिले पर्यटन बोर्ड, विमानस्थल, पर्यटन व्यावसायीसँग बंगलादेशी पर्यटकको आगमन अवस्थाबारे बुझिरहेका छौं,’ उनले भने। ती अधिकारीका अनुसार बंगलादेशको ढाकाबाट मात्र अन्तर्राष्ट्रिय उडान हुने भएकोले पोखरालाइ जोड्न सहज छ। ‘चीनका धेरै नै सहरबाट काठमाडौंसम्म सिधा उडान हुन्छ। जसले गर्दा समेट्न अप्ठेरो हुन्छ। तर, बंगलादेशलाई नेपाल जोड्ने ढाका विमानस्थलले मात्र हो। त्यसैले ढाकादेखि पोखरासम्म उडान गर्न सहज पनि छ,’ उनले भने।  

‘नेपालमा बंगलादेशी पाहुनाको आगमन पनि राम्रो छ। पछिल्लो समय त बंगलादेशी पाहुना बढीमात्रामा पोखरातर्फ आकर्षित भएका छन। बंगलादेशी पाहुनाको त्यही आकर्षणलाई देखेर ढाका–पोखरा उडानको पहल भएको हो,’ उनले भने, ‘हामीले एयर अस्ट्रालाई ढाकादेखि पोखरा उडान गर्नका लागि अनुरोध पनि गर्नैछौ। उडानको निरन्तरताका लागि व्यावसायीले पनि पहल गर्नुपर्छ। व्यावसायिक दृष्टिले उडान टिकाउ हुनुपर्छ।’

उनका अनुसार ढाका–पोखरा हवाई रुटमा कुनै समस्या पनि छैन। बरु भैरहवासम्मका लागि उडान रुटको समस्या पर्छ। ‘ढाका–पोखरामा रुटमा समस्या छैन। सिमराबाट भित्रिने जहाज पोखरा पुग्दा खासै अप्ठेरो हुँदैन,’ उनले भने, ‘एयर अस्ट्रासँग एटिआर जहाज भएकोले पनि एकैपटक धेरै संख्यामा यात्रु अभाव हुँदैन,’ उनले भने, ‘बंगलादेश आउजाउ गर्ने चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थी र पर्यटकीय सिजन पारेर उडान थाल्ने हो भने गति लिने विश्वास छ।’  

प्राधिकरणले अहिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि अध्ययन गर्न एउटा समिति पनि बनाएको छ। त्यही समितिले केहीदिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका पर्यटन व्यावसायी र विमानस्थल पदाधिकारीसँग छलफल पनि गरेको थियो। छलफलमा सहभागि व्यावसायीले प्राधिकरणको पहल ढिलै भएपनि सकारात्मक रहेको बताउँछन।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन, ‘हप्ताको एउटै किन नहोस, उडान लगातार हुनुपर्छ। त्यसो भयो भने मात्र उडान स्थापित हुन्छ। नत्र एकदिनको उडानले मात्र सार्थकता पाउँदैन।’ उनका अनुसार तत्कालै उडान गर्न सम्भव भने छैन। किनकी उडानका लागि बजारीकरण गर्न समय लाग्छ। ‘बंगलादेशी हवाई कम्पनिलाई ढाका–पोखरा उडानका लागि अनुरोध गर्नेमा छलफलमा केन्द्रित थियो,’ उनले भने,‘बंगलादेशबाट पोखरासम्म सिधा उडान गर्न सके त्यसले पर्यटनमा पक्कै पनि लाभ दिन्छ।’

पर्यटन बोर्डका अनुसार नेपालमा पछिल्लो समय बंगलादेशी पाहुनाको आगमन राम्रो छ। यो मे महिनामा झन्डै ३५ सय जना बंगलादेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएका थिए। स्थलमार्गबाट आउने बंगलादेशी पाहुना निकै नै कम हुन्छन। अहिले नेपाल भित्रिने विदेशी पाहुनामध्ये भारत, अमेरिका, चीन पछि बंगलादेश चौथो नम्बरमा पर्छ।  

छलफलमा सहभागि पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि बंगलादेश–पोखरा नियमित उडानका लागि पहल भईरहेको बताउँछन। ‘प्राधिकरणले पनि पहल थालेको छ। व्यावसायिक क्षेत्रबाट पनि पहल होस भन्ने प्राधिकरणको चाहना हो, त्यो नराम्रो होईन। किनकी व्यावसायिक क्षेत्रबारे जानकार भएकोले पहल आवश्यक पनि छ,’ श्रेष्ठले भने, ‘निजी हवाई कम्पनि भएकोले निजी क्षेत्रको भूमिका बढी खोजिएको हो।’  

श्रेष्ठका अनुसार पोखरालाई भारतीय सहरसम्म हवाई माध्यमले जोड्न सके पर्यटन क्षेत्रमा सबैभन्दा बढी लाभ पुग्छ। भारतका कुनैपनि सहरसम्मको सिधा पहुँचले पोखरामा भारतीय पाहुना भित्रिने व्यावसायीको भनाई छ। ‘खास पहल त भारतीय सहरसम्म सिधा उडानको हुनुपर्ने हो। बंगलादेशसम्मको पहल पनि नराम्रो होईन, तर, सबैभन्दा बढी पाहुना भारतीय आउने भएकोले पहिलो प्राथमिकता भारतलाई दिनुपर्छ,’ उनले भने, ‘बंगलादेशसम्म पोखरालाई जोड्न सकियो भने आगमन बढ्नेमा आशंका गर्नैपर्दैैन। किनभने बंगलादेशका पाहुना पोखरा आउन चाहन्छन।’ बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न आउजाउ गर्ने नेपाली विद्यार्थी पर्याप्त हुने र बंगलादेशी पाहुनाको आगमनका कारण पोखरासम्मको सिधा उडान आवश्यक रहेको पनि श्रेष्ठको भनाई छ।  

प्रकाशित: २८ जेष्ठ २०८१ १४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App