गणेश विशु
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला नेपाली कांग्रेस बाँकेले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा बाँकेबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनिवार्यरूपमा सहभागी हुन अपील गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गर्न लागिएकाले सहभागी हुनुपर्ने भन्दै अपील गरेको हो ।
अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोडको रूपमा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन यो विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरिएको छ । अपीलमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको उल्लेख गरिएको छ । यस्तो ऐतिहासिक घडीमा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता औपचारिक उपस्थितिमा सीमित नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्षरूपमा जोडिएको कर्तव्य भएको उक्त अपीलमा ठहर गरिएको छ । सबै प्रतिनिधिले जिम्मेवारी बोध गर्दै सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिइएको छ ।
जिल्ला सभापति नारायणप्रसाद गौडेल र केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीद्वारा संयुक्तरूपमा जारी अपीलमा विशेष महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन बाँके कांग्रेसका प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ । साझा सहभागिताबाट मात्र नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने जनाउँदै लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि विशेष महाधिवेशनमा उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर गम्भीर मतभिन्नता देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशनको औपचारिक आह्वान गरिसकेका छन् । उनीहरूले पार्टीभित्र देखिएका वैचारिक तथा संगठनात्मक समस्याबारे विशेष महाधिवेशनमार्फत निर्णय लिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।
तर संस्थापन पक्षले भने विशेष महाधिवेशनको वैधानिकता र आवश्यकता माथि प्रश्न उठाउँदै आएको छ । संस्थापन पक्षका नेताहरूले नियमित महाधिवेशन नै उपयुक्त विकल्प भएको बताउँदै विशेष महाधिवेशनलाई गुटगत प्रयासको संज्ञा दिएका छन् । उनीहरूले कार्यकर्ता तथा प्रतिनिधिहरूलाई त्यसमा सहभागी नहुनसमेत अपील गरिरहेका छन् ।
यस्तो विवादपूर्ण राजनीतिक वातावरणका बीच बाँके कांग्रेसले विशेष महाधिवेशनमा सहभागी हुन स्पष्ट अपील गरेपछि पार्टीभित्रको मतभिन्नता जिल्ला तहसम्म सतहमा आएको देखिएको छ । विशेष महाधिवेशनले पार्टीभित्र देखिएको विवाद समाधानतर्फ अघि बढ्ने कि अझै जटिलता थप्ने भन्ने विषयलाई लिएर कांग्रेस वृत्तमा चासो बढेको छ ।
प्रकाशित: २४ पुस २०८२ १६:१२ बिहीबार


-600x400.jpg)


