तिलागुफा–३ का नवीन हमालले तीन वर्षअघि फुजी स्याउको बगैंचा विस्तार गरिरहँदा फोई गाउँमा कसैले पत्याएनन्। उनले फोईमा फुजी स्याउको सम्भावना रहेको र स्याउबाट मनग्गे आम्दानी लिन सकिने सुनाउँदै स्याउ रोप्न सुरु गरे । नवीनले अहिले गाउँमै फुजी स्याउको नमुना बगैंचा बनाएर स्याउ उत्पादन गर्न थालेपछि अहिले सबै दंग छन्। अहिले उनको सिको गर्दै गाउँलेहरू पनि स्याउ रोप्न थालेका छन्।
नवीनले फोई महादेवस्थित दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जग्गा लिजमा लिएर फुजी, गाला र गोल्डेन जातका स्याउको ११ हजार बिरुवा रोपेका छन्। उनले विद्यालयलाई वार्षिक दुई लाख ५० हजार भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरीथरीका स्याउ फुलेका छन्। उनले बगैंचामा हालसम्म दुई करोड लगानी गरिसकेका छन्। यो वर्ष मात्र उनले पाँच हजार स्याउका बोटबाट फल उत्पादन गर्ने लक्ष्य राखेका छन्। उनलाई स्याउ जोन जुम्लाले ५० प्रतिशत अनुदान (४२ लाख) सहयोग गरेको छ।
‘स्याउ उत्पादनमा कालिकोटलाई चिनाउनु छ, लगानी अनुसारको उत्पादन लिन तन, मन र धन लगाएर बगैंचा गोडमेल गरिरेका छौं’, नवीनले भने, ‘स्थानीयलाई रोजगारी दिएको छु, बगैंचा घेराबारा लगायतका काममा हालसम्म दुई करोड लगानी गरिसकेको छु।’
यो वर्ष पहिलो फल लिने तयारीमा रहेका हमाल इटालीबाट स्याउका बिरुवा ल्याएर रोपेको बताउँछन्।
तिलागुफाको फोईमा धेरै किसानले स्याउ बगैंचा विस्तारको लागि जिल्ला कृषि विकास कार्यालयबाट अनुदान लगेका छन् तर धेरैले अनुदान सदुपयोग गर्न सकेका छैनन्।
नवीनले चुली कर्णाली एग्रो फार्म दर्ता गरी कृषिक्षेत्रमा लगानी थालेका हुन्। उनी भन्छन्, ‘यो बगैंचा स्थापनाको कामले पूर्णता पाएसँगै आशाका किरण पलाएका छन्।’
हमालले कालीकोट जिल्लामा फुजी स्याउको उत्कृष्ट नमुना बगैंचा स्थापना भएको सन्देश दिएर उद्यमशीलता प्रवद्र्धन गर्न प्रेरित गरिहेका छन्।
हमालको टिप्पणी छ, ‘कालिकोटबाट जितेका माननीयहरूले आफू खुसी योजना छनोट गरिदिने चलन बसाएकाले कृषिमा गरिएको लगानीले अपेक्षा अनुसारको उपलब्धि प्राप्त गर्न कठिन भएको छ।’
कालिकोटमै नमुना बगैंचा स्थापना भएपछि रोजगारी वृद्धि हुँदा स्थानीय खुसी छन्। लगानीकर्ता समेत रहेका नवीनले शिक्षक पेशाबाट कमाएको रकम पनि थपथाप पारेर स्याउ बगैंचा स्थापना गर्न पाउँदा खुसी लागेको बताए।
कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जिल्लाकै नमुना बगैंचा दहचौरमा रहेको बताए। उनका अनुसार यो बगैंचालाई आवश्यक थोपा सिँचाइ र स्याउमा लाग्ने रोग नियन्त्रणको लागि विषादीदेखि अन्य अनुदान सहयोग गर्न पनि तयार रहेको बताए।
बस्नेतले भने, ‘कठिन कालमा बगैंचा स्थापना गरेर स्थानीयलाई रोजगारी दिने काम निकै चुनौतिपूर्ण छ। स्याउ खेतीको संभावना राम्रो छ भन्ने सन्देश पनि यो बगैंचाले दिएको छ।’
प्रमुख बस्नेतका अनुसार प्रदेशबाट दिइने अनुदान आफ्नो मानिसलाई उपलब्ध गराउन जिल्लाबाट जितेर गएका माननीयले दबाब दिने गरेकाले अगुवा किसानले अनुदान पाउन नसकेको बताए। अहिलेको समयमा पनि यस्तो खालको परिपाटी देखिएकाले समस्या थपिएको उनी बताउँछन्।
तिलागुफा –३ का स्थानीय नेत्रबहादुर शाहीका अनुसार हमाल कालिकोट जिल्लाकै नमुना स्याउ बगैंचा बनाउन सफल भएको बताए। बस्नेतले अहिले बाली विज्ञानमा डिप्लोमा उत्तीर्ण जुम्लाकै गजेन्द्र शाहीलाई प्रविधिकको रूपमा राखेको बताए।
प्रकाशित: २१ वैशाख २०८१ ०९:१७ शुक्रबार