२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

केबलकार विस्तारको लहर: ७१ अर्ब लगानी, ६ वटा सञ्चालनमा

पछिल्लो समय मुलुकभर केबलकार निर्माण र विस्तारको लहर चलेको छ। पहिलो पटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा आएको थियो। हाल मनकामनाबाहेक नै पाँच ठाउँमा केबलकार सञ्चालनमा छन्। ती चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक र मौलाकालिका र लुम्बिनी केबलकार हुन्।

त्यस्तै तनहुँमा बन्दीपुर केबलकार निर्माणको अन्तिम चरणमा छ। बन्दीपुर केबलकार प्रालिले तनहुँमा केबलकारसँगै होटल सञ्चालनमा ल्याउन लागेको छ। झन्डै २ अर्ब २५ करोड लागतमा उक्त केबलकार सञ्चालनमा आउने कम्पनीको दाबी छ।

देशका अन्य १२ ठाउँमा केबुलकार निर्माणका लागि अध्ययन भइरहेको छ। तनहुँमा बुढिमा छिन्केश्वरी, कास्कीमा सिक्लेस अन्नपूर्ण, कैलालीमा जाल्पादेवी, ताप्लेजुङमा पाथीभरा, सुदूरपश्चिममा खप्तड, प्युठानमा स्वर्गद्वारी र रसुवामा गोसाइकुण्ड केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को प्रक्रियामा रहेको संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले जनाएको छ ।

त्यस्तै लगानी बोर्डमार्फत पोखरा–पुनहिल–तातोपानी–मुक्तिनाथ केबुलकार र बौद्ध सातदोबाटो केबुलकार निर्माणका लागि पनि अध्ययन भइरहेको छ। बोर्डमार्फत ती दुई केबुलकारको निर्माणको सम्भाव्यता अध्ययन र इआइएलगायत काम भइरहेको छ।

त्यस्तै दोलखामा सैलुङ, संखुवासभामा मकालु र सोलुखुम्बुमा नाम्चे केबलकार निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनलगायत अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ।

हाल रज्जुमार्ग र केबलकारसम्बन्धी सञ्चालन र नियमन संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले हेर्ने गरेको छ। २०७२ सालमा संविधान जारी हुनुअघि भने यसको सञ्चालन र नियमन भौतिक मन्त्रालयले गर्ने गरेको थियो। हाल स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार केबुलकार सञ्चालनबाट प्राप्त हुने कर, नियमन र सञ्चालन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने व्यवस्था छ।

केबलकार सञ्चालनको अनुमति, इजाजत, नवीकरण र अनुगमन पनि सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था छ। संघीय मामिला मन्त्रालयले केबुलकारसम्बन्धी नीति, कार्यविधि, मापदण्ड, जग्गा र इआइए स्वीकृतिमा सहजीकरण गर्ने गरेको छ।

मुलुकमा पर्यटन प्रवर्धनका लागि केबलकारको सम्भावना रहेकाले सातै प्रदेशमा केबलकार बनाउने योजना बनाएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए।

ढकाल अध्यक्ष रहेको आइएमई समूहले केबलकार विस्तारलाई तीव्रता दिएको छ। ‘पर्यटकीय गन्तव्यको विकासमा केबलकारले ठुलो टेवा पु¥याउँछ,’ ढकालले भने, ‘नेपालमा केबलकार निर्माणले तीव्रता पाएको छ।’

अहिलेसम्म निर्माण सम्पन्न भई सञ्चालनमा आएका केबलकारमा निजी क्षेत्रकै लगानी छ। हालसम्म सञ्चालनमा आइसकेका केबलकार निर्माणमा ११ अर्ब ३५ करोड लगानी भइसकेको नेपाल केबलकार संघले जनाएको छ।

देशका विभिन्न १२ स्थानमा केबलकार बनाउन ६० अर्बभन्दा बढी लगानी स्वीकृत भइसकेको उद्योग विभागले जनाएको छ। लगानी भइसकेको र हुने चरणमा गरेर केबलकार क्षेत्रमा हालसम्म ७१ अर्ब रूपैयाँ भन्दा बढी लगानी हुने देखिन्छ। संघका उपाध्यक्ष राजेशबाबु श्रेष्ठ केबलकार निर्माण गर्न ठुलो पुँजी चाहिने बताउँछन्। उनका अनुसार एउटा केबलकार निर्माण गर्न कम्तीमा ४ देखि ५ अर्ब लगानी लाग्छ।  

प्रकाशित: १० वैशाख २०८१ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App