कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा आजदेखि चौथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। प्रतियोगिता संयोजक लोक गुरुङका अनुसार ८, ९, १०, १२, १४ र १६ वर्षमुनिका छात्र र छात्राले एकल र डबल्स गरी १४ विधामा प्रतिस्पर्धा गर्नेछन्। एकलतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार ५०० रुपैयाँसहित मेडल पाउनेछन्। छात्र र छात्रा ओपन डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन्।
१४ वर्षमुनि एकलतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित मेडल पाउनेछन्। १२ वर्षमुनि एकलतर्फ विजेताले ८ हजार र उपविजेताले ४ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन्। प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति–नातिनीको नाममा मुख्य प्रायोजन गरेका छन्। प्रतियोगिता निर्देशक कुमार अधिकारीका अनुसार पोखरा, काठमाडौँ, चितवन र बुटवलका खेलाडीले भाग लिनेछन्।
पत्रकार सम्मेलनमा सङ्घ कास्कीका सदस्य प्रिति बराल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिताबारे आफ्नो धारणा राखेका थिए। रासस
प्रकाशित: ३ वैशाख २०८२ ०६:३६ बुधबार





