१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

५० लाख ऋण लिनैका लागि निकिता सहकारी उपाध्यक्ष

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले ५० लाख रूपैयाँ ऋण लिन मात्र सहकारीको उपाध्यक्ष भएको तथ्य फेला परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने न्युज २४ टेलिभिजनमा काम गर्र्दा ‘पारिवारिक व्यवहार मिलाउन’ भन्दै साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंमा उपाध्यक्ष बनेर निकिताले कानुनविपरीत ऋण लिएको तथ्य फेला परेको हो।

सहकारीका सञ्चालकले ऋण लिन नपाइने कानुनी व्यवस्था भए पनि लामिछानेले २०७५ सालमा निकितालाई सहकारीको उपाध्यक्ष बनाएर कानुनविपरीत धितोसमेत नराखी पति र पत्नीका नामबाट २५–२५ लाख रूपैयाँ ऋण लिएका हुन्। सहकारीबाट लिएको ऋण लामिछाने दम्पतीले तिरिसकेको छ। लामिछानेकै आग्रहमा निकितालाई सहकारी उपाध्यक्ष बनाएर ५० लाख ऋण दिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष भरतमणि जंगमले पुष्टि गरे।

२०७५ सालमा न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाउँदा रविसँग आफ्नो मित्रता भएको जंगमले बताए। सहकारीमा पैसा नभएपछि आफूले ५० लाख रूपैयाँ जम्मा गरेपछि लामिछाने दम्पतीलाई बिनाधितो २५–२५ लाख रूपैयाँ ऋण दिएको उनले बताए।

‘रविले पैसा चाहियो भनेपछि सहकारीमा निकिता उपाध्यक्ष बनेर ऋण लगेका हुन्,’ जंगमले भने, ‘५० लाख रूपैयाँ लैजान रवि र निकिता दुवैले करिब चार/पाँच हजार रूपैयाँबराबरबरको मात्र सेयर हालेका थिए।’

एउटै टेलिभिजनमा काम गर्ने रविका दाइ हरिशरण लामिछाने र निकिताका बाबुसँग पनि आफ्नो राम्रो चिनजान र सम्बन्धका आधारमा ऋण दिएको अध्यक्ष जंगमले बताए।

कानुनबमोजिम धितो नराखी सहकारीकै सञ्चालकले ऋण लिन नपाइने व्यवस्थामा किन ख्याल नगरेको भन्ने प्रश्नमा जंगमले भने, ‘व्यावहारिक पक्ष हेरेर सञ्चालकले ऋण लिन नपाइने कानुनी व्यवस्थालाई त्यति ख्याल गरिएनछ।’

सहकारीबाट लगेको ऋण लामिछाने दम्पतीले तिरिसकेको उनले बताए। निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि गत माघमा सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको थियो। साई स्वागत सहकारीबाट तत्कालीन उपाध्यक्ष निकिता र अध्यक्ष जंगम सहकारीबाट बाहिरिइसकेका छन्। सहकारीबाट कानुनविपरीत लिएको ५० लाख रूपैयाँ ऋण तिरेपछि निकिताले २०७७ असोज ८ गते राजीनामा दिएकी थिइन्।

काठमाडौं महागरपालिकाले उक्त सहकारीमा छापा हानेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि सेयर सदस्य रहेकी निकिताले नागरिक दैनिकलगायत सञ्चारमाध्यमविरुद्ध मुद्दा दायर गरेकी छन्। ‘आफूले ऋण तिरिसकेपछि पनि सञ्चारमाध्यमले ठग करार गर्ने गरी फोटो छापेर हेडलाइन बनाउने शिक्षा पत्रकारिताको कुन किताबको कुन पृष्ठमा छ ?’ भन्दै सामाजिक सञ्जालमार्फत उनले प्रश्नसमेत गरेकी थिइन्।

जंगम सहकारीबाट बाहिरिएपछि एक गिरोहले मासिक १५ हजार रूपैयाँ दिने प्रलोभन देखाएर सामान्य महिला निमकुमारी छन्त्याललाई सो सहकारीको अध्यक्ष बनाएको थियो। सहकारी समस्यामा परेपछि छन्त्याललाई अध्यक्ष बनाइएको थियो। ती महिला पनि अहिले सहकारीका आफू अध्यक्ष नभएको बताउँछिन्। ‘यो विषयमा म अहिले बोल्ने मुडमा छैन,’ छन्त्यालले भनिन्, ‘केही समयमा विस्तृत कुरा बाहिर ल्याउँछु।’

सत्कर्म गर्ने उद्देश्यले सहकारीको अध्यक्ष बन्दा आफूले राखेको ५० लाख रूपैयाँ पनि डुबेर पीडित भएको जंगमले बताए। ब्याजसहित सहकारीबाट ८० लाख रूपैयाँ आफूले पाउनुपर्ने जंगम बताउँछन्। ‘सहकारीबाट मैले ८० लाख रूपैयाँ लिनु छ,’ जंगमले भने, ‘एक गिरोहले सहकारी डुबायो। सत्कर्म गर्न खोज्दा आफ्नो पैसा पनि डुब्यो।’

जंगम भ्रष्टाचारविरुद्धका अभियन्ता हुन्। रामहरि अधिकारी नाम गरेका व्यक्तिको आग्रहमा आफू उक्त सहकारीमा प्रवेश गरेको उनले बताए। लेखा समिति संयोजक अधिकारी, सचिव शंकर खनाल र लेखापाल निशा थापा सहकारीका हर्ताकर्ता भएको उनी बताउँछन्। उक्त समूहले सहकारीको निक्षेप दुरूपयोग गरेको जंगमको दाबी छ।

भ्रष्टाचारविरुद्धको अभियानमा लागेका जंगम भगवान्को नाम जोडिएकाले पनि आफू भावनात्मक रूपमा प्रभावित भएर सहकारीको अध्यक्ष बनेको बताउँछन्। ‘साई स्वागत भगवान्को नाम भएकाले र म धार्मिक मान्छे भएकाले भावनाले पनि जित्यो,’ उनले भने, ‘बदमास गिरोहको चंगुलमा परिएछ।’

सहकारीका तत्कालीन लेखा समिति संयोजक र सचिवले सहकारी डुबाएको उनी बताउँछन्। सचिव दाहालले सहकारीको मासिक ४० हजार तलब लिने गरी प्रबन्धक भएर पनि काम गरेका थिए। लेखा समिति संयोजक अधिकारी र सचिव दाहालले बदमासी गरेपछि जंगमले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पनि उजुरी गरेका थिए। ‘सहकारीको रकम हिनामिना गरेको थाहा पाएपछि सिआइबीमा निवेदन दिएँ,’ उनले भने, ‘सहकारीको सबै आर्थिक हिसाबकिताबको जिम्मा संयोजक अधिकारी र सचिव दाहालले जिम्मा लिने सम्झौता गरेपछि सहकारीबाट बाहिरिएको हुँ।’

साक्षी जनक गौतमलाई राखेको उनले बताए। जंगम प्रवेश गर्दा २०७५ सालमा सहकारीमा करिब १ करोड रूपैयाँ थियो। उनले करिब ५० लाख रूपैयाँ राखेपछि सबैको विश्वास आर्जन गरेर करिब ४ करोड रूपैयाँ पुगेको थियो।

साई स्वागत सहकारी डुबाएका रामहरिसहितको समूहले सहकारीका तत्कालीन अध्यक्ष जंगमको हस्ताक्षर किर्ते गरेर ९५ लाख अन्तरसहकारी कर्जा लिएका थिए। त्यसविरुद्ध जंगमले मुद्दा दायर गरेका थिए। निक्षेपकर्ताले रकम नपाएको गुनासो गर्दै गत असारमा महानगरमा उजुरी परेपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागले अघिल्लो बुधबार छापा मारेको थियो।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले रकम नपाएको भन्दै उजुरी परेकाले त्यहाँको कागजात नियन्त्रणमा लिइएको काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताए। सहकारी संस्थामा रकम हिनामिना भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गरेर लेखा समिति संयोजक अधिकारी लगायतविरुद्ध मुद्दा दायर गरेको थियो। 

प्रकाशित: ३० चैत्र २०८० ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App