५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

गुल्मीमा चैते धान : घट्दै राेपाइँ

असार र साउनलाई धान रोप्ने महिना भनेर चिनिन्छ। ‘मानो रोपेर मुरी फलाउने’ भनाइले असार र साउनलाई इंगित गरे पनि माघ र चैतमा समेत धान रोप्ने गरिन्छ।

देशभर ९२ प्रतिशत धान रोपाइँ असार र साउनमै सकिने भए पनि सात प्रतिशत धान रोपाइँ चैतमा हुने गर्दछ। सिँचाइ सुविधा भएका खेतहरुमा चैते र बर्खे गरी दुई पटक धान रोप्ने गरिन्छ। एक प्रतिशत धान रोपाइँ माघमा गर्ने गरिएको छ।

गुल्मीका विभिन्न फाँटमा किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ। असारमा पाकेको धान भित्र्याएर पुनः बर्खे धान रोप्ने परम्परा जिल्लामा विगतदेखि चलिआएको छ।

मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिर्सेनीको अग्लुङफेदी, पनाहाखोला र छल्दीको आसपासका क्षेत्र, चौरासीफाँट, हुलाके, घोडाहाफाँट, टारीफाँट, खर्जाङ, बोआफाँट, टाहाटिम, घिउबेसी, छम्दी, आसापासका क्षेत्र, अर्बेनी, कनौटा, छापचौर, लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, मजुवा, रुपाकोट, शान्तिपुर तल्लाफाँट इन्द्रेगौंडा, भुवाचिदी, वामीटक्सार, पौदी, अरेवा, भर्माचौरलगायत बडिघाट खोला आसपासका क्षेत्रमा चैते धान खेती हुँदै आएको छ।

चैत महिना सुरु भएलगत्तै चैते धान रोप्ने खेतका किसान बाली लगाउँदै, हिलो खेल्दै धान रोप्नमै व्यस्त भेटिन्छन्। चैतको पहिलो सातादेखि रोप्न सुरु गरिएको धान यो महिनाभर रोप्ने परिपाटी छ। यहाँका किसानले चैते र बर्खे गरी वर्षमा दुईपटक धान खेती गर्दै आएका छन्।

घट्दै चैते धान रोप्ने खेत

पछिल्लो तीन वर्षयता गुल्मीमा चैते धान रोपाइँको क्षेत्रफल घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ। सिँचाइ अभाव, काम गर्ने खेतलाको कमी, बढ्दो बसाइँसराइ, जंगली जनावरको त्रासलगायतका कारण चैते धान रोप्ने प्रचलनमा कमी आएको देखिन्छ। यी कारणले बर्सेनि रोपाइँको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए।

आर्थिक वर्ष ०७७-०७८ मा ३ सय ५२ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको थियो भने आर्थिक वर्ष ०७८-०७९ मा ३ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। यस्तै गत आव ०७९/८० मा आइपुग्दा चैते रोपाइँ क्षेत्रफल घटेर ३ सय ४१ हेक्टरमा सीमित भयो।

यस वर्ष ३ सय १९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ। जलवायु परिवर्तनले हिउँदमा वर्षा कम हुने भएकाले चैते धान रोपाइँ गर्न थप समस्या बढ्दै गएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ।

गुल्मी जिल्लामा हाल हिउँदे र बर्खे धान खेती हुने क्षेत्रफलमध्ये ३ हजार ६२६ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइको व्यवस्था छ। ६ हजार ६९० हेक्टर क्षेत्रफलमा आंशिंक सिँचाइको व्यवस्था रहेको छ।

जिल्लाका सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ। हिउँदमा वर्षा नभएकाले चैते धान खेती र उत्पादनमा कमी हुँदै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८० ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App