१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

घर-आँगनमै सिप सिक्दै गाउँले युवा

स्थानीय परिकार अवलोकन गर्दै तालिमका सहभागीहरू। तस्बिर: गोल्डेन बुढा/नागरिक

जुम्लाको तातोपानी गाउँपालिका –१ राका गाउँका २१ वर्षीय लाले कामी कक्षा १२ मा  पढ्दैछन्। कुकको काममा रुचि भएका उनी यो काम सिक्न जिल्ला बाहिर जाने तयारी गर्दै थिए तर सदरमुकाम खलंगामै त्यस्तो तालिम सञ्चालन भएपछि उनी खुसी छन्।

‘मलाई होटलमा कुकको क्षेत्रमै काम गर्ने रुचि थियो,’ उनले भने, ‘काम सिक्न राजधानी /जिल्ला बाहिर जाने तयारी गरिरहेको थिएँ, अहिले जुम्लाको सदरमुकाम खलंगामै निःशुल्क सिक्न पाउँदा खुसी छु।’

सोही गाउँका ३० वर्षीय छविलाल नेपाली गाउँमै सानो होटल चलाउँछन्। उनलाई राम्रोसँग होटल व्यवसाय गर्न कुक काम गर्ने इच्छा थियो। ‘होटलको आम्दानीले मात्र घर चलाउन गाह्रो हुँदै गएको छ,’ उनले भने, ‘मलाई नयाँ सिप सिक्ने इच्छा थियो, अहिले कुक सम्बन्धी काममा निकै अवसर पनि छन्, खलंगामै तालिम लिन पाउँदा मलाई ढुंगो खोज्दा देउता मिलेजस्तै भएको छ।’

लाले र छविलालले जस्तै अन्य आठ जना युवतीहरू पनि जुम्लाको सदरमुकाम खलंगामा सुरु भएको दुई सय ४० घण्टे कुकिङ सम्बन्धी सिप विकास तालिममा सहभागी भएर आफ्नो भविष्य खोज्दै छन्।

यस्तै जुम्लाको तिला गाउँपालिका – ६ कि राइकोसा रोकाया र तिला – २ कि कृष्णकली बुढाले पनि कुकिङ सम्बन्धी सीप विकास तालिम सिकिरहेकी छिन्। तालिममा फापर केक चिजरोल, आलुरोटी र आलुचप लगायत स्थानीय परिकार बनाउन सिकिरहेका छन्।

उनीहरूलाई सिप सिकाउने काम भने जुम्लाको तातोपानी गाउँपालिकाको समन्वयमा वल्डभिजन इन्टरनेसनल जुम्लाले गरेको हो। उनीहरूलाई सिप प्रशिक्षण भने जुम्लाको गुठिचौर गाउँपालिका–३ का चित्रबहादुर बुढाले गरिरहेका छन्।

बुढा कुबेत, बहराइन, कतार र दुबई लगायत विदेशका पाँचतारे होटलमा हेल्पर हुँदै कुकसम्म काम गरेको अनुभव छ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले ग्रामीण भेगका बेरोजगार युवायुवतीलाई लक्षित गरी सञ्चालित तालिमले गाउँमै आत्मनिर्भर हुने अवसर जुटाउने र उनीहरू वैदेशिक रोजगारीका लागि जानुपर्ने बाध्यताको पनि अन्त्य हुने बताए।

सिपमूलक तालिमबाट स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको बताए। ‘जुम्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय परिकारको स्वाद चखाउने, यहाँका स्थानीयलाई आत्मनिर्भर बनाउने र समग्र जुम्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्य तालिमले लिएको छ।

जुम्लामा आउने पर्यटकसँग राम्रो बोल्न र सभ्य व्यवहार गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ। आन्तरिक तथा बाह्य पर्यटक आउँदा अरूलाई पनि एक पटक जुम्ला जानै पर्ने ठाउँ रहेछ भन्ने सन्देश दिनुपर्नेमा उनको जोड छ।  

प्रकाशित: २७ फाल्गुन २०८० ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App