१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्ला विमानस्थल विस्तार : जग्गा मिल्ने कहिलेकहिले, बजेट निकासा अहिले

जग्गा उपलब्ध नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउनका लागि बजेट आएपछि कार्यान्वयनमा समस्या देखिएको छ।

रनवे बढाउन भन्दै गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको थियो, तर रनवे बढाउन जग्गा उपलब्ध नभएकाले बजेट कार्यान्वयन गर्न चुनौती देखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। उनले भने, ‘रनवे बढाउन बजेट आएको छ। रन वे बढाउन मिल्ने जग्गा छैन। बजेट खर्च गर्न सकिने अवस्था छैन। जग्गा प्राप्त भएपछि मात्र बजेट कार्यान्वयन गर्न सकिने देखिन्छ।’

जुम्ला विमानस्थल विस्तारका लागि १८ हजार ३ सय ८० रोपनी जग्गा चाहिएको छ, तर अहिलेसम्म जग्गा प्राप्त भइसकेको छैन। प्रमुख अधिकारीले भने, ‘जग्गा मुआब्जाका लागि बजेट आउन नसकेकाले प्रक्रिया अघि बढ्न सकेको छैन।’

जग्गा मुआब्जा र रनवे विस्तारका लागि ५० करोडभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको छ। त्यसअनुसार बजेट यकिन गरेर सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको नागरिक उड्ययन कार्यालय जुम्लाले जनाएको छ।

रनवे विस्तारका लागि आएको बजेट खर्च गर्न नसकिने अवस्था देखिएपछि प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बैठक बसेर विमानस्थल विस्तार गर्न आवश्यक जग्गा मुआब्जाका लागि चाहिने रकम यकिन गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको छ।

जबसम्म मुआब्जा र विमानस्थल विस्तारका लागि पर्याप्त बजेट आउँदैन, तबसम्म विमानस्थल विस्तार कार्य अघि बढ्न सक्दैन। बैठकले रनवे तथा एप्रोन विस्तारका लागि विनियोजित रकम प्राप्त नहुँदासम्म प्रयोगमा नआउने भएकाले यो रकम जग्गा मुआब्जा प्रयोगमा ल्याउन खर्च हुने गरेर निर्णय गर्न आग्रह गरेको छ।

साथै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला उडान हुन नसकेको र फागुन १४ गते दशकपछि सरकारी जहाजले पहिलो उडान भरेकाले उडान नियमित गर्न आग्रह गर्ने पनि निर्णय भएको छ।

जग्गा मुआब्जा नभईकन रनवे विस्तारका लागि वकालत गरिरहेको भन्दै जुम्लाबासीले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले तत्काल जग्गा प्राप्त गरेपछि रनवे बढाएर ठुला जहाज बसाल्न मिल्ने गरी प्रक्रिया थाल्नसमेत माग गरेका छन्। जुम्ला विमानस्थलमा फयुल सेन्टर स्थापना गरी आन्तरिक उडान सञ्चालनका लागि पहल गर्न आग्रहसमेत गरेका छन्।

 बैठकमा चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी घिमिरे, नागरिक समाजका राजबहादुर महत, जिल्लास्थित सुरक्षा प्रमुख, वडाध्यक्ष, नापी र मालपोत कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रकाशित: १९ फाल्गुन २०८० ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App