१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राति १२ बजेसम्म होटल सञ्चालन गर्न पाइने

विराटनगरमा राती १२ बजेसम्म होटल सञ्चालन गर्न पाइने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार विराटनगरमा आयोजित सरोकारवालासँगको छलफलले विराटनगरमा राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो।

विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले बताए। व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए।

व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो।

बैठकले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने छ। मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्ने छ।

व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रीकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनका प्रशासन सधैं सकारात्मक रहेको स्पष्ट पारे।

‘कानुनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु’ भट्टराईले भने। प्रजिअ भट्टराईले कानुनले वर्जित गरेको भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने स्पष्ट पारे । सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको प्रतिबद्धता थियो। भट्टराईले होटल परिसर र बाहिर सिसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरे।

त्यस्तै ध्वनि प्रदूषण हुन नदिन प्रविधि प्रयोग गरेर कोठाभित्रको आवाज बाहिर नजाने पनि बनाउन सकिने भन्दै भट्टराईले त्यसतर्फ ध्यान दिन व्यवसायलाई आग्रह गरे।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको  बताइन्। कोरोना महामारीपछि होटल व्यवसाय धराशयी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए। हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीको गुनासो छ।

राज्यले व्यवसायमैत्री वातावरण नबनाए पासपोर्ट बोकेर विदेश जानुको विकल्प नभएको दुखेसो पोखेका थिए। बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ,  विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रीकालीन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिनालगायतको सहभागिता थियो।

प्रकाशित: १७ फाल्गुन २०८० १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App