२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन

भक्तपुरमा मन्दिर पुनःनिर्माणको काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन भएको छ। भक्तपुर–५ भीमसेनस्थानमा अवस्थित कुथुसुब्या दुगुद्यो (कुल देवता) मन्दिर पुनःनिर्माणको बुधबार गरिएको शिलान्यास कार्यक्रममा मन्दिर पुननिर्माणका लागि ४१ लाख ५९ हजार सात सय चन्दा संकलन भएको हो।

मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका कोषाध्क्ष न्हुछेरत्न खाइतूले दुगुद्यो मन्दिर पुनःनिर्माणको लागि हालसम्म सहयोग आउने क्रम अझै जारी रहेको जानकारी गराए। ‘मन्दिर पुनः निर्माणका लागि वडाले पनि दुई लाख छुटाएको थियो,’ उनले भने, ‘दाताको चन्दाबाट नै पुग्ने भएकाले हामीले वडाको रकम नलिने कुरा गरेका छौं।’

उनका अनुसार मन्दिर पुनःनिर्माणका लागि कुल ४४ लाखको लागत अनुमान रहेको छ। मन्दिर पुननिर्माणका लागि प्राप्त भएको चन्दा रकमको एकएक चन्दादाताको नामसहित हिसावकितावको रकम (आम्दानी र खर्च) पछि स्मारिका प्रकाशन गरी सार्वजनिक गर्ने प्रतिबद्धता उनले जाहेर गरे।

यसअघि, मन्दिर पुनःनिर्माणका लागि विष्णु मारिखुको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो।

केही हप्ताअघि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी) झिकेर मन्दिर भत्काउन सुरु भएकी थिइन्। मन्दिर भीमसेनस्थाको भीमसेन मन्दिरको पश्चिम भोज खुवाउने स्थलको बीचमा रहेको छ। मन्दिर एकतले मात्रै थियो।

मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो। मन्दिरको उतरक्षेत्रमा जग भासिन गई असन्तुलनमा गएको थियो। साथै माथि छानामा पनि सबै झिंगटीहरू झरेर विग्रिसकेको थियो। साथसाथै पुरानो मन्दिर सबैतिर जीर्ण जस्तै भइसकेको थियो। मन्दिर पूर्णरूपमा ध्वस्त भने भएको छैन। तथापि पहिलो चरणमा मन्दिर भत्काउने काम भएर बुधबार जग शिलान्यास गरिएको थियो।

भक्तपुर नगरपालिका वडा नं ५ र ७ को सिमानाका रूपमा रहेको मन्दिर पुनःनिर्माण शिलान्यास कार्यक्रममा वडा नं ५ का अध्यक्ष योगेन्द्रमान बिजुक्छे, ७ का अध्यक्ष उकेश कवां, उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवां, नारायणप्रसाद तमखु, गायक योगेश्वर अमात्यलगातले मन्दिर महत्वबारे चर्चा गरेका थिए।

इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यो मन्दिर ३२३ वर्ष रहेको देखिएको छ। तत्कालीन भक्तपुरका मल्ल राजा भूपतिन्द्र मल्लबाट अनुमति लिई काठमाडौंका राजाको राजाले बनाएको उनले जनाए। मन्दिर भत्काउने क्रममा जगमा भेटिएको पुराना मुद्राहरूबाट यो तथ्य फेला परेको उनको भनाइ थियो।

प्राचीनकालदेखि ऐतिहासिक मानिएको यो मन्दिर स्थानीयका कुल देवता (दुगुद्यः) हो। यहाँं भक्तपुर घर भई काठमाडौंमा बसोवास गर्न गएकाहरू पनि थुप्रो संख्यामा वर्षमा एकपटक कुल पूजाका लागि आउने गर्छन्। मन्दिरको पुननिर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App