७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन सडक: सर्वत्र दवावपछि बिस्तारले गति लिँदै

पोखरा–मुग्लिन सडकको कालोपत्रे भएको तनहुँखण्ड। तस्बिर सौजन्यः आयोजना

समय घर्किनै लाग्दा पनि सोचेजस्तो प्रगति नभएको भन्दै पोखरा–मुग्लिन सडक खण्डको बिस्तारमा भएको भौतिक प्रगतिप्रति अधिक आलोचना हुने गरेको छ। पर्यटकीय सहर पोखरा भित्रिने मुख्य राजमार्ग भएकोले पनि यो खण्डमा धेरैको ध्यान जाने गरेको छ।

राजमार्ग बिस्तारमा ढिलाई हुँदै गर्दा र भताभुंग सडकमा लामो समय लगाएर यात्रा गर्नुपर्दा असहज भएको गुनासो सर्वत्र छ। राजमार्ग बिस्तारमा भएको ढिलासुस्तीप्रति बेलाबेला सरकारी निकायबाटै पनि खबरदारी हुने गरेको छ। केही साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्र्रकाश ज्वालाले समेत सडक बिस्तारको अवस्थाबारे जानकारी लिँदै काममा गति दिन भनेका थिए। पोखराका पर्यटन व्यावसायीले त राजमार्गको समस्याले पर्यटन क्षेत्र नै प्रभावित भएको बताएका छन।

सर्वत्र दवावमा पछिल्लो समय राजमार्ग बिस्तारले केही लिएको छ। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सडक अहिले दुइखण्डमा बाँडेर बिस्तार भईरहेको छ । पूर्विखण्ड (आँबुखैरेनी–जामुने ४१ किलोमिटर) र पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पर्छ। पश्चिमको तुलनामा पूर्वी खण्डको काम धेरै नै भएको छ। पूर्वी खण्डमा अहिलेसम्म करिब ४६ प्रतिशत भौतिक प्रगति भएको त्यस खण्डका प्राविधिकले बताएका छन।

पोखरा–मुग्लिनको पूर्वी खण्डका सूचना अधिकारी विष्णु पाण्डेका अनुसार पूर्वी खण्डमा अहिलेसम्म ४६ प्रतिशत काम पुरा भएको छ। यो खण्डमा अहिलेसम्म सबैगरि २ लेनको करिब ३० किलोमिटर सडक कालोपत्रे भईसकेको पाण्डेले बताए। 

‘३० किलोमिटर सबै एकै खण्डमा भएको होइन । कतिपय खण्डमा दोहोरो कालोपत्रे छ। कतिपयमा भने एकतर्फी मात्र छ,’ उनले भने। उनका अनुसार यो आर्थिक वर्षभित्र पूर्वी खण्डमा धेरै नै काम भईसक्नेछ। उनका अनुसार तोकिएको समयमा काम पुरा हुने अवस्था नरहेपनि पछिल्लो समय गति भने बढेको छ।  

राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। पूर्वि खण्डको जिम्मा लिएको कम्पनिले तोकिएको समयमा सडक बिस्तार नसकिने भन्दै म्याद थपका लागि पत्राचार गरिसकेको छ। पूर्वी खण्डमा कम्तिमा ६ महिना समय थप्नका लागि गृहकार्य भईरहेको आयोजनाले बताएको छ। 

 पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौता अनुसार तीनवर्षभित्र काम सकिनुपर्ने भएपनि तोकिएका समयमा काम किने सम्भावना नरहेको उनले बताए। सम्झौता अनुसार सन् २०२४ अप्रिलसम्म पूर्वीखण्ड र २०२४ अगष्टसम्म पश्चिमखण्ड सकिनुपर्ने हुन्छ । पूर्वी खण्डमा पर्ने तनहुँको दमौलीका ७० वटा घर भत्काउने तयारी रहेको पनि उनले बताए।  

पूर्वको तुलनामा पश्चिम खण्डमा बढी आलोचना थियो। पश्चिम खण्डमा भने बल्ल कालोपत्रे सुरु भएको छ। पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी नारायण पौडेलका अनुसार अहिलेसम्म बढीमा एक किलोमिटर दूरीमा मात्र कालोपत्रे भएको छ। फेब्रुअरी भित्र पाँचकिलोमिटर कालोपत्रे भईसक्ने गरि ठेकेदार कम्पनिले काम गरिरहेको उनले बताए।  

‘फेब्रुअरीभित्र कम्तिमा पाँचकिलोमिटर काम हुनेछ। त्यही अनुसार तयारी छ,’ पौडेलले भने, ‘थप कालोपत्रेका लागि आधार तयार पनि भईरहेको छ। कालोपत्रे गर्न बाँकी हो। त्यो पनि तत्कालै हुनेछ।’ उनका अनुसार आगामि असार महिनासम्म पश्चिमको तनहुँ खण्डको २० किलोमिटर सडक पुरा गर्ने लक्ष्य छ। ‘पाँच–पाँच किलोमिटरका दरले कालोपत्रे गर्ने लक्ष्य हो,’ उनले भने।  

एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।  

उनका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइरसम्म पनि यसैमा बनाइने आयोजनाले बताएको छ । डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।  

अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जिर्ण भएको थियो। राजमार्गका ठाउँठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।  

प्रकाशित: २९ माघ २०८० १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App