२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सात महिनामा ३९ प्रतिशत मात्रै राजश्व संकलन

सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न चुकेको छ। सरकारले चालु आर्थिक वर्षको सात महिना बित्न एक दिन मात्रै बाँकी रहँदा लक्ष्यको ३९.४५ प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ राजश्व संकलन गरेको हो।

चालु आर्थिक वर्षको सात महिना सकिँदासम्म राजश्वको लक्ष्य र संकलनबीच ठूलो खाडल देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ। तर, चालु आवको हालसम्मको अवधिमा सरकारले पर्याप्त मात्रामा राजश्व संकलन गर्नबाट चुकेको छ।

सरकारले चालु आर्थिक वर्षमा कर राजश्वतर्फ १३ खर्ब ५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, माघ २८ गतेसम्मको अवधिमा भने कर राजश्वतर्फ लक्ष्यको ३८.६७ प्रतिशत अर्थात ५ खर्ब ४ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। सरकारले चालु आर्थिक वर्षमा गैर कर राजश्वतर्फ एक खर्ब १७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो।

तर, हालसम्मको अवधिमा भने ४८.०८ प्रतिशत अर्थात् ५६ अर्ब २८ करोड रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ४९ अर्ब ९४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर, चालु आवको सात महिना बित्न एक दिन अघि भने २ अर्ब ७५ करोड रुपैयाँ मात्रै संकलन गरेको छ।

सरकारले चालु आर्थिक वर्षको सात महिना बित्न एक दिन मात्रै बाँकी रहँदा कुल लक्ष्यको ३८.४१ प्रतिशत अर्थात  ६ खर्ब ७२ अर्ब रुपैयाँ खर्च गरेको छ। सरकारले चालु आवको सात महिना सकिन एक दिनमात्रै बाँकी रहँदा चालु खर्चतर्फ ५ खर्ब १ अर्ब रुपैयाँ खर्च गरेको छ। सरकारले हालसम्म चालु खर्चतर्फ ४३.९ प्रतिशत खर्च गरेको छ। 

सरकारले चालु आर्थिक वर्षको सात महिना बित्नै लागेको बेला पुँजीगत खर्च भने १९.६८ प्रतिशत अर्थात ५९ अर्ब ४४ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापनतर्फ भने तीन खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेकोमा सो अवधिमा एक खर्ब ११ अर्ब रुपैयाँ अर्थात ३६.४२ प्रतिशत खर्च गरेको छ।

प्रकाशित: २८ माघ २०८० १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App