२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक

त्रियुगा नगरपालिका कार्यालय। तस्बिरः नागरिक

उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्। आर्थिक वर्षको ६ महिना अवधिमा नगरपालिकाहरूको खर्च प्रतिशत नाजुक छ।

पुस मसान्तसम्म यहाँका ४ नगरपालिकाको पुँजीगत खर्च समग्रमा १२.६२ प्रतिशत मात्र गर्न सकेका छन्। पुँजीगत र चालु दुवै गरी अर्धवार्षिक समग्र खर्च भने एकतिहाइ बढी अर्थात् ३५.१६ प्रतिशत गरेका छन्।  

उदयुरमा सदरमुकाम त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाले गाउँपालिकाहरूभन्दा कम खर्च गरेका छन्। नगरपालिकाको दाँजोमा उदयपुरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङ चारवटा गाउँपालिकाको खर्च प्रतिशत केही सन्तोषजनक रहेको छ।

नगरपालिकातर्फ सबभन्दा धेरै खर्च कटारीले गरेको छ भने सबभन्दा कम खर्च गर्नेमा बेलका रहेको छ। कटारीले पुस मसान्तसम्ममा पुँजीगत बजेट १३.७४ प्रतिशत खर्च गरेको छ भने चालुतर्फ उत्साहजनक खर्च गरेको छ।

कटारीको चालु वर्षको पुँजीगततर्फ विनियोजित २१ करोड ६३ लाख ८५ हजार स्वीकृत बजेटमध्ये मसान्तसम्म २ करोड ९७ लाख ९५ हजार ६ सय ७७ रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए।

चालुतर्फ विनियोजित ६२ करोड २२ लाख ९३ हजार ५ सयको अनुमानितमध्ये पुस मसान्तसम्म २४ करोड ३५ लाख ५८ हजार ३ सय ५४ रुपैयाँ अर्थात ३९ प्रतिशत खर्च भएको अधिकृत भट्टराईले बताए।  

लेखा अधिकृत माधव जोशीका अनुसार कटारीको चालु वर्षको कुल अनुमानित बजेट ८३ करोड ८६ लाख ७८ हजार ५ सय रुपैयाँ हो, जसमध्ये हालसम्म ३७ करोड १३ लाख ५० हजार ७ सय ६ रुपैयाँ खर्च भईसकेको छ। जुन खर्च हिस्सा कुल बजेटको ४४.४९ प्रतिशत रहेको अधिकृत जोशीले बताए।  

उता दोस्रो ठूलो बजेट हिस्सा खर्च गर्ने चौदण्डीगढी नगरपालिकाले पुस मसान्तसम्म चालु र पुँजीगत गरी समग्रमा २९.८५ प्रतिशत पुर्‍याएको छ। प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले चालुवर्ष विनियोजित अनुमानित बजेट ७७ करोड ६८ लाख १७ हजार ७ सय ९५ रुपैयाँमध्ये पुस मसान्तसम्म २६ करोड २९ लाख २७ हजार ४ सय ५१ रुपैयाँ खर्च भएको बताए।  

लेखापाल अमर थापा मगरका अनुसार ६ महिनाको अवधिमा चौदण्डीगढीले पुँजीगततर्फ २१.३५ प्रतिशत र चालुतर्पm ३८.३५ प्रतिशत खर्च गरेको छ। चालु वर्ष नगरपालिकाले पुँजीगततर्फ २० करोड ६० लाख २१ हजार ५ सय २३ रुपैयाँ विनियोजन गरेकोमा पुससम्म ४ करोड ४० लाख ५ हजार ३ सय ८२ रुपैयाँ खर्च गरेको छ।

त्यसैगरी चालुतर्फ विनियोजित ५७ करोड ६ लाख ९६ हजार २ सय ७२ मध्ये २१ करोड ८९ लाख २२ हजार ६८ रूपैयाँ खर्च गरेको लेखापाल मगरले बताए।

सदरमुकाम तथा क्षेत्रफल र जनसंख्याको दृष्टिकोणले जिल्लाको सबभन्दा ठूलो नगरपालिका त्रियुगाकै खर्च पनि निराशाजनक छ। चालु वर्षको ६ महिना अवधिमा त्रियुगा समग्र बजेटको २०.१३ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ। पुस मसान्तसम्ममा त्रियुगाले पुँजीगततर्फ १०.३१ प्रतिशत र चालुतर्पm २६.८३ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए।

उनका अनुसार त्रियुगाको चालु वर्षको कुल अनुमानित बजेट १ अर्ब ५० करोड ३४ लाख ८ हजारमध्ये पुस ६ महिनामा ३० करोड २६ लाख ७८ हजार रुपैयाँ खर्च भएको हाकिम सिग्देलले बताए।

त्रियुगाको पुँजीगतर्फ विनियोजित ६० करोड ९८ लाख ८६ हजारमध्ये ६ करोड २८ लाख ९८ हजार मात्र खर्च भएको लेखापाल बाबुराजा प्रजापतिले बताएका छन्। उनका अनुसार चालुतर्फ विनियोजित ८९ करोड ३५ लाख २५ हजारमध्ये २३ करोड ९७ लाख ८० हजार खर्च भईसकेको छ। जुन झण्डै २७ प्रतिशत हुन आउँने प्रजापतिले बताए।

उता सबभन्दा कम खर्च गर्ने बेलका नगरपालिकाले पुस मसान्तसम्म पुँजीगततर्फ ५.१३ प्रतिशतमा सीमित गरेको छ। बेलकाको विनियोजित पुँजीगत बजेट २७ करोड ५६ लाख ३६ हजार १ सय ४५ रुपैयाँमध्ये १ करोड ४१ लाख ४३ हजार ३ सय ४१ मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताएका छन्।

घिमिरेका अनुसार चालुतर्फ बेलकाले छुट्याएको ४८ करोड ३३ लाख ६९ हजार ८ सय ५५ रुपैयाँमध्ये पुस मसान्तसम्म १७ करोड ६३ लाख ७७ हजार ४ सय ६६ रुपैयाँ खर्च भएको छ। जुन ३६.४९ प्रतिशत हिस्सा हो।

लेखा अधिकृत राजन भट्टराईका अनुसार बेलका नगरसभाले चालुवर्षका लागि ७५ करोड ९० लाख ६ हजार रुपैयाँको अनुमानित आयव्यय पारित गरेको छ। बेलकाको समग्र बजेट खर्च ६ महिनाभित्र २०.८१ प्रतिशतमा सीमित हुन पुगेको पनि लेखा अधिकृत भट्टराईले बताए।

प्रकाशित: २५ माघ २०८० १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App