१५ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

आठ करोड लागतमा बन्दै खोटाङकै पहिलो क्रिकेट मैदान

खोटाङ सदरमुकाम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण भइरहेको छ। प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरको आर्थिक सहयोगमा लफ्याङको काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण थालिएको हो।

यो मैदान खोटाङ जिल्लाकै पहिलो क्रिकेट मैदान हो। आठ रोपनी आठ आना क्षेत्रफलमा प्रदेश सरकारको आठ करोड रुपैयाँ लागतमा ‘लफ्याङ सिरान क्रिकेट खेल मैदान’ निर्माण थालिएको जिल्ला क्रिकेट सङ्घ खोटाङका अध्यक्ष रूपन राईले बताए। उनका अनुसार पछिल्लो पुस्तामा क्रिकेटप्रति रुचि बढेकाले खेल मैदान निर्माणको माग बढेको हो।

युवाहरूको रुचिअनुसार क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्न तथा गाउँगाउँबाट क्रिकेट खेलाडी उत्पादन गर्न सङ्घले मैदान निर्माणका लागि पहल गरेको उनले बताए। खोटाङबाट निर्वाचित भई प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका पाँचकर्ण राईले बजेट व्यवस्था गरेर मैदान निर्माण थालिएको राईले बताए।

सत्तासी मिटर लम्बाइ र सत्तावन मिटर चौडाइको निर्माणाधीन मैदानका लागि मझुवा सेवा समाजले प्रति रोपनी एक लाख दस हजार रुपियाँमा पाँच रोपनी आठ आना जग्गा किनिदिएको थियो। स्थानीय गोविन्द कटुवाल, खड्गबहादुर कटुवाल र धनमाया कटुवालले एक–एक रोपनी गरी तीन रोपनी नि:शुल्क दान दिएपछि आठ रोपनी आठ आना जग्गा मैदानका लागि पर्याप्त भएको छ।

लफ्याङमा भए पनि यो मैदान जिल्लाभरकै पहिलो र एकमात्र भएको अध्यक्ष राईले बताए। आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ। क्रिकेटप्रति युवाको बढ्दो रुचिलाई सम्बोधन गर्न समाजले जग्गा खरिद गरेको समाजका सदस्य भूपराज कटवालले बताए। समाजले सदस्यहरूबाट चन्दा सङ्कलन गरेर जग्गा किनेको उनले बताए।

स्थानीयको मागअनुसार गाउँबीचको खेतीयोग्य जग्गामा मैदान बनाउन थालिएको वडाध्यक्ष दिनेश घिमिरेले बताए। मैदानसम्म पुग्न करिब पचासी मिटर नयाँ सडक खन्न स्थानीय ताराकुमार कटुवालले थप जग्गा नि:शुल्क उपलब्ध गराएको उनले बताए।

जिल्लाका दस स्थानीय तहमध्ये सदरमुकामकै लफ्याङमा मैदान बन्ने भएपछि खेलप्रेमीहरू खुसी छन्। प्रदेश १ का चौध जिल्लामध्ये पाँच जिल्लाले नेपाल क्रिकेट सङ्घ (क्यान) को सदस्यता पाए पनि खोटाङले पाएको छैन। खेल मैदानलगायत अन्य सूचकको अभावमा क्यान सदस्यता नपाएकाले मैदान निर्माणमा लागिएको राईले बताए। मैदानसँगै अन्य आधारभूत सूचक जुटाउन सङ्घ लागिरहेको उनले बताए।

प्रकाशित: १० वैशाख २०८२ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App