१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

१५ दिनभित्र भुक्तानी नपाए काम छाड्ने निर्माण कम्पनीकाे चेतावनी

दोभान–बहानन्दे सडकको पालुङ्वा चौक खण्ड र दोधारमा राखिएका निर्माण कम्पनीका उपकरण। तस्बिर: खगेन्द्र/नागरिक।

ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले अबको १५ दिनभित्र कार्य अनुसारको रकम भुक्तानी गर्नेगरी स्रोत सुनिश्चित नभए कार्यस्थलबाट फर्किने जनाएको छ।

काम अनुसारको भुक्तानी नपाएका कारण ४ महिना देखि कार्यरत कर्मचारी र मजदुरलाई पारिश्रमिक समेत दिन नपाएको भन्दै एपेक्स कन्स्ट्रक्सन प्रालिले कार्य प्रगति अनुसारको रकम सुनिश्चित गरी भुक्तानी गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको हो।

निर्माण कम्पनीले आफुहरुलाई सरकारले काम अनुसारको भुक्तानी नदिएका कारण कार्यरत कर्मचारीले पारिश्रमिक नपाए काम छाड्ने चेतावनी दिएपछि आजित भएको बताएको छ।

‘अब पर्खने अवस्था छैन, मजदुरलाई तलब नदिएको ४–४ महिना भयो, काम छाड्छौं भन्न थालिसकेका छन्’ कम्पनीका साइट इन्चार्ज अनिल चौधरीले भने।

उनले १५ दिन भित्र कार्य प्रगतिका आधारमा भुक्तान हुनुपर्ने रकम प्राप्त नगरे आफुहरुले यो स्थलको निर्माणको काम छाड्ने बताए।

कालोपत्रे गर्ने कार्यमा खटिने गरी आएका डिष्ट्रीव्युटर अपरेटर हरि तिमल्सिनाले कामनै अघि बढ्ने अवस्था नभएका कारण अर्को साइटमा फर्कने तयारीमा रहेको सुनाए। 

‘सवबेस राखिसकेको स्थलमा बेस राख्नै बित्तिकै कालोपत्रेको काम सुरु होला भनेर यहाँ आएको थिएँ, रकम भुक्तानी अभावका कारण काम अघि बढ्न नसक्ने दुःखद अवस्था आयो’ तिमल्सिनाले सुनाए।

सो निर्माण स्थलमा ग्रेडर अपरेटरको रुपमा कार्यरत सुनसरीका दुःखीलाल चौधरीले आफुहरुले खाना खाएको रकम समेत तिर्न नसक्ने अवस्थामा पुगेको जानकारी दिए। 

साइट इन्चार्ज चौधरीका अनुसार सो अवधिमा रकम नपाए कम्पनीले दोभान–बहान्दे सडकको कालोपत्रे गर्ने कार्य छाडेर जनशक्ति र उपकरण तमोर करिडोरको निर्माणाधीन क्षेत्रमा उपयोग गर्ने छ।

प्राविधिक जनशक्ति, मजदुर र अन्य कर्मचारी गरी अहिले त्यहाँ ३४ जना कार्यरत रहेका छन्। निर्माण स्थलमा ३ थान एक्स्काभेटर, ३ थान पानी ट्याङ्की र १–१ थान ग्रेडर र लोडर रहेका छन्।

कार्य प्रगतिका आधारमा आफुहरुले रकम भुक्तानीका लागि करिब ७ करोड रुपैयाँ बराबरको बिल नियमक निकाय उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयमा पेश गरेको चौधरीले बताए।

‘बिल प्राप्त भएकोले भुक्तानीका लागि रकम माग गरेका छौं भनेर डिई साबले भन्नुभएको छ, तर प्राप्त भएको छैन, कहिले आउने त्यो पनि टुङ्गो छैन’ उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर सुदर्शन कार्कीप्रति लक्षित गर्दै चौधरीले भने।

साइट इन्चार्ज चौधरी आफैं इन्जिनियर पनि हुन्। चौधरीका अनुसार कम्पनीले अहिले सम्म ६० प्रतिशत भौतिक प्रगतिको कार्य गरेको छ। भुक्तानी भने ४७ प्रतिशत हाराहारी मात्र पाएको उनले बताए।

कालापत्रे गर्ने कार्य अघि हुनुपर्ने स्ट्रयाकको काम शतप्रतिशत सम्पन्न भएको उनले जानकारी दिए। १० किलोमिटर दुरीको कालोपत्रे गर्ने खण्डमा बन्नुपर्ने नाली र ढलको काममध्ये करिब तीन सय मिटर नालीको काम बाहेक अरु सकिएको चौधरीले बताए।

उनका अनुसार वाल लगाउने, कल्भर्ट र नाली बनाउने र बाटो चौडा गर्ने कार्य सकिएको छ। कूल १० किलोमिटर दुरीमध्ये ३.५ किमीमा सवबेस लगाउने कार्य सकिएको र बाँकीको काम समेत अघि बढेको उनले जानकारी दिए।

रकमको अभावका कारण निर्माण स्थलमा ल्याउनुपर्ने सामग्री पनि भने अनुसार ल्याउन नसकिएको चौधरीले सुनाए। दोभान–बहानन्दे सडकको कालोपत्रे खण्डको चौडाइ ७ मिटरको हुनेछ। नाली, ढल र मानिस हिँड्ने ठाउँ सहित १० मिटर चौडा हुने साइट इन्चार्ज चौधरीले बताए।

स्थानीय पुण्य बरालले तीव्र गतिमा काम गरेर स्थानीय बासिन्दा समेतलाई सन्तुष्ट पार्ने निर्माण कम्पनी रकम नपाएर कार्यस्थलबाट फिर्ता जाने तयारी गरिरहेको सुन्दा दुःख लागेको बताए। सरकार यस विषयमा गम्भीर हुनुपर्ने र जनप्रतिनिधि समेत लागेर कम्पनीलाई कामबाट फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाई छ।

उक्त सडक कालोपत्रे गर्नका लागि २०७९ साल असार २३ गते भ्याट सहित कूल ३३ करोड ९९ लाख ४६ हजार २ सय २६ रुपैयाँमा एपेक्स कम्पनीले सम्झौता गरेको थियो।

कम्पनीले अहिले सम्म कामबापत १५ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाएको छ। सम्झौता भएको महिना दिन अवधिमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मंसिर महिनाबाट काम थालेको कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ साल फागुन महिना सम्म रहेको छ।

निर्धारित मितिभन्दा धेरै छिटो काम सकेर योजना बुझाउने तयारीका साथ काममा खटिएको निर्माण कम्पनीले काम गरे बापतको रकम भुक्तानी पाउन सङ्घर्ष गर्नुपर्दा दुःख लागेको बताएको छ।

काम अनुसारको रकम भुक्तानी चाँडो हुनुपर्ने माग गर्दै निर्माण कम्पनीले सोमबार निर्माण स्थलमै प्रदर्शन समेत गरेको थियो। निर्माण कम्पनीले निर्माण स्थलका नाका–नाकामा ‘काम अनुसारको रकम भुक्तानी नपाएर अवरुद्ध भएको सडक’ भनेर लेखिएका ब्यानर समेत टाँसेको छ।

उता नियमक निकाय उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका कार्यालयका डिभिजनल इन्जिनियर कार्कीले बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने योजनाका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ रहेको र सो रकम भुक्तानी भइसकेको बताए।

चालू आवका लागि विनियोजित रकम सकिएको र थप रकम माग गरिएको डिई कार्कीले बताए। कार्की आफैंपनि कम्पनीले अहिले सम्म लगेको रकम भन्दा बढी कामनै भइसकेको बताउँछन्।

माग गरिएको रकम प्राप्त भएपछि निर्माण कम्पनीलाई थप रकम भुक्तानी दिने समेत उनले जानकारी दिए। २०५५ सालमा ग्रामीण सडक योजना अन्तर्गत निर्माण गर्न सुरु गरिएको बहानन्दे–दोभान सडकले प्रदेशसभाको निर्वाचन क्षेत्र नं ‘क’ र ‘ख’ लाई जोड्छ। 

तमोर नदी वारी र पारी गर्न यही सडकको प्रयोग गर्नुपर्छ। तमोर नदी पारी मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला र मिक्वाखोला गाउँपालिका पर्छन्। यी गाउँपालिकाका नागरिकले सदरमुकाम फुङलिङ आउन बहानन्दे–दोभान सडक प्रयोग गर्नुपर्छ।

प्रकाशित: २३ माघ २०८० १७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App