२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

विदेशी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। 

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री गर्दा कारोबार विवादित बनेको छानबिनमा यस्तो पाइएको हो। सेयर खरिद–बिक्री कानुनसम्मत नदेखिएकाले अहिलेकै अवस्थामा स्वीकार गर्न नहुने पनि समितिले सुझाएको छ।

सरकारले गठन गरेको छानबिन समितका संयोजक टंकमणि शर्माले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा दुई कम्पनीबीच भएको सेयर खरिद–बिक्री स्वाभाविक सम्झौता मान्न नसकिएको उल्लेख छ। यो कारोबारमा वैधानिक, स्वच्छ र समन्वयनात्मक व्यवहार नदेखिएको छानबिन समिति संयोजक शर्माले बताए। ‘सेयर बिक्रीको मूल्य र सम्झौता स्वाभाविक देखिएन,’ उनले भने, ‘कारोबार विश्वसनीय र पारदर्शी छैन।’

समितिले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने प्रधानमन्त्री दाहालले बताए। एनसेल सेयर खरिद–बिक्री प्रक्रिया गम्भीर रहेको उनले बताए। ‘सबैले छानबिनलाई चासोका साथ हेरेका छन्,’ प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले भने, ‘यो प्रतिवेदनले सही निर्णय लिन सहयोग पुग्ने विश्वास लिएको छु।’

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो। 

आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रलाइट युकेबीच २०२३ डिसेम्बर १ मा भएको एनसेल आजियाटाको सेयर खरिद–बिक्री सम्झौतामा उल्लिखित कारोबार समान व्यावसायिक व्यवहारको सिद्धान्तमा आधारित भएको नदेखिएको, बिक्रीकर्ता पक्ष हाबी भई खरिदकर्ता पक्षमा स्वाभाविकभन्दा बढी सर्तहरू राखेको छानबिन समितिले जनाएको छ। 

त्यसैगरी सेयर बिक्रीपछि वर्षौंसम्म पनि बिक्रेताले आफूले बिक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्वसमेत बिक्रीकर्तामा नहुनेजस्ता सर्तहरू अस्वाभाविक रहेको समितिले जनाएको छ।

नेपालको कानुनी व्यवस्थाअनुसार विदेशी लगानी रहेको दूरसञ्चार कम्पनीले अनुमति पाएको २५ वर्षपछि उसका जग्गा, भवन, यन्त्र उपकरणसहितका संरचना सरकारको स्वामित्वमा जानुपर्छ। छानबिन समितिले कानुनमा भएको यो व्यवस्था सुनिश्चित गर्न पनि सुझाव दिएको छ। 

छानबिन समितिले थप छानबिन आवश्यक रहेको समेत जनाएको छ। सेयर कारोबारमा राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचारका विषय पनि आकर्षित भएको जनाइएको छ। २०५८ सालमा स्थापना भएदेखि यस कम्पनीको हालसम्म १४ पटक सेयर तथा स्वामित्व खरिद–बिक्री भएको देखिएको छ। ती सबै खरिद–बिक्रीमा धेरैजसो कारोबार नेपालबाहिर भएको देखिन्छ।

कारोबारहरूसँग सम्बन्धित लेनदेनका अभिलेख तथा विवरणहरू कम्पनीले नेपालका आधिकारिक निकायहरूमा पेस गरेको पाइएको छ। कतिपय नेपाली सेयरधनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ प्रणालीबाट नभई देशबाहिर समेत भएको देखिएको छ।

वार्षिक रूपमा अर्बौं मुनाफा आर्जन गरिरहेको एनसेल आजियाटाले सार्वजनिक गरेको सेयर कारोबारको व्यावसायिक मूल्य र सम्झौताका सर्तहरू स्वाभाविक नदेखिएको, खरिदकर्ताको प्राविधिक सक्षमता र करोडौं ग्राहक रहेको टेलिकम कम्पनी सञ्चालन गर्न आवश्यक वित्तीय क्षमतासमेत सबल नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि अहिलेसम्म जम्मा ८ करोड रूपैयाँ विदेशी लगानी र २ करोड रूपैयाँ स्वदेशी लगानी गरेको देखिएको छानबिन समितिले जनाएको छ। एनसेलले अहिलेसम्म १ खर्ब रूपैयाँभन्दा बढी नाफा कमाई विभिन्न शीर्षकमा ६८ अर्ब रूपैयाँ विदेश लगेको देखिएको छ। एनसेल आजियाटाले नेपाल सरकारलाई कर र गैरकर गरी तिर्नु/बुझाउनुुपर्ने ८५ अर्ब रूपैयाँभन्दा बढी रकमको विषय विभिन्न निकाय तथा अदालतमा मुद्दा विचाराधीन रहेको पाइएको छ।

एनसेलको मातृ कम्पनी आजियाटा बर्हाडले दूरसञ्चार सेवाको क्षेत्रमा लगानी गरेका नेपालबाहेकका मुलुकहरूको तुलनामा नेपालमा बढी प्रतिशतले मुनाफा आर्जन गरेको पनि देखिएको छ। एनसेलले हालसम्म १ करोड ३० लाखभन्दा बढी सिमकार्ड वितरण गरेको छ। 

एनसेलले नेपाल सरकारलाई कर र गैरकर राजस्व गरी अहिलेसम्म करिब ३ खर्ब २ अर्ब रूपैयाँ बुझाएको छ। समितिले नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, ठुला करदाता कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकबाट आवश्यक कागज, प्रमाण, सेयर खरिद–बिक्री सम्झौता प्राप्त गर्ने, विभिन्न टेलिकम कम्पनीहरूको वेबसाइटबाट आवश्यक विवरणहरू संकलन गरेर अध्ययन गरेको जनाएको छ। 

समितिले संघीय संसद्का विभिन्न समितिबाट प्राप्त निर्देशनहरू अध्ययन, विज्ञ विशेषज्ञहरूसँग छलफल र सम्बन्धित पक्षहरूलाई समितिमा नै उपस्थित गराएर र भर्चुअल माध्यमबाट समेत सोधपुछ गरेको थियो।

एनसेल आजियाटाले सन् २०१६ मा स्विडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको स्वामित्वमा रहेको रेनल्ड्स होल्डिङ लिमिटेडको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रूपैयाँ अर्थात् १ अर्ब ३६ करोड ५१ लाख डलरमा किनेको थियो। एनसेलका अनुसार अहिले उक्त सेयरको मूल्य घटेर ५३ अर्ब २० करोड रूपैयाँ अर्थात् ४० करोड डलर कायम भएको छ। 

एनसेलको बिक्री भएको ८० प्रतिशत सेयरको ‘इन्टरप्राइज भ्यालु’ ४० करोड अमेरिकी डलर रहेको एनसेलको दाबी छ। यसको अर्थ आजियाटाले बिक्री गरेको एनसेलको ८० प्रतिशत सेयरको मूल्य ५३ अर्ब २० करोड रूपैयाँ हो। उक्त सेयर आजियाटाले स्पेक्ट्रलाइट युकेलाई ‘बेस पेमेन्ट’बापत ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोड रूपैयाँ र सन् २०२९ सम्म थप लाभांश लैजाने गरी बिक्री गरेको हो। 

आजियाटाले ६ अर्ब ६५ करोड रूपैयाँसहित सन् २०२९ सम्म निश्चित प्रतिशत नाफा पाउने खरिद–बिक्रीमा सम्झौता भएको बताइएको छ। सेयर खरिदकर्ता स्पेक्ट्रलाइट युकेका सञ्चालक नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्य हुन्। 

प्रकाशित: १६ माघ २०८० ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App