१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गत वर्षको तुलनामा कम उठ्यो राजस्व

चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नौ करोड ८५ लाख ५६ हजार एक सय ६० रूपैयाँ राजस्व असुली भएको छ।

आव २०७९/८० को एकवर्षे अवधिमा ३२ करोड दुई लाख २१ हजार तीन सय ५१ रूपैयाँ राजस्व असुली भएको थियो। अर्धवार्षिक समीक्षाका दृष्टिले गत आवको राजस्व असुली भेट्न कठिन हुने प्रक्षेपण गरिएको छ।

राजस्व असुलीका दृष्टिले भने नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो र दोस्रो महिना कमजोर हुने र तुलनात्मक दृष्टिले तेस्रोदेखि उताका महिना गतिशील हुने अवस्था देखिन्छ। गत आव बराबर राजस्व असुली हुनका लागि बाँकी अवधिको ६ महिनामा २२ करोड बढी राजस्व असुली हुनुपर्छ।

संघीयतर्फको बजेट दोब्बर बढी खर्च

चालु आर्थिक वर्षमा ताप्लेजुङमा प्रदेशभन्दा संघीयतर्फको बजेट दोब्बर खर्च भएको पाइएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको ६ महिनाका संघीय सरकारतर्फको बजेटको ४६.३३ प्रतिशत खर्च हुँदा प्रदेश सरकारतर्फको भने २३.८० प्रतिशत खर्च भएको छ।

कोष नियन्त्रक पोखरेलका अनुसार चालु र पुँजीगत गरी कुल संघीय सरकारतर्फ कुल चार अर्ब ६१ करोड एक लाख ६३ हजार रूपैयाँ बजेट रहेकोमा चालु आवको छ महिना अवधिमा २ अर्ब १३ करोड ५८ लाख ५७ हजार ४ सय ९८ रूपैयाँ खर्च  भएको छ।

यस्तै प्रदेश सरकारतर्फ चालु र पुँजीगत गरी कूल ६१ करोड ९१ लाख १२ हजार रूपैयाँ बजेट रहेकोमा चालु आवको ६ महिना अवधिमा १५ करोड रूपैयाँ पनि खर्च भएन। कोलेनिकाका अनुसार प्रदेश सरकारतर्फ चालु आवको पुस मसान्तसम्ममा १४ करोड ७३ लाख ८७ हजार ६ सय १४ रूपैयाँ मात्र खर्च भएको छ। 

प्रकाशित: १५ माघ २०८० ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App