२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रोङमा माघ २७ देखि कला–साहित्य महोत्सव

महोत्सवबारे जानकारी दिँदै रोङ गाउँपालिका ६ का अध्यक्ष सत्यम राई (बीचमा)। तस्बिर : नागरिक

कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका ६ मा कला-साहित्य महोत्सव हुने भएको छ। इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक- ८५८६ को समन्वयमा वडाले माघ २७ देखि २९ सम्म वडामा महोत्सव आयोजना गर्न लागेको हो।

रैथाने कला-संस्कृति पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवका विषयवस्तु पनि स्थानीय विषयसँगै सम्बन्धित रहने वडामै आयोजित पत्रकार भेटघाटमा वडाध्यक्ष सत्यम राईले बताए।

उनका अनुसार यो वडा लोपोन्मुख लेप्चा समुदायको थातथलो रहेको ठाउँ पनि हो। उनले भने, ‘तामाङ, राई, लिम्बू, राई, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकीसमेत प्रदर्शन गरिने छन्।’

सरकारको जिम्मेवारी नागरिकका लागि रोजगारी सिर्जना गर्नु पनि भएकाले कला–संस्कृति र कृषिमा नागरिकलाई स्वरोजगार बनाउन महोत्सवले सहयोग गर्ने वडाले अपेक्षा गरेको छ। ‘रोजगारी पाउनु भनेको कुनै कारखाना र उद्योगमा बिहान १० देखि बेलुका ५ बजेसम्म काम गर्नु मात्रै होइन’, उनले भने, ‘आफूसँग भएको कला र मेहनत बेच्न सक्यो भने व्यक्ति स्वरोजगार बन्छ।’

महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई छन्। झाँकी प्रदर्शनका लागि उपसमिति गठन गरिएका छन्। उपसमितिले सम्बन्धित समूहलाई प्रशिक्षित गर्दै नयाँ पिँढीलाई कला-संस्कृति सिक्ने अवसरसमेत प्रदान गर्नेछन्। महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने उनले जनाए।

महोत्सवको उद्घाटन माघ २७ गते पर्यटकीय झन्डीडाँडामा गरिने छ। उद्घाटनपछि त्यसै दिन साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा ‘रैथाने ज्ञानको आवश्यकता’ विषयमा मन्तव्य राख्नेछन्। ‘कृषि : सम्भावना, समस्या र सीमा’ विषयमा डा. योगेन्द्रमान श्रेष्ठसहित थप दुई वक्ताबीच बहस हुनेछ। ‘कला–साहित्यभित्र गाउँको चित्रण’ विषयमा हाङयुग अज्ञात र अरू दुई वक्ताबीचको बहस पनि पहिलो दिन नै हुनेछ।

दोस्रो दिनको कार्यक्रम सलकपुरमा आयोजना गरिने छ। त्यस दिन ‘कवि गाउँ फर्किन्छन्’ कार्यक्रम सञ्चालन गरिने छ। यसमा १० स्थानीय र १० गैरस्थानीय कवि-कवयित्रीले आफ्ना रचना सुनाउनेछन्।

‘विश्वव्यापीकरणभित्र गाउँ’ शीर्षकमा आहुति, समुना श्रेष्ठ र अन्य दुई वक्ताबीच छलफल हुनेछ। ‘गाउँ–सहरका महिला र पुरुष’ विषयमा कैलाश राई र अन्य दुई वक्ताबीच भलाकुसारी हुनेछ। ‘हामी इतिहासमा बाँच्छौं’ विषयमा वीरबहादुर लेप्चा र अन्य दुई वक्ताबीचको बहस पनि त्यसै दिन हुनेछ।

तेस्रो दिनको कार्यक्रम सांस्कृतिक सर्किटको जौबारीमा हुनेछ। ‘एक चित्रकारले देख्ने गाउँ’को प्रदर्शनी (चित्रकला) गरिने छ। यसमा २० स्थानीय तथा गैरस्थानीय चित्रकार सहभागी हुनेछन्। र, त्यही दिन स्थानीय विषय समेटिएको नाटक मञ्चन गरिने छ। नाटकमा चेतना नाट्य समूह र स्थानीय कलाकार नै रहनेछन्।

वडाध्यक्ष राईले वडाको कला–संस्कृति प्रचार गर्न विषयवस्तु पनि यहाँकै राखिने बताए। ‘एक कलाकार वा कविले यो वडाको विषय लेखिँदिँदा, बोलिदिँदा र चित्र बनाइदिँदा प्रचारप्रसार हुन्छ’, उनले भने, ‘त्यसैले सबैलाई हामी गाउँकै विषय उठान गरिदिन अनुरोध गर्नेछौं।’

स्थानीय विषयमै नाटकको तयारी गरिरहेका निर्देशक अन्वेश थुलुङले गाउँको कला–संस्कृति संरक्षणमा चुनौती रहेको बताए। ‘कला–संस्कृति भनेकै समाजलाई बचाएर राख्ने माध्यम हो’, उनले भने, ‘गाउँ, कुनाकन्दराका सयौं–हजारौं कथा अझै बाहिर आउन सकेका छैनन्, तिनलाई पर्यटनसँग जोड्न पनि प्रचारको आवश्यकता छ।’

महोत्सवको आर्थिक व्यवस्थापन भइरहेको वडाले जनाएको छ। अहिले वडामा महोत्सवका लागि बजेट व्यवस्था नभए पनि विभिन्न सहयोगीबाट यसको खर्च व्यवस्थापन गर्ने वडाध्यक्ष राईले बताए।

प्रकाशित: १० माघ २०८० ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App