१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पुल्चोक-गोन्द्राङ ६ लेन सडक : दुईपटक म्याद थप्दा ७५ प्रतिशत काम

ठेकेदार र सडक डिभिजन कार्यालय भरतपुरबीच भएको सम्झौतालाई आधार मान्ने हो भने पुलचोक-गोन्द्राङ ६ लेन सडकको काम एक वर्षअघि नै सकिनु पर्ने हो। तर, अहिले चिल्ला सडकमाथि गाडी गुडिरहनुपर्ने समयमा ७५ प्रतिशतको काम मात्र पूरा गरिएको छ। धुलो र साघुँरो सडकमा सवारी साधन गुडिरहेका छन्।

‘पुलचोक–गोन्द्राङको विस्तारित ६ लेनको सडकको काम गत अघिल्लो पुस महिनामै सकिनुपर्ने हो। थपिएको १२ महिनाको म्याद पनि मंसिरमा सकिएको छ,’ सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले भने, ‘अहिलेसम्म सडक विस्तारको काम ७५ प्रतिशत मात्र सकिएको छ।’

उनका अनुसार वीरेन्द्र क्यापसदेखि लायन्सचोकसम्म सर्भिस लेन बनाउनै बाँकी छ भने अन्य क्षेत्रमा सडक बत्तीको काम बाँकी छ। इन्जिनियर शाहका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाइनल कालोपत्रे गर्ने काम अगाडि बढेको छ।

सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले २०७७ माघ महिनामा २८ महिनाभित्र विस्तार गरिसक्ने गरी निर्माणको जिम्मा ल्याएको थियो। सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ। अन्तिमपटक आगामी यही मंसिर महिनामा भदौसम्म सक्ने गरी म्याद थप गरिएको शाहले बताए।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो। सडकको लागत एक अर्ब ७६ करोड रूपैयाँ छ।

अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ। भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगति ६५ प्रतिशत मात्र भएको शाहले जानकारी दिए। उनका अनुसार यस सडकलाई यस वर्ष पाँच करोड रूपैयाँ मात्र बजेट विनियोजन भएको थियो।

बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए। ‘भुक्तानी लगभग ६५ प्रतिशत भएको छ अझै ४५ करोड रूपैयाँ निर्माण कम्पनीलाई दिन बाँकी छ,’ शाहले भने, ‘सडक विभागमा फाइल पठाएका छौंं, भुक्तानी छिट्टै हुनेमा आशावादी छौं।’

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ। सडकको दायाँबायाँ ११.५-११.५ मिटरको पिच हुनेछ। त्यसको बीचमा तीन देखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसबाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ। त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बन्नेछ।

अहिले अप्ठ्यारो ठाउँ सकिएकाले काम छिटो हुने निर्माण कम्पनीको दाबी छ। सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाइनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्नेगरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ।

यस्तै पुल्चोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ। महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाइन, दुईवटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाइ भएको थियो। निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे सक्ने सहमति गरिएको छ।

फागुनको पहिलो सातासम्म पुल्चोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुने पुलचोक-गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुंगानाले जानकारी दिए। वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

भरतपुरको मुख्य प्रवेशद्वार र पूर्व-पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीव्ररूपमा काम अगाडि बढेको छ। २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको महानगरको दाबी छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन्। समयमा सडक निर्माण नहुँदा यात्रु तथा बजारमा व्यवसाय गर्ने व्यवसायीलाई धुलोले सास्ती भएको छ।

प्रकाशित: ७ माघ २०८० ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App