विगत ४ महिना भन्दा बढी समयदेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन सुरु गर्नुपर्ने मागसहित कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । नेकपा माओवादी केन्द्रसँग सम्बन्धित अखिल नेपाल ओैद्योगिक मजदुर सङ्गठनका कर्मचारीहरूले उद्योग सञ्चालन गर्नुपर्ने मागसहित पुस २४ गतेदेखि आन्दोलन जारी राखेका हुन् ।
उनीहरुले हातमा कालो पट्टी बाँधेर दैनिक उद्योगमा धर्ना दिइरहेका छन्। उद्योग प्रशासनले कोइला आपूर्ति ठप्प गरी क्लिङ्कर उत्पादन नै ठप्प गरेपछि उद्योग झन् धराशायी हुँदै गएकोले उद्योग प्रशासनलाई दबाब सृजना गर्न बाध्य भएर आन्दोलन गरिएको अखिल नेपाल ओैद्योगिक मजदुर संगठन हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष दीपक थोकरले जानकारी दिए।
‘उद्योग नियमित सञ्चालन हुने अवस्था निर्माण हुनुपर्यो भन्ने हाम्रो माग हो’, थोकरले भने, ‘उद्योग सञ्चालन गर्न प्रशासनलाई दबाब दिएका हौँ । पुस २४ देखि माघ २ गतेसम्म हातमा कालो पट्टी बाँधेर धर्ना दिँदा पनि मागको सुनुवाइ नभएकाले माघ ८ गतेसम्म उक्त आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका हौँ ।’ उद्योगको उत्पादन नै बन्द गरेर राख्दा झनै समस्या हुने भएकोले मजदुरहरू थप चिन्तित बनेको उनको भनाई छ।
कोइला आयात गर्ने ठेकेदारलाई दिनुपर्ने रकम दिन नसकेको कारण देखाउँदै क्लिङ्कर उत्पादन बन्द गरिएको छ । उद्योगको समस्या चाँडै समाधान गर्न सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले धर्नालाई निरन्तरता दिँदै आएको अध्यक्ष थोकरले जानकारी दिए । उद्योगबाट उत्पादित सिमेन्ट बिक्री नै अत्यन्त कम भएको र कोइला आयातकर्ताको भुक्तानी दिन पनि रकम नभएकाले तत्काललाई उद्योगको उत्पादन बन्द गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए।
उद्योगको उत्पादन बन्द गरेपनि स्टक रहेको सिमेन्ट बिक्री भने निरन्तर रहेको उनको भनाई छ । हाल दैनिक ५०० देखि २००० बोरासम्म मात्र सिमेन्ट बिक्री भइरहेको र अझै उद्योगमा करिब डेढ लाख बोरा सिमेन्ट स्टक रहेको पाण्डेले जानकारी दिए। उद्योगमा अझै हजार टनभन्दा बढी कोइला स्टक रहेको र सिमेन्ट स्टक घट्दै गएकाले कोइलाको ल्याब परीक्षण गरी केही दिनभित्रै पुनः क्लिङ्कर उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ। हेटौँडा सिमेन्ट उद्योग गत असोज महिनादेखि बन्द रहेको छ।
प्रकाशित: ४ माघ २०८० ११:५८ बिहीबार





