१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘सरकारले उर्जाको आन्तरिक खपत बढाउने प्रयत्न गरिरहेको छ’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले आवश्यक नीति तथा कानुन निर्माणमा जुटेको बताएका छन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २४औँ बार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीति तथा कानुन बनाउन लागिरहेको बताएका हुन। मन्त्री श्रेष्ठले उर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको बताउँदै मुलुकमा उर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको बताए।

‘उर्जा उत्पादन गरेर व्यापार मात्रै गरेर नपुग्ने भन्दै यसको आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्ने देखिन्छ,’ उनले भने‘अब ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जानेछ।’ मन्त्री श्रेष्ठले उर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता पनि जनाए। ‘उर्जा उद्यमीहरुले निर्धक्क भएर लगानी गर्दा हुन्छ, सुरक्षाको कुनै चिन्ता नलिनु’ उनले भने।

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले उर्जा विकासमा निजी क्षेत्रको योगदान ६०/७० प्रतिशत रहेको बताए।  उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको र निजी क्षेत्रको माग पुरा भएपछि उर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि बताए। ‘पछिल्लो दशकमा ८ सय बाट २९ सय मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको छ,’ उनले भने‘ अबको ३/४  महिनामा नजी क्षेत्रबाट प्रवर्द्धिधत करिब ५०० मेगावाट थप विद्युत प्रणालीमा जोडिनेछ।’ इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा उद्यमी उत्साहित भएको बताउँदै १० बर्षमा १० हजार मेगावाट विद्युत बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको पनि बताए।

‘अहिले देश उर्जा मय भएको छ’ उनले भने ‘सरकारलाई अबको दशक उर्जा दशक घोषणा गर्न माग गर्छु, साथै सरकारले अबको दशकलाई उर्जा संकटकाल लगाउन समेत माग गर्दछु।’  

अहिले सरकारले उर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरिरहेको स्मरण गराए। ‘उर्जा क्षेत्रको भ्याट घटाउने सवालमा अर्थ मन्त्रालयले यो समस्या समाधान गर्न उर्जा मन्त्रालयले क्याबिनेटमा प्रस्ताव लैजान सुझाव दिएको छ’ उनले भने ‘ऊर्जा मन्त्रालयबाटै यो समस्या समाधान हुनेमा हामीहरु विश्वस्त छौं।’  

आधा दर्जन व्यक्ति सम्मानित

इप्पानको वार्षिकोत्सवको अवसरमा आधा दर्जनभन्दा धेरै व्यक्तित्वलाई सम्मान गरेको छ। इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन्। 

त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ।  १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ। कम्पनीले ७।५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीत बहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो। कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ।निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीको रुपमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स)लाई पनि सम्मानत गरिएको छ।

प्रकाशित: ४ माघ २०८० ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App