३ वैशाख २०८१ सोमबार
अर्थ

यती हवाई दुर्घटनाको एक वर्ष : बिथोलिएको पर्यटन लयमा फर्किंदै

गतवर्ष माघ १ गतेका दिन सिंगो मुलुकलाई नै स्तब्ध बनाउने गरी पोखरामा हवाई दुर्घटना भयो। यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको अन्तिम तयारीमा रहँदा सहरको मध्यभाग हुँदै बगेको सेती नदीको खोंचमा खसेको थियो। सो दुर्घटनामा परेर चालक दलका चार र ६८ जना यात्रुसहित ७२ जनाको ज्यान गएको थियो।

नेपालको हवाई इतिहासमा एटिआर ७२-५०० सिरिजको जहाजको यो पहिलो दुर्घटना थियो। त्यस्तै नेपाली हवाई आकाशमा आन्तरिकतर्फको सबैभन्दा ठूलो त्यो दुर्घटनाले सिंगो मुलुकलाई नै शोकाकुल बनायो।  दुर्घटनाले पारिवारिक रूपमा दिलाएको पीडा त एकातिर छँदैछ, त्यत्ति नै ठूलो प्रभाव नेपालको आन्तरिक हवाई यातायात र पर्यटन क्षेत्रमा समेत पर्‍यो। दुर्घटनाका कारण पोखराको हवाई यातायातले गति लिनसमेत हम्मेहम्मे पर्‍यो।

दुर्घटनाको ठीक १५ दिनअघि

(सन् २०२३ जनवरी १) मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। पोखराले मात्र नभई सिंगो गण्डकी प्रदेशले आशा गरेको विकास संरचना थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। उद्घाटन भएको १५ दिनमै त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बेला यतीको जहाज एकाएक दुर्घटनामा परेको थियो।

हवाई दुर्घटनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठायो। दुर्घटनाकै कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई गति लिनसमेत हम्मेहम्मे पर्‍यो। यति सम्मकि दुर्घटनापछि हवाई यात्रु नै अभाव भयो। त्यो बेला पोखरा–काठमाडौं उडान गरिरहेको यतीको उडान त केही दिन हुनै पाएन, अरू वायुसेवा कम्पनीलाई पनि त्यसको प्रभाव पर्‍यो।

‘पोखरामा एक वर्ष अघि भएको त्यो दुर्घटनाले भएको मानवीय क्षतिले निकै नै पीडा दियो। अर्काे मार पर्यटन क्षेत्रमा पनि पर्‍यो। १५ दिनअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि गति लिन अतिरिक्त समय लाग्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मी भन्छिन्, ‘यतिसम्मको त्रास थपियो कि पोखराको हवाई यात्रा निकै असुरक्षित छ भन्ने खालको मनोवैज्ञानिक त्रास फैलियो।’

उनका अनुसार दुर्घटनाका कारण करिब दुई महिनासम्म पोखराको हवाई यात्राप्रति नागरिक सकारात्मक हुन सकेका थिएनन्। ‘दुर्घटनाको समय लम्बिँदै जाँदा नागरिकले घटना बिर्सिंदै गए। अनि पोखरा–मुग्लिन राजमार्ग विस्तार हुँदै जाँदाको झन्झटिलो यात्राले यात्रुलाई हवाई यात्रातर्फ मोड्यो।

समय गुज्रँदै गएपछि अहिले सामान्य अवस्थामा फर्केको छ,’ उनले भनिन् । दुर्घटनापछि केही समय सुस्ताए पनि पोखराका हवाई यात्रुको संख्या अहिले भने बढेको विमानस्थलको भनाइ छ।

प्रवक्ता रेग्मीका अनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नौ लाख चार हजार यात्रुले ओहोरदोहोर गरेका छन्। यी सबै आन्तरिक यात्रु हुन्। ‘दुर्घटना नहुँदो हो त यो संख्या अझै बढ्ने थियो।

अन्तर्राष्ट्रिय उडान त्यति हुने नसकेको भए पनि आन्तरिक यात्रुको आवागमन भने अहिले निकै बढेको छ,’ उनले भनिन्, ‘उडान समय, संख्या र यात्रु उत्तिकै थपिएका छन्। दुर्घटना नहुँदो हो त यात्रुको संख्या अझै बढी हुने थियो।’ हवाई क्षेत्रका जानकारका अनुसार पोखरामा भएको त्यो दुर्घटनापछि पोखराका हवाई यात्रु मात्र नभई समग्र नेपालकै आन्तरिक हवाईयात्रुमा मनोवैज्ञानिक प्रभाव परेको थियो।

पर्यटनमा पारेको असर

पोखरामा भएको यतीको जहाज दुर्घटनापछि पर्यटनमा भने लामै समय असर परेको थियो। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी भन्छन्, ‘दुर्घटनाको केही समय त हवाई यात्रु २० प्रतिशतको हाराहारीमा झरेका थिए। हवाई यात्रा गर्नैहुन्न भन्ने त्रास आन्तरिक यात्रुमा थियो,’ अध्यक्ष अधिकारी भन्छन्, ‘बजारीकरणका लागि भारतीय सहरमा जाँदा पनि नेपालको हवाई सुरक्षाबारे प्रश्न उब्जिन्थे। त्यो दुर्घटनाले बजारीकरणमासमेत हामीलाई समस्यामा पार्‍यो।’ दुर्घटनापछि करिब तीन महिनासम्म पोखराको पर्यटन क्षेत्रमा प्रभाव परेको उनले बताए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको केही दिनमै हवाई दुर्घटना हुँदा विमानस्थलप्रति नै आशंका उब्जियो। दुर्घटनाले गर्दा करिब तीन महिनाजसो त आन्तरिक पर्यटनमा निकै नै असर पार्‍यो।’

पर्यटनमा हवाई कनेक्टिभिटी महत्वपूर्ण मानिन्छ। पोहोरको दुर्घटनाले त्यही कनेक्टिभिटीमाथि प्रभाव पारेको थियो, त्यसले गर्दा नेपालको हवाई सेवाप्रति नै अविश्वास सिर्जना भयो,’ उनले भने, ‘पर्यटनमा त्यसको प्रभाव लामो समय रहिरहँदा व्यवसायीलाई पनि व्यवसाय धान्नै सकस परेको थियो।’

आन्तरिक पाहुना घुमफिर गर्ने बेला भएको त्यो दुर्घटनाले गर्दा पोखरासम्मको हवाई यात्रा गर्ने यात्रु निकै कम भएको उनले बताए। ‘कोभिडको त्रासले घुम्न नपाएका आन्तरिक पाहुना दुर्घटनापछि त झन् निस्कन सकेनन्। हवाई यात्रा असुरक्षित र स्थलमार्गको यात्रा सकसपूर्ण भन्ने सन्देश फैलिँदा प्रभाव बढी पर्‍यो,’ उनले भने।

त्यो दुर्घटनाबारे अध्ययन गर्न बनेको टिमले केहीदिन अघि मात्र रिपोर्ट बुझाएको र दुर्घटना हुनुमा मानवीय कारण देखाएपछि नेपाली आकाश असुरक्षित र विमानस्थलमा प्राविधिक समस्या होइन भन्नेमा स्पष्ट पार्न सकिएको उनले बताए।  

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि पोखराको पोहोरको हवाई दुर्घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासमेत प्रभाव पारेको बताउँछन्।

‘सबैभन्दा सुरक्षित यात्रा हवाई नै हो तर पोखराको त्यो हवाई दुर्घटनाले मानवीय पीडा त दियो नै पर्यटन क्षेत्रलाई लामो समयसम्म शून्य अवस्थामा राख्यो,’ श्रेष्ठले भने, ‘करिब तीन महिनासम्म त्यो दुर्घटनाको असर परेको हो। यात्रु हवाई यात्रा गर्न डराएकै हुन्।’

दुर्घटनाले केही महिना असर पारे पनि अहिले भने विमानस्थलले गति लिएको उनले बताए। ‘विमानस्थल उद्घाटन भएको छोटो समयमा दुर्घटना हुँदा नराम्रो असर परेकै हो। केही समय त्यो प्रभाव तन्किरह्यो तर अहिले भने पोखरासम्मको हवाई यात्राले गति लिएको छ,’ उनले भने।

प्रकाशित: १ माघ २०८० ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App