२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हासिल हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकले बुधवार सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार नेपालले चालू आवमा आर्थिक वृद्धिदर सरकारको लक्ष्य अनुसार पूरा गर्न नसक्ने प्रक्षेपण गरेको हो।

आर्थिक वृद्धिदर सरकारको लक्ष्यभन्दा २.१० प्रतिशत कम हुने विश्व बैंकको प्रक्षेपणले देखाएको छ। दक्षिण एसियाको औसत आर्थिक वृद्धिदरभन्दा नेपालको कम देखिएको छ। विश्व बैंकका अनुसार दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहने अनुमान छ।

आर्थिक वर्ष ०८१/८२ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो। यसले अर्थतन्त्रमा सुधार हुने आशा भने जगाएको छ।

विदेशी मुद्रा सञ्चितिमा दबाब भएका कारण विगतमा आयातमा गरिएको नियन्त्रण र कसिलो मौद्रिक नीतिको प्रभाव कायम रहे पनि आगामी दिनमा सुधार हुने अनुमान छ।  दक्षिण एसियाको वृद्धिदर तीन वर्षयता निरन्तर ओरालो लागेको छ । दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर सन् २०२३मा ५.७ प्रतिशत र सन् २०२२ मा ५.९ प्रतिशत रहेको थियो।

छिमेकी मुलुक भारतको यस वर्षको आर्थिक वृद्धिदर नेपालको भन्दा धेरै उत्साहजनक रहेको छ। विश्व बैंकका अनुसार यो वर्ष भारतको आर्थिक वृद्धि ६.४ प्रतिशतक हुने अनुमान छ। गत आवमा भारतले ६.३ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो।

प्रकाशित: २६ पुस २०८० ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App