२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजार रुपैयाँबाट घटेर ३ हजार

एकद्वार प्रणालि हटेपछि मूल्य ह्वात्तै घट्यो

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान। फाइल तस्बिरः नागरिक

प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। यो शुल्क १५ देखि २० मिनेट उडान अवधिको रहेको व्यावसायीले बताएका छन्।  

प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो।

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो। अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्।

‘मैले नै ४ हजार रुपैयाँमा पाहुना उडाएको छु। किनकी प्रतिश्पर्धात्मक बजारमा मूल्य घटेपछि सस्तो बनाएको हुँ,’ हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनिका संचालक शैलेन्द्र रावतले भने, ‘सबैतिर सस्तो परेपछि मैले पनि सस्तैमा उडाएको हुँ।’ उनका अनुसार यो मूल्य १५ देखि २० मिनेटसम्म अवधिका लागि मात्र हो।  

‘पहिला यही मूल्य १२ हजार रुपैयाँ थियो। छाता संस्था (ना) ले नै १२ हजार भन्दा कम लिन नपाउने गरि मूल्य तोकेको थियो, तर, अहिले यो मुल्य घटेर ३ देखि ४ हजार रुपैयाँमा झरेको छ,’ उनले भने, ‘खुला र प्रतिश्पर्धी बजार अनुरुप उडान संचालन गर्नुपर्ने भन्ने निर्णय भएपछि व्यावसायीले पाहुना तान्नका लागि आफु खुसी शुल्क लिएर उडाएका छन्।’

रावतका अनुसार व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो। ‘प्राधिकरणले ना लाई मूल्य तोक्न नपाउने भनेर खुला गरिदियो। त्यसपछि खुला बजार प्रतिश्पर्धामा जान बाध्य हुँदा मुल्य घटेको हो। कार्टेलिङ भएको गुनासो भएपछि खुला बजारमा जानुपर्छ भन्ने भयो,’ उनले भने, ‘जसले गर्दा मूल्य घट्न पुग्यो।’  

ब्लू स्काई प्याराग्लाइडिङ कम्पनिका संचालक नारायण पराजुलीले पनि अरु व्यावसायी सरह मूल्य तय गर्ने तयारी गरेको बताए। ‘केहीदिन अघिसम्म हामीले ८ हजार रुपैयाँमा उडाएका थियौ। तर, अरु कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा उडाएपछि हामी पनि मूल्य घटाउन बाध्य हुनेछौ,’ पराजुलीले भने, ‘तर कति लिने भन्ने निर्णय भईसकेको छैन। पाइलटसँग बसेर मूल्य तय गर्ने हो। अरु कम्पनि सरह मूल्य कम हुन्छ, तर, हामी गुणस्तर र सुरक्षाको विषयमा सम्झौता गर्दैनौ।’

सबै कम्पनिले मूल्य घटाएपछि आफुहरु पनि बाध्य भएको उनले बताए। ‘पहिला १२ हजार रुपैयाँ थियो। आन्तरिक पाहुनाका लागि यो शुल्क अधिक हो, विदेशीका लागि उपयुक्त भएपनि आन्तरिक पाहुनाका लागि महंगो थियो,’ पराजुलीले भने, ‘तर, अब प्रतिश्पर्धात्मक बजार अनुसार मुल्य सस्तो हुन्छ।’ पाइलटले आम्दानीको ६० प्रतिशत रकम लिने भएकोले पनि अबको नयाँ मूल्यमा पाइलटको आम्दानी खुम्चने उनले बताए। प्याराग्लाइडिङ उडान गर्दा यात्रुले तिरेको मुल्यको ६० प्रतिशत पाइलट र ४० प्रतिशत कम्पनिले लिने गरेको थियो। ‘बजारीकरण गरेर आफ्ना पाहुनालाई आफैले सेवा दिँदा खासै समस्या आउँदैन,’ उनले भने।  

अस्वस्थ प्रतिश्पर्धाको चिन्ता

प्याराग्लाइडिङ उडानमा प्रतिश्प्र्धात्मक तरिका अपनाउन पाउने भएपछि अहिले कम्पनिले मूल्य घटाएका छन। तर, केही व्यावसायीले यसरी मुल्य घटाएर उडान गर्न खोज्दा प्रतिश्पर्धा बढेर झनै दुर्घटना बढ्ने जोखिम रहेको बताए। ‘मूल्य घटाएपछि अस्वस्थ प्रतिश्पर्धाको डर हो, किनकी कम्पनिले पाहुना उडाउने हतार गर्दा जोखिम थपिने चिन्ता छ,’ ना का सल्लाहकार समेत रहेका रावतले भने, ‘खुला बजारमा प्रतिश्पर्धा हुन स्वभाविक हो, तर, प्रतिश्पर्धा अस्वस्थ हुने त्रास छ। सुरक्षाको चूनौती बढेको छ।’

उनका अनुसार यसअघि पोखराको सराङकोटमा ४ र तोरीपानीमा १ गरि ५ वटा टेकअफ पोइन्ट थिए। ल्याण्डिङ पोइन्ट ४ वटा थिए। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि सराङकोटबाट हुने उडान रोकिएको थियो। अहिले प्याराग्लाइडिङको तोरिपानी र मान्द्रेडुंगामा गरि २ वटा टेकअफ र पामेको पुल छेउमा एउटा मात्र ल्याण्डिङ पोइन्ट छ। ल्याण्डिङ र टेकअफ पोइन्ट भाडामा लिइएका हुन्।  

‘बजार प्रतिश्पर्धात्मक तरिकाले खुलेको छ। तर, धेरै कमाउन खोज्दा आकाशमा भीड बढ्ने डर छ,’ रावतले भने, ‘टेकअफ र ल्याण्डिङ पोइन्ट पनि कम छन्। आकाश साँघुरो हुने डर छ।’ बिहान ११ बजेदेखि साढे २ बजेभित्र मात्र उड्नुपर्ने भएकोले पनि भीडभाड बढ्ने त्रास रहेको उनले बताए। 

‘आकाशमा पनि असुरक्षा हुने भयो। ५२ वटा कम्पनिको गाडी दौडदा बाटोको पनि व्यस्तता हुन्छ,’ उनले भने। अहिले पोखराको प्याराग्लाइडिङमा टेण्डम (व्यावसायिक) उडानका लागि ४ सय १ जना लाइसेन्स लिएका छन् भने २ सय ६० जना उड्ने पाइलट रहेको उनले बताए।  

छाता संस्था ना अध्यक्ष सुनिल भट्टराईले पनि खुला बजारमा जाँदा व्यावसायीले मुल्य ३ देखि ४ हजार रुपैयाँमा झारेको बताए। ‘खुला बजारमा जाँदा त राम्रो हो, तर अस्वस्थ प्रतिश्पर्धाको डर छ,’ भट्टराईले भने, ‘अस्वस्थ प्रतिश्पर्धाले गर्दा मूल्य घटेको छ। तर कम मुल्यमा धेरै पाहुना पायौं भनेर हतारमा उडान गर्न खोज्दा जोखिम  बढ्न सक्छ।’ 

त्यसबाहेक कम मुल्यमा उडाउँदा पाइलटले पारिश्रमिक पनि कम पाउँछन्। धेरै कमाउने नाममा उडानको चाप पाइलटलाई पर्न जाँदा समस्या बढ्ने चिन्ता रहेको उनले बताए। ‘सुरक्षामा चूनौती थपिन्छ की भन्ने मात्र हो। स्वस्थ प्रतिश्पर्धा नराम्रो होईन, तर, प्रतिश्पर्धाका नाममा गुणस्तर खस्किने त्रास बढेको छ,’ उनले भने, ‘व्यावसायीलाई बजारीकरणमा बाटो खुलेको छ।’  

प्रकाशित: २३ पुस २०८० ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App