रोङ गाउँपालिकाले मौरीको स्तरीय मह उत्पादन गरी ब्रान्डिङ गर्न अभियान थालेको छ। वडादेखि पालिका तहसम्मका किसान संगठित गर्दै रोङले ‘एपिस सेरेना’ जातको मौरीको मह व्यावसायिक उत्पादनमा किसानलाई जागरुक गराउन थालेको हो।
‘रोङ मह सधैं र सबै ठाउँ पाइँदैन’ नारासहितको अभियान पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेका थिए। मौरीपालक किसान तथा गुणस्तरीय महको अभिलेखीकरणका लागि छुट्टै कम्प्युटर ‘सफ्टवेयर’ निर्माण गरिँदै छ भने त्यसको ‘एप्लिकेसन’ किसानलाई वितरण गरिँदै छ।
पालिकाले गुणस्तरीय मह उत्पादन मात्र नभई त्यसको बजारीकरणका लागिसमेत किसानलाई सघाउँदै छ। उत्पादित मह विक्री नहुँदा भण्डारण गरेर राख्न पालिकाले ‘हनी बैंक’ स्थापना गर्दैछ। त्यसका लागि ‘हनी बैंक स्थापना तथा सञ्चालन कार्यविधि- २०८०’ पारित गर्न लागिएको पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले बताए।
परम्परागत मौरीपालनलाई व्यावसायिक बनाइ उत्पादन, गुणस्तर र किसानको आय बढाउन पालिकाले यो अभियान थालेको उनको भनाइ छ। ‘परम्परागत ढंगले मौरीपालनलाई वैज्ञानिक, व्यावसायिक बनाउँदै स्वरोजगार अवस्था सिर्जना गर्ने पालिकाको लक्ष्य छ,’ उनले भने, ‘मह नबिकेर हुने समस्या निराकरण गर्न गुणस्तरीय मह सुरक्षित भण्डारण गर्न हनी बैंकसमेत स्थापना गर्दैछौं।’
गाउँपालिकाले आफ्नै अस्तित्वमा पनि हनी बैंक सञ्चालन गर्नसक्ने तर किसानले स्थापना गर्न चाहे लगानीको ७५ प्रतिशतसम्म अनुदान दिने प्रस्तावित कार्यविधिमा उल्लेख छ। ‘तर, जसले हनी बैंक स्थापना गर्नुहुन्छ, उहाँले तोकिएको गुणस्तर पालन गर्नु अनिवार्य हुनेछ,’ अध्यक्ष स्याङ्बोले भने, ‘किसानले पनि हनी बैंकमा मह राख्दा पूरा गर्नुपर्ने गुणस्तर अनिवार्य छ।’
पालिकाले गुणस्तरीय मह उत्पादन गर्ने किसानलाई समेत अनुदानको कार्यक्रम ल्याउने उनको भनाइ छ। महको गुणस्तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्धारण गरेको मापदण्डअनुसार कायम गरिने पालिकाले जनाएको छ। र, मह उत्पादन गर्ने प्रत्येक किसानको अभिलेख राखिने कार्यविधिमा उल्लेख छ।
गुणस्तरीय मह उत्पादन भएपछि त्यसमा ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा पनि निश्चित आकार र मापदण्ड गाउँपालिकाले नै तोक्नेछ। मूल्यसमेत पालिकाले निर्धारण गर्ने र किसानलाई गुणस्तरीय मह उत्पादनमा व्यावसायिक बनाउँदै प्रोत्साहन गरिने अध्यक्ष स्याङ्बोले बताए। रोङ गाउँपालिका मह उत्पादनका लागि केही वर्षयता चर्चित छ। तर, किसानले परम्परागत हिसाबले मात्र यसको उत्पादन गर्दा व्यावसायिक बन्न सकेको छैन।
महमा व्यावसायिकता अभिवृद्धिका लागि पालिकाभरका किसानसमेत संगठित भएका छन्। उनीहरूले वडादेखि पालिकास्तरसम्मको सञ्जाल नै गठन गरेका छन्। वडा ३ का किसान केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन भएको हो।
नौ सदस्यीय समितिको सदस्य–सचिवमा रोङ गाउँपालिका कृषि शाखाका तीर्थराज देवकोटा छन्। सदस्यहरूमा लीलानाथ भण्डारी, मानसिंह तामाङ, दुर्गा तिम्सिना र दाबा स्याङ्बोलगायत छन्। गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो।
यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको छ। वडा १ को संयोजकमा टीका नेचली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत छन्।
तीनै तहका धेरैजसो सरकार, जनप्रतिनिधि र नेताले भौतिक विकासलाई मात्रै ‘विकास’ भनिरहेका बेला रोङले पर्यावरण संरक्षणसमेतमा योगदान पुग्नेगरी मह उत्पादनको कार्यक्रम ल्याएको पालिकाले जनाएको छ। मौरी पर्यावरण संरक्षणको सहयोगी भएको बुझेर पालिका यो अभियानमा लागेको हो।
भौतिक विकासलाई मात्रै विकास देख्ने र वातावरण नजोगाउने हो भने नेपालीले पछुताउने दिन आउनेछ,’ उनले भने, ‘आज हामी अमेरिकाको विकास देखेर पछुताउँदैछौं, अमेरिका चाहिँ नेपालको पर्यावरण हेरेर पछुताइरहेको छ। यसैले यो पर्यावरण विश्वका लागि महŒवपूर्ण छ।’
मौरीपालन गर्दा बालीनालीमा विषादी प्रयोगसमेत कम हुन्छ। यसले कृषिउत्पादनको गुणस्तरमा समेत सघाउने उनको भनाइ छ। पालिकाले कोशी प्रदेश सरकारसँगको साझेदारीमा मौरीपालक किसानलाई सघाउन गत आर्थिक वर्ष २०७९-८० मा ५० लाख रूपैयाँको कार्यक्रम कार्यान्वयन गरेको थियो। यो वर्ष ४० लाख रूपैयाँ विनियोजन गरेको छ।
किसानलाई मौरीको घार र आधुनिक सामग्री वितरण, मौरीपालनबारे तालिम, गुणस्तरीय रानी उत्पादन तालिम, प्राविधिक सहयोगको कार्यक्रम गरिँदैछ। स्थानीय सामुदायिक वनलाई समेत वार्षिक कार्ययोजनामा मौरी संरक्षणको कार्यक्रम राख्न अनिवार्य गरिएको छ। हनी बैंकको योजना चाहिँ आउँदो आर्थिक वर्षका लागि राखिएको छ।
आठ सय ४३ किसानले वार्षिक आठ हजार नौ सय किलो मह उत्पादन गर्नेगरेको तथ्यांक गाउँपालिकासँग छ। शाखाका अनुसार वडा १ मा सबैभन्दा बढी दुई हजार छ सय ३८ किलो मह उत्पादन हुन्छ। वडा १ मा दुई हजार दुई सय ९१, वडा २ मा एक हजार तीन सय ८१, वडा ३ मा सात सय ५९, वडा ४ मा सात सय ६४ र वडा ५ मा एक हजार ६८ किलो मह वार्षिक रूपमा उत्पादन भइरहेको छ।
पालिकाले किसान र किसानका समूहलाई आर्थिक वर्ष २०७९÷०७९ मा पाँच सय ६९ घार वितरण गरेको छ। पालिकामा दुई हजार चार सय ३३ मुढेघार र एक हजार चार सय १० आधुनिक घार छन्। आधुनिक घारमध्ये छ सय ७२ घार पालिकाले अनुदान दिएको कृषि शाखाले जनाएको छ। पालिकाले एक सय ७९ जनालाई मौरीपालनको तालिम दिएको छ भने आठ जनाले गुणस्तरीय रानी उत्पादनको तालिम लिएका छन्।
पालिकास्तरीय सञ्जालका संयोजक लुइँटेलले रोङमा अहिले पनि गुणस्तरीय मह उत्पादन भइरहेको तर त्यसलाई व्यवस्थित गर्न बाँकी रहेको बताए। ‘अहिले पनि यहाँको मह प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रूपैयाँसम्म विक्री हुँदैछ,’ उनले भने, ‘विक्रीमा पनि खास समस्या छैन तर यहाँ गुणस्तरीय मह पाइन्छ भनेर उपभोक्तासम्म प्रचार गर्न आवश्यक छ।’
यहाँको मह किन्न नेपालीमात्र नभई भारतबाटसमेत ग्राहक आउनेगरेको उनले सुनाए। ‘धेरै मह एकैचोटी काढेका बेला नबिकेर बिग्रिने हो कि भन्ने डर हुन्छ,’ उनले भने, ‘तर, यहाँ मह पाइन्छ भनेर थाहा पाउने हो भने ग्राहक आइहाल्छन्। किसान पनि बजारसम्म पुग्न सकेका छैनन्।’
प्रकाशित: १९ पुस २०८० ०१:०२ बिहीबार





