१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराका ठूला होटलमा क्रिसमस र न्यू इयर प्याकेज

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। फाइल तस्बिरः नागरिक

पोखरामा संचालनमा रहेको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले क्रिसमस र अंग्रेजी नयाँवर्षको अवसरमा केही फरक र सस्तो प्याकेज ल्याएको छ। अरुबेला भन्दा कम मूल्यको यो प्याकेज आन्तरिक पाहुना लक्षित रहेको होटलको भनाई छ।  

होटलका वरिष्ठ बिक्री प्रवन्धक कमल शेरचनका अनुसार क्रिसमस र अंग्रेजी नयाँवर्षका लागि फरकफरक प्याकेज छन्। क्रिसमसमा पनि लञ्च र डिनरको फरक फरक प्याकेज छ। त्यस्तै न्यू इयर इभमा भने गाला डिनरको प्रतिव्यक्ति ४ हजार रुपैयाँको प्याकेज होटलले ल्याएको उनले बताए। होटलले यसअघि दसैंमा पनि होटलले केही सस्तो प्याकेज ल्याएको थियो।  

‘आन्तरिक पाहुनालाई तान्नका लागि होटलले प्याकेज ल्याएको हो। क्रिसमस र न्यू इयरमा फरक र मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्छन। जसले पाहुनालाई मनोरञ्जन दिलाउँछ,’ शेरचनले भने, ‘यो प्याकेज आन्तरिक पाहुना लक्षित हो। अरुबेलाको भन्दा सस्तो प्याकेज यो बेला हुने भएकोले पाहुनालाई लाभ पुग्छ। होटलमा बसेका पाहुनाले पनि त्यो बेला केही छुटमा यो कार्यक्रममा सहभागि हुन पाउँछन्।’ होटलले क्रिसमस, न्यूइयर तथा दसैतिहार जस्ता चाँडबाँडको अवसर पारेर फरक र सस्तो प्याकेज ल्याउने गरेको उनले बताए।

कोभिडको बेला बाहेक पोहोरदेखि यस्ता कार्यक्रमले निरन्तरता पाएको शेरचनले बताए। ‘कोभिडको त्रासले गर्दा दुइ वर्षजति कार्यक्रम नै हुन पाएनन। तर, पोहोरदेखि निरन्तर भइरहेको छ,’ उनले भने, ‘पोखरामा यो बेला विभिन्न कार्यक्रम हुने भएकोले पनि यस्तो प्याकेजले पाहुनाको आकर्षण बढाउँछ।’ पोखरामा आगामि साता पर्यटन गतिविधि बढाउने गरि सडक महोत्सव पनि हुँदैछ। यहीबेला क्रिसमस र अंग्रेजी नयाँवर्षको गतिविधि हुने भएकोले यो बेला ठूलो संख्यामा आन्तरिक पाहुना पोखरा आउने भएकोले आकर्षण थप्नका लागि पनि प्याकेज ल्याएको उनले सुनाए।  

पोखराकै अर्काे होटल बाराहीले पनि क्रिसमस र न्यू इयर अफर अन्तर्गत सस्तो प्याकेज ल्याएको छ। होटलका महाप्रबन्धक राजकुमार केसीका अनुसार क्रिसमसका लागि होटलमा बसेका र बाहिरी पाहुनाका लागि पनि कार्यक्रम गर्ने तयारी छ। तर, क्रिसमसमा भने बाहिरी पाहुना कमै मात्र होटलमा जाने गर्छन। प्रतिव्यक्ति ३ हजार रुपैयाँमा डिनर सहितको प्याकेज होटल बाराहीले क्रिसमसमा ल्याएको केसीले बताए।

न्यू इयरमा भने सांगीतिक सहितको कार्यक्रम रहेको उनले सुनाए। न्यू इयर इभमा प्रतिव्यक्ति ४ हजार रुपैयाँ तिरेपछि सांगीतिक कार्यक्रममा रमाउन र डिनर खान पाउनेछन्। त्यसबाहेक विभिन्न आकर्षक उपहारसहितको कार्यक्रममा पनि सहभागि हुन पाउने उनले बताए।  

‘आन्तरिक पाहुना लक्षित कार्यक्रम हो। नयाँ वर्षका लागि त झनै व्यापक तयारी छ। क्रिसमसमा भन्दा नयाँवर्षको कार्यक्रम बढी मनोरम हुन्छ,’ केसीले भने, ‘त्यो बेला आन्तरिक पाहुना पनि पर्याप्त आउँछन। क्रिसमसमा भने पाहुना कमै हुन्छन्। तर, नयाँवर्षमा भने त्यही बेला सडक महोत्सव पर्ने भएकोले पनि आन्तरिक पाहुनाको घुँइचो लाग्छ।’ पोखराभित्रैका र आसपासबाट पनि पाहुना नयाँवर्षमा र क्रिसमसमा रमाउनका लागि लेकसाइड झर्ने भएकोले यस्तो प्याकेजले पाहुना आकर्षित हुने उनले सुनाए।

पोखराका धेरैजसो होटलले क्रिसमस र नयाँवर्ष को अवसर पारेर विभिन्न प्याकेज ल्याएका छन्। यसले पोखरामा थप आन्तरिक पाहुना भित्र्याउन सघाउने व्यावासायीको अपेक्षा छ। अघिल्ला वर्ष भन्दा यो पटक बढी पाहुना पोखरा भित्र्याउने लक्ष्य सहित सडक महोत्सवको तयारी गरिरहँदा होटलले आकर्षक प्याकेज ल्याउने गरेको व्यावसायीको भनाई छ।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अध्यक्ष समेत रहेका माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई पनि पोखराका होटलमा आन्तरिक पाहुना लक्षित न्यू इयर प्याकेज निकै नै प्रभावकारी रहेको बताउँछन्। होटलमा बसेका र बाहिरबाट घुमघामका लागि भित्रिएका पाहुनालाई पनि लक्षित गर्दै यस्तो प्याकेज ल्याउने गरेको उनले सुनाए। उनका अनुसार होटलको कोठामा बस्नेलाई भने माउन्ट कैलाश रिसोर्टले अनिवार्य गरेको छैन।  

‘कोठमा बस्नेलाई अनिवार्य गर्दैनौ। कतिपयले होटलमा बस्नेलाई अनिवार्य भनेका हुन्छन्। तर, हामीले भने ऐच्छिक गरेका छौं,’ उनले भने। उनका अनुसार न्यूइयर इभमा होटलमा विशेष सांस्कृतिक कार्यक्रम हुन्छ। संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम र लाइभ ब्याण्ड सहितको प्रस्तुतीमा पाहुनालाई मनोरम थप्ने उनले बताए। ‘दुइजनाका लागि पाँचहजार रुपैयाँको प्याकेज हामीले बनाएका छौं,’ भट्टराईले भने, ‘यो पटक धेरै आन्तरिक पाहुना पोखरा आउने अपेक्षा छ।’ उनका अनुसार पोखराका धेरै होटलले आन्तरिक र भारतीय पाहुनालाई लक्षित गर्दै यो बेला प्याकेज ल्याउने गरेको उनले सुनाए।  

उनका अनुसार पोखराका अधिकांश ठुला होटलले यो बेला प्याकेज ल्याएका हुन्छन्। अरुबेलाको तुलनामा केही सस्तो पर्ने प्याकेजले आन्तरिक पाहुना लाभान्वित हुने उनले बताए। ‘कोभिडले २ वर्षसम्म न्यूइयर कार्यक्रम बिथोलियो। पोहोर केही चहलपहल बढेको थियो। यो पटक अझै राम्रो हुने अपेक्षा छ,’उनले भने। पोखराका धेरैजसो चल्तीका होटलले क्रिसमस र न्यूइयर इभको बेला पारेर सस्तो र आकर्षक प्याकेज ल्याउने गरेको उनले सुनाए।  

प्रकाशित: ५ पुस २०८० १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App