१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कौसी खेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज

कञ्चनपुर भीमदत्त नगरपालिका ३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन्। उनको कौसीमा बाँसले बनाएका र्‍याकमा गोलभेंडा, काउली, हरिया खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारी हराभरा छ।

खत्रीका बारी विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देखिन्छ। गाउँका मानिस उनको बारीलाई अशोक वाटिका भन्ने गर्छन्। बारीमा नभएको कुनै बिरुवा छैन। ‘२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि खेती सुरु गरेको हुँ’, उनले भने, ‘सुरुआतमा घरमा खानका लागि उत्पादन गर्न खोजेको हुँ, अहिले बिक्री गर्न थालेको छु। मासिक चार÷पाँच हजार आम्दानी हुन्छ।’

खत्रीले आफूसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए। ‘यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ। त्यसमा घर बनेको छ। तरकारी खेती गर्न ठाउँ छैन।’ खत्रीले भने, ‘जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ।’

तरकारी बिक्रीबाट मासिक चार÷पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए। ‘केही गरौं भन्ने भावना भएको मानिस कहिल्यै बेरोजगार हुँदैन’, उनले भने, ‘यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन्।’

खत्रीले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए। ‘मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन’, उनले भने, ‘घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ।’ अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए। ‘छोरो बिएससी सिएसआई र छोरी बिएससी अध्ययन गर्दै छन्’, उनले भने, ‘तरकारी बिक्रीबाट आएको रकमले घर खर्च सबै चलेको छ।’

खत्री कृषिसँगसँगै भाषा र संस्कृति संरक्षणमा समेत सक्रिय छन्। २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेका उनी ‘हो... जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन्।

बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको यो गीत अहिले पनि चर्चामा छ। –रासस

प्रकाशित: २७ मंसिर २०८० ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App