७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजियटाको सेयर साढे ६ अर्बमा स्पेक्ट्रलाइट युकेलाई बिक्री

विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको छ। आजियटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बेचेको हो।

आजियटा समूहको स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको हो। सो समूहले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको जनाएको थियो।

स्पेक्ट्रलाइट युके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको लगानी रहेको कम्पनी हो। यो कम्पनीमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी रहेको बताइएको छ।

यो स्पेक्ट्रलाइट कम्पनी नयाँ कम्पनी हो। आचार्य एनसेलमा २० प्रतिशत सेयर भएको सुनिभेरा क्यापिटल भेन्चर्सका पनि लगानीकर्ता हुन्।

एनसेलको आम्दानी निरन्तर खुम्चिएपछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ। आजियटाले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको थियो। यो अवधिमा एनसेलले आजियटालाई दुई अर्ब दुई करोड रूपैयाँ लाभांश दिएको थियो।

सन् २०२९ मा कम्पनीको इजाजतपत्रको म्याद समाप्त हुँदैछ। म्याद समाप्त हुने भएपछि लगानीकर्तालाई जोखिम हुने र आजियटाको लगानी रहेको हिस्सेदारी स्वतः सरकारको नाममा जाने भएपछि बिक्री गरेको बताइएको छ।

आजियटाले पाँच करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वको सेयर बेचेको जानकारी दिएको छ। पाँच करोड मध्ये ५० लाख डलर ६ महिनाभित्र र बाँकी चार वर्षपछि भुक्तानी गर्ने गरी बेचेको कम्पनीले जनाएको छ।

सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रूपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको थियो। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रूपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ।

एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो। सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रूपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमशः घट्दै गएपछि लगानीकर्ता सेयर बेच्ने निर्णयमा पुगेको हो।

प्रकाशित: १७ मंसिर २०८० ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App