२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा सडक महोत्सव: पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य

पोखरा सडक महोत्सवबारे जानकारी दिँदै आयोजक। तस्बिरः सन्तोष पोखरेल/नागरिक

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवमा पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य पर्यटन व्यावसायीले सार्वजनिक गरेका छन्। पोखरामा आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै व्यावसायीले यो पटक भित्रिने पाहुनाको आकार अघिल्ला वर्ष भन्दा झनै बढी हुने बताए।  

पोखरालाई आन्तरिक र बाह्य पर्यटकको अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल बनाउने उद्देश्य सहित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष यो महोत्सव आयोजना गर्दैछ। महोत्सव संयोजक विश्वराज पौडेलका अनुसार यो पटक हुने महोत्सवको २५ औं संस्करण पुस १२ देखि १६ गतेसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा हुनेछ। एकैसमय र अवधिका लागि हुने महोत्सवले पोखरालाई पाँचदिनको अवधिमा पर्यटनमय बनाउने व्यावसायीले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार अघिल्लावर्ष केही कम भएपनि यो पटकको महोत्सवमा पाँचलाख बढी पाहुना भित्र्याउने लक्ष्य रहेको बताए। ‘पाँचलाख बढी पाहुना भित्र्याउने लक्ष्य यो पटक रहेको छ। अघिल्ला केही वर्ष कोरोना संक्रमणले कम पाहुना थिए,’ उनले भने, ‘अहिले बढी पाहुना भित्र्याउन सकिने गरि विभिन्न तयारी गरेका छौ। खासै अप्ठ्यारो पनि छैन।’

उनका अनुसार कोराना भाइरस संक्रमण सुरु भएपछि सुस्ताएको पर्यटन क्षेत्रले बिस्तारै गति लिँदैछ। यतिबेला पर्यटकीय सिजन परेको र आन्तरिक पाहुनाको घुमघामको समय परेकोले पनि पोखराको पर्यटन क्षेत्र चलायमान रहेको उनले बताए। ‘लामो समय पोखराको पर्यटन सुस्ताएको थियो। दसैंपछि भने पर्यटन केही चलायमान बनेको छ। पोखरामा भएका विभिन्न कार्यक्रमले गर्दा पनि पाहुना आगमन निरन्तर भएको हो,’ अध्यक्ष श्रेष्ठले भने।

महोत्सव संयोजक पौडेलका अनुसार पोखराको लेकसाइड क्षेत्रको तीनकिलोमिटर क्षेत्रमा महोत्सव हुनेछ। ‘सडकमै खाउ, सडकमै रमाउँ र सडकमै नाँचौं,’ भन्ने नाराका साथ हुने महोत्सव नेपालकै पर्यटकीय गतिविधि बढाउने सबैभन्दा ठूलो गतिविधि रहेको उनले बताए। ‘रेबानको यही कार्यक्रमका कारण पोखराको पर्यटन क्षेत्र चलायमान हुने गरेको छ,’ महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा संयोजक पौडेलले भने, ‘पछिल्लो समय यो महोत्सव पोखरालाई मात्र नभई सिंगो नेपाल चिनाउने माध्यम बनेको छ। किनकी महोत्सव भनेरै घुम्नका लागि विदेशी पाहुना समेत पोखरा आउने गर्छन।’

उनका अनुसार यो पटक पनि महोत्सव अवधिमा सडकमा विभिन्न गतिविधि संचालन हुनेछन् । रेस्टुरेन्ट, ह्याण्डिक्राफ्ट सहित साहसिक पर्यटकीय गतिविधि दिलाउने संस्थाले पनि स्टल राख्नेछन्। ‘पोखरा र आसपासको पर्यटनलाई प्रवद्र्धन गर्ने पनि यो महोत्सवको उद्देश्य हो,’ उनले भने, ‘बढी भन्दा बढी पर्यटक भित्र्याउन पहल गर्नेछौ।’ व्यावसायीका अनुसार महोत्सव अवधिमा पोखराको पर्यटन क्षेत्र पाँचदिनसम्म निकै नै चलायमान बन्नेछ।  

‘हामी महोत्सवबाट नाफा कमाउने सोँच मात्र राख्दैनौ। महोत्सवबाट बचत रकम सामाजिक काममा पनि खर्चिन्छौं,’ उनले भने, ‘पाँचदिने महोत्सव अब हाम्रो मात्र नभई समग्र पाहुनाको पनि बनेको छ। पोखरामा नयाँवर्षमा हुने महोत्सवमा घुम्न जानैपर्छ भन्ने सन्देश प्रवाह भईसकेको छ।’

रेबानको पूर्व अध्यक्ष सुर्य भूजेलका अनुसार २५ वर्ष अघि महोत्सव सुरु गर्दा सडक महोत्सव मात्र भनिन्थ्यो। सातौं संस्करणमा पुगेपछि यसलाई नामाकरण गरेर पोखरा सडक महोत्सव बनाइएको हो। ‘देशकै सबैभन्दा ठूलो र पर्यटक आउजाउ गर्ने महोत्सव बनेको छ। पोखरामा ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने माध्यम यो महोत्सव हो,’ भूजेलले भने, ‘२५ वर्षसम्म एउटै महोत्सव निरन्तर चल्नुपनि निकै नै ठूलो कुरा हो।’ द्वन्द्वकालमा पनि यो महोत्सवले निरन्तरता पाएको उनले बताए। सडक महोत्सवको अवसरमा आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउनका लागि विभिन्न ठाउँमा प्रवद्र्धनात्मक अभियान चलाउने व्यावसायीले बताएका छन्।  

प्रकाशित: १० मंसिर २०८० १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App