१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान

पूर्वी सहरमा होटल संघ पोखराले चलाएको चलिए पोखरा अभियान। तस्बिरः नागरिक

आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीको छाता संस्था होटल संघ पोखराले ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको छ। संघले यो अभियान दुइ दशकदेखि चलाईरहेको छ। पोखरामा आन्तरिक पाहुना भित्र्याउन यो अभियान फलदायी बनेको संघको विश्वास छ। अहिलेको अभियानले आगामि दिनमा पोखरामा थप आन्तरिक पाहुना भित्रिने संघले बताएको छ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार भन्ने मान्यता अनुरुप संघले पूर्वी नेपालका विभिन्न भेगमा अभियान सुरु गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार जनकपुर, विराटनगर, विर्तामोड, बर्दिबास, इटहरी, धनकुटा सहितका सहरमा प्रवद्र्धनात्मक अभियान चलाइनेछ। त्यहाँका पर्यटन व्यवासायी, संचारमाध्यमसँग छलफल, भेटघाट र अन्तरक्रिया मार्फत पोखरामा आन्तरिक पाहुना घुम्न बोलाउने योजना रहेको उनले बताए।  

‘सन् २००१ देखि वर्षेनी यो अभियान निरन्तर चलिरहेको थियो। कोभिड संक्रमणका कारण सन् २०२० मा बाहेक हरेक वर्ष संघले अभियान चलाईरहेको छ,’ उनले भने, ‘पोखरामा आन्तरिक पाहुना भित्र्याउन यो अभियानको प्रमुख भूमिका छ।’ नेपालको आन्तरिक पर्यटन बजारमा निरन्तर रुपमा चलाईरहेको यो नै सबैभन्दा पुरानो र निरन्तरको प्रवद्र्धनात्मक अभियान रहेको उनले बताए।

‘पूर्वी भेगका आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउने गरि यो अभियान सुरु गरेका हौ,’ सुवेदीले भने, ‘पोखरामा यो बेला पाहुना कम रहेको बेला पूर्वी भेगबाट आन्तरिक पाहुनालाई पोखरा भित्र्याउन सकियो भने त्यसको लाभ पर्यटन क्षेत्रमा पर्छ।’ आन्तरिक पाहुनाबाटै पोखराका पर्यटन क्षेत्र धानिएको अहिलेको अवस्थामा थप आन्तरिक पाहुनालाई भित्र्याउन सकियो भने व्यावसाय चलायमान बन्ने उनले बताए।

‘स्थलमार्गको झन्झटपूर्ण यात्राका कारण पोखरामा पर्याप्त पाहुना आउन सकेका छैनन। हिडडुल निकै नै सकसपूर्ण छ। हवाई मार्ग प्रति पनि उत्तिसारो विश्वास जाग्न सकेको छैन। त्यही भएर अहिले पोखरामा आन्तरिक पाहुना कम छन। तरपनि यो अभियान मार्फत हामी थप आन्तरिक पाहुना पोखरा भित्र्याउन  खोज्दैछौं,’ सुवेदीले भने।  

होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीका अनुसार माओवादी द्वन्द्व चलिरहँदा सन् २००१ मा पोखरामा आन्तरिक पाहुना तान्ने उद्देश्यले संघले यो अभियान सुरु गरेको थियो। द्वन्द्वका कारण विदेशी पाहुना आउन नपाएको अवस्थामा आन्तरिक पाहुनाको महत्व बुझेर संघले त्यो बेला अभियान थालेको उनले बताए।

‘त्यो बेला आन्तरिक पाहुनाले अहिले जस्तो महत्व पनि पाउँदैनथे। यतिसम्मकी व्यवासायीले पनि आन्तरिकलाई पाहुना नठान्ने र पाहुना पनि लेकसाइड क्षेत्र विदेशीका लागि मात्र हो, नेपालीका लागि होइन भन्ने खालको भावना थियो। जब द्वन्द्व सुरु भयो, त्यसपछि विदेशी पाहुना अभाव भएपछि बल्ल व्यावसायीले आन्तरिक पाहुनालाई महत्व दिएका हुन,’ पराजुलीले भने, ‘पर्यटनले आन्तरिक पाहुना चिन्न थालेको २००१ पछि मात्र हो। अहिले तिनै आन्तरिक पाहुना व्यावसाय धान्ने आधार बनेको छ।’

पराजुलीका अनुसार सन् २००१ मा पोखरामा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत मात्र रहेको थियो। तर, त्यो आकार अहिले निकै नै फराकिलो बनेको छ। भर्खरैको दसैं बिदामा पनि पोखराको पर्यटनमा करिब ६० प्रतिशत हिस्सा आन्तरिक पाहुनाले लिएका थिए।

 ‘अहिले दसैंको बिदाले बढी भएका हुन्। तरपनि पोखराको पर्यटकको करिब ४० प्रतिशत हिस्सा सधैंजसो आन्तरिक पाहुनाले ओगटेका छन,’ होटल संघका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले भने, ‘आन्तरिक पाहुनाले पोखरालाई ठुलो गुन लगाएका छन्। पोखराको व्यावसाय धान्ने मूल आधार नै अहिले आन्तरिक पाहुना बनेका छन्।’

आन्तरिक पाहुनाको महत्व बुझेर अहिले व्यवासायी आन्तरिक पाहुनालाई नै खोज्दै पूर्वी सहरमा आएको उनले बताए। संघले चलाएको अभियानकै कारण देशैभरि नेपाली पाहुनामा घुम्ने बानी र संस्कारको विकास भएको व्यावसायीको भनाई छ। पूर्वी नेपालबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउने गरि सहकार्य हुने संघले बताएको छ।

कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि यस अभियानले लिएको संघले बताएको छ। संघले आन्तरिकसँगै भारतीय पाहुनालाई पनि लक्षित गर्दै भारतीय सहरमा पनि ‘चलिए पोखरा’ अभियान पनि चलाउँदै आएको छ। सीमावर्ति भारतका सहरमा संघले अभियान चलाउँदै भारतीय पाहुनालाई पोखरा घुम्न बोलाउने गरेको छ। त्यस्तै तेश्रो मुलुकमा पनि यस्तै अभियान संघले चलाउने गरेको छ।  

प्रकाशित: १७ कार्तिक २०८० ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App