१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले ४०० केभी क्षमताको सबस्टेसन निर्माणका लागि सात कम्पनीको आवेदन परेको जनाएको छ । एमसिए नेपालले गत चैत १० गते सार्वजनिक सूचना जारी गरेर अन्तर्राष्ट्रिय बोलपत्रको आह्वान गरेको थियो ।

एमसिए नेपालका अनुसार आह्वान गरिएको बोलपत्रमा तीन मुलुकका सात वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन् । बोलपत्रमा भारतीय पाँच कम्पनीले प्रतिस्पर्धा गरेका छन् । टर्की र अफगानिस्तानको संयुक्त जेभी बेतास एन्ड जेटएनसिसी र साउदी अरेबियाको नेसनल कन्ट्राक्टिङ कम्पनी बोलपत्रमा सहभागी भएका छन् । भारतीय कम्पनी टेक्नोे इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले तीन लटको सबस्टेसन निर्माण गर्नुपर्नेमा लट १ र लट ३ का लागि आवेदन पेस गरेको छ । त्यसैगरी भारतीय कम्पनी लिनसन इन्डिया प्राइभेट लिमिटेडले भने तीनवटै लटका लागि आवेदन पेस गरेको छ । भारतीय टाटा प्रोजेक्ट लिमिटेडले भने लट २ का लागि मात्रै टेन्डरमा सहभागी भएको छ । भारतीय साइमेन्स लिमिटेडले पनि तीनवटै लटका लागि आवेदन पेस गरेको छ । भारतको पाँचौं कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पनि तीनवटै लटका लागि आवेदन पेस गरेको छ । त्यसैगरी साउदी अरेबियाको नेसनल कन्ट्राक्टिङ कम्पनीले पनि लट २ र लट ३ को बोलपत्रमा सहभागी भएको छ । टर्की र अफगानिस्तानको बेताल एन्ड जेडएनसिसी जोइन्ट भेन्चरले पनि लट २ का लागि मात्रै आवेदन पेस गरेको छ । यो टेन्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माणको काम गर्नुपर्नेछ । एमसिए नेपालले सन् २०२३ जुन ३० सम्मको म्याद राखेर पहिलो पटकको टेन्डर आह्वान गरेको थियो । एमसिए नेपालका एक कर्मचारीका अनुसार सबस्टेसनका लागि ११ करोड ४० लाख अमेरिकन डलर अर्थात् करिब १५ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।  

एमसिसी परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द भइसकेको छ । परियोजनाअन्तर्गत ३१५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो । तर ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी ९१४ करोड ५३ लाख ४८ हजार डलरको प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया रद्द गरिएको हो । एमसिए नेपालले गत असोज २६ गते सूचना गरी गर्दै प्रसारण लाइनसँग सम्बन्धित सबै ठेक्का प्रक्रिया रद्द गरेको छ ।  

यसअघि एमसिए नेपालले ३ सय १५ डब्बल सर्किट किलोमिटर प्रसारण लाइन परियोजनालाई तीन खण्डमा बाँडेर टेन्डर आह्वान गरेको थियो । प्रसारण लाइन निर्माण बोलपत्र ठेक्का २०८० जेठ ८ गते खोलिएको थियो । बोलपत्रमा ६ वटा कम्पनी सहभागी भएका थिए । बोलपत्रमा सहभागीमध्ये पाँचवटा कम्पनी मात्रै प्राविधिक रूपमा योग्य ठहरिएका थिए । गत भदौ १३ गतेदेखि एमसिसी ‘इन्ट्री टु फोर्स’ कार्यान्वयन गर्ने निर्णय भएको थियो । परियोजना ५ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । एमसिए नेपालले गत मंसिर १२ गते प्रसारण लाइन निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो ।

प्रकाशित: १४ कार्तिक २०८० ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App