१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

दसैंले चलायमान बनाएको पोखराको पर्यटन

पोखरा घुम्न आएका आन्तरिक पाहुना फेवातालमा डुंगा सयर गर्दै। तस्बिरः उमेश पुन/नागरिक

९३ वटा कोठा भएको लेकसाइडस्थित ल्याण्डमार्क होटलले यो दसैंमा एकदिन पनि पूर्ण क्षमतामा पाहुना पाएन। कोरोनाको त्रास रहँदारहँदै पनि पोहोर दसैंको बिदामा होटल सतप्रतिशत अकुपेन्सीमा संचालनमा आएको थियो। कोरोना संक्रमणको सुरुका दुइवर्ष पाहुना कम पाएपनि त्यसपछिको वर्ष भने पाहुना अभाव थिएन। दसैंका बेला घुम्न आउने आन्तरिक पाहुनाले होटललाई पर्याप्त पाहुना दिएको थियो।  

तर, यो पटक दसैंको दिन ल्याण्डमार्कका ५० प्रतिशत कोठामा मात्र पाहुना थिए। दसैं अघिका अरु दिन ७० प्रतिशत कोठा मात्र पाहुनाले भरिएका थिए। शनिबारदेखि पाहुना घट्दै जाँदा होटलको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा झरिसकेको संचालक ओम पाण्डेले बताए।  

‘विदेशीको सिजन बाहेक यो बेला आन्तरिक पाहुनाबाटै हामीले पर्याप्त लाभ पाउने गरेका थियौ। कोरोनाका दुइवर्ष बाहेक पोहोर पनि दसैं बिदामा होटल पूर्ण क्षमतामा चलेको थियो,’ संचालक पाण्डेले भने, ‘तर, यो दसैंमा अकुपेन्सी ७० प्रतिशतबाट माथि लाग्न सकेन। आन्तरिक पाहुना पनि पर्याप्त आएनन।’ दसैंभन्दा अघिको समयको तुलनामा यतिबेला बिदा परेकोले केही पाहुना बढेको भएपनि त्यो आकार पोखराका लागि खासै ठुलो नभएको उनले बताए।  

लामो समयदेखि पोखराको पर्यटन क्षेत्रले पाहुना नआएको गुनासो गरिरहेको छ। पृथ्वी राजमार्ग बिस्तार चलिरहँदा पाहुना आगमन प्रभावित भएको गुनासो व्यावसायीले गरिरहेका छन्। राजमार्ग बिस्तारको असर अहिले दसैंको लामो बिदामा समेत परेको उनीहरुले बताए। ‘राजमार्गको सकसपूर्ण यात्राका कारण अहिले पाहुना पोखरामा कम भएका हुन्। अरु बेलाको दाँजोमा केही त बढेकै हुन, तर, जति अपेक्षा थियो, त्यो अनुसार आउन सकेनन,’ संचालक पाण्डेले भने,‘दसैं बिदाले पर्यटन क्षेत्रलाई चलायमान बनाएकै हो। तर, कमाउने अवस्था रहेन।’

सिजनको बेलामा विदेशी पाहुना पनि आउन नसकेको र आन्तरिक पनि कम भईरहेको बेला दसैंले केही बढी पाहुना पोखरामा भिœयाएपनि त्यो आकार निकै नै कम रहेको उनले बताए। ‘आन्तरिक पाहुना पनि आउन सक्ने अवस्था थिएन। बाहिर हेर्दा भीडभाड देखिएपनि ती सबै होटलका पाहुना होईनन। दिनभर घुमेर बेलुकी घर फर्किने आसपासका जिल्लाका बासिन्दा पनि थिए,’ उनले भने, ‘पर्यटन क्षेत्रमा अत्यासलाग्दो अवस्था देखिएको छ। आन्तरिक पाहुना समेत सोचेजति नपाउँदा व्यावसायी उत्तिसारो खुसी छैनन ।’ केही चल्तीका होटलले पूर्ण क्षमतामा पाहुना पाएको भएपनि मध्यमस्तरका धेरै होटल यो पटक दसैंमा पनि खालि रहेको उनले बताए।  

अर्का पर्यटन व्यावसायी हरि शर्मा पनि यो दसैंमा उत्तिसारो आन्तरिक पाहुना आउन नसकेको बताउँछन्। ‘दसैंले उत्तिसारो उत्साह पर्यटन क्षेत्रमा देखाउन सकेन, राजमार्ग बिस्तारसँगैको यात्रा झन्झटले पनि पाहुना आउन चाहेनन,’ शर्माले भने, ‘हवाई माध्यमप्रति उत्तिसारो विश्वास जाग्न सकेको छैन।’ यही अवस्था रहीरहे अझै केही समय पोखराले पूर्ण आकारमा पाहुना पाउन सक्ने अवस्था नरहने उनले बताए।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि दसैंप्रति उत्तिसारो सन्तुष्ट छैनन। तर, अरुबेला भन्दा पाहुना केही बढेको भने उनले बताए। सिजनको बेला परेपनि यो अक्टोबर सबैभन्दा कम पाहुना पोखराको पर्यटनले पाएको उनले बताए। पराजुली भन्छन, ‘अरुबेलाको तुलनामा दसैंको बेलामा आन्तरिक पाहुना आएकै हुन। तर, अघिल्ला वर्षका जति पाहुना आएका होईनन।’ 

व्यावसायीले अहिलेको आगमनलाई पनि राम्रो मान्नुपर्ने अवस्था रहेको बताउँछन्। ‘सिजनको बेलामा पनि निकै नै कम पाहुना पोखरामा थिए। तर, दसैंले केही आकार बढाउँदा खुसी हुनुपर्ने अवस्था रहेको छ,’ पराजुलीले भने।  

नेपालीमा घुम्ने बानीलाइ अनिवार्य जस्तै बनाएकोले पाहुनाको केही चहलपहल बढेको उनले बताए। आसपासका नयाँ गन्तव्यमा आन्तरिक पाहुना जाँदा अहिले पोखरालाई थोरै भएपनि लाभ मिलेको उनले बताए। ‘दसैंमा सतप्रतिशत अकुपेन्सी हुनुपर्ने हो, तर, ७० प्रतिशत हाराहारीमा चित्त बुझाउनुप¥यो,’ उनले भने। 

सिजनकै बेलामा पनि दसैं अघिका दिनमा पोखराका होटलको अकुपेन्सी करिब २५ प्रतिशत मात्र रहेकोमा त्यो आकार दसैंका कारण उक्लेर ७० प्रतिशतसम्म मात्र पुगेको पराजुलीले बताए। ‘तिहारसम्म आन्तरिक पाहुना केही आउने र विदेशी पनि देखिँदा पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि पोहोरजतिको आकारमा यो दसैंमा पोखराले पाहुना नपाएको बताए। उनका अनुसार अरुबेलाको तुलनामा भन्दा दसैंमा केही पाहुना थपिएपनि त्यो सिमित दिनका लागि मात्र रहेको थियो। ‘दसैंको ४÷५दिनको चहलपहल केही राम्रो थियो। तर, त्यो नै पर्याप्त भन्न मिल्दैन, किनभने यो बेला पोखराले सतप्रतिशत पाहुना पाउनुपर्ने हो,’ श्रेष्ठले भने, ‘अहिले भन्दा पोहोर दसैंमा पोखराले बढी पाहुना पाएको थियो। किनकी पाहुना आउन सहज थियो। अहिले हिडडुल सहज छैन।’

प्रकाशित: १२ कार्तिक २०८० १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App